२०७४ साल बामपन्थीमय हुने निश्चित – ओली

बाम गठबन्धनद्वारा आज नेपालगन्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । तस्वीर – निरज गौतम, रासस, नेपालगन्ज

बुटवल, ११ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने नयाँ संरचनाले मुलुकमा स्थिरता र स्थायित्व प्रदान गर्ने बताउनुभएको छ ।

निर्वाचन प्रचारका क्रममा आज रुपन्देही क्षेत्र नं. ५ अन्तर्गत रुद्रपुरको हरैयामा आयोजित चुनावीसभामा उहाँले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि मुलुक नयाँ संरचनाअनुसार संघीयतामा चल्ने भएकाले स्थिरता र स्थायित्व कायम भई विकासको गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले निर्वाचनपछि मुलुकमा बामपन्थीको जनपक्षीय र स्थिर सरकार बन्ने निश्चित भएकाले जनतामा अहिले उत्साह देखिएको बताउँदै ‘अब बन्ने सरकार साधारण बहुमतको होइन, दुई तिहाइसहितको बहुमतको बन्नेछ,’ भन्नुभयो ।

नेपाली कांग्रेसले २०१५ सालमा दुई तिहाइ बहुमतको सरकार बनाएपनि धेरै समय टिकाउन नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘एमाले नेतृत्वमा बनेका छोटो समयका अल्पमतको सरकारले धेरै जनपक्षीय काम गरेर जनताको मन जितेको छ, अब २०७४ साल बामपन्थीमय हुने निश्चित छ ।’

अध्यक्ष ओलीले लुम्बिनीको विकास राष्ट्रिय भावनाको हिसाबले गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्दै लुम्बिनीमा अन्तर्रारिष्ट्रय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको हुँदा यसले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय विकासमा कायापलट गर्ने बताउनुभयो ।

माओवादी केन्द्रका नेता रामबहादुर थापाले नेपालमा अब छिट्टै नै विभाजित रुपमा रहेका कम्युनिस्टबीच एकता हुन लागेको चर्चा गर्दै नेपालको इतिहासमा यसलाई ठूलो घटनाको रुपमा लिइएको छ भन्नुभयो ।

रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डिलाराम आचार्यले परिर्वतनका लागि नयाँ जग रुपन्देहीबाटै सुरु भएको भन्दै बेरोजगार युवालाई स्वरोजगार बनाउने योजना आफूसँग रहेको बताउनुभयो ।

उहाँले अबको १५ वर्ष बाम गठन्धनलाई सरकारमा काम गर्न दिएमा वैदेशिक रोजागारमा गएका सबै युवालाई स्वदेशमा नै स्वरोजगार प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर ५ का सचिव तथा रुपन्देही क्षेत्र नम्बर ५ (क) का प्रदेशसभा सदस्य उम्मेदवार भूमिश्वर ढकाल र रुपन्देही क्षेत्र नम्बर ५(ख) का उम्मेदवार हजरत बलाल फकीर(राजु) लगायतले मुलुकको आर्थिक रुपान्तरणका लागि वाम गठबन्धनको सरकारको आवश्यकता रहेको बताउनुभयो ।

वाम गठबन्धन ऐतिहासिक आवश्यकता – पूर्वप्रम खनाल

इलाम, ११ मंसिर – पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ ।

इलाम सदरमुकाममा आज बिहान रासससँग कुराकानी गर्दै उहाँले मुलुकको स्वाभिमान र स्वतन्त्रतालाई कायम राख्न एंव सिमाना यकिन गर्न पनि गठबन्धनको आवश्यकता रहेको औँल्याउनुभयो ।

‘लोकतन्त्रलाई फलाउन, फुलाउन पनि वाम गठबन्धन अपरिहार्य छ’, उहाँले भन्नुभयो, ‘जनताको आकाङ्क्षा पहिलेभन्दा अहिले बढेको छ, ती आकाङ्क्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको छु’, भन्नुभयो ।

इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेकपा एमालेका वरिष्ठ नेता खनालले इलाम जिल्ला पर्यटकीय दृष्टिकोणले धेरै सुन्दर र हराभरा मानिन्छ, यहाँको डाँडामा सुन फल्छ, सन्दकपुर र अन्तुमा केवलकार कुदाउने लक्ष्य रहेको बताउँदै संविधान आफैँमा पूर्ण नहुने हुँदा संशोधनमार्फत यसलाई पूर्ण गर्दै लगिने छ भन्नुभयो ।

यसपटकको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ मत ल्याएर सरकार निर्माण गर्ने दाबीसमेत उहाँले गर्नुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री