पहिलो चरणको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – आयोग

गोरखा नगरपालिका–३ नारेश्वरस्थित बिन्दवासिनी मावि मतदान केन्द्रबाट मतसहितको मतपेटिका आइतबार गोरखा सदरमुकाम लैजाने तयारी गर्दै सुरक्षाकर्मी । गोरखाको २८२ वटा मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । तस्बिर – प्रशन्न पोखरेल, गोरखा, रासस

काठमाडौँ, १० मंसिर – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन आज मंसिर १० गते मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जनाएको छ ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज सम्पन्न निर्वाचन’बारे जानकारी दिने उद्देश्यले आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको निर्वाचनका लागि कायम भएका चार हजार ४६५ मतदान केन्द्रमध्ये छिटफुटबाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा आज भएको मतदान कार्य ऐतिहासिकरूपमा सफल भएको जानकारी दिन पाउँदा आयोग हर्षित छ ।’

केही मतदान केन्द्रमा मतदान प्रतिनिधि समयमा उपस्थित नभएका कारणले केही ढिलो मतदान आरम्भ भए पनि सबै मतदान केन्द्रहरूमा तोकिएकै समयमा निर्वाचन शुरू भएको जनाउँदै आयोगले मतदाता उत्साहजनकरुपमा मतदानमा सहभागी भएबाट संविधान कार्यान्वयनलाई पूर्णता दिन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र राजनीतिक स्थायित्व दिने कार्यप्रति नेपाली जनता प्रतिबद्ध रहेको प्रष्ट भएको उल्लेख गरेको छ ।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको बताउनुभयो । मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने आयोगले अनुमान गरेको छ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका–११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको उहाँले जानकारी दिनुभयो । पहिलो चरणको निर्वाचनलाई कायम गरिएका चार हजार ४६५ मतदान केन्द्रमध्ये दुईवटा मतदान केन्द्रमा मात्र पुनः मतदान हुने आयोगले जनाएको छ ।

मतदान सम्पन्न भएलगत्तै सबै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने कामसमेत शुरू भइसकेको जनाउँदै आयोगले संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने जानकारी दिएको छ ।

आयोगले मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको जनाएको छ । यही मंसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिएलगत्तै मतगणना शुरू गर्ने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिनुभयो ।

आयोगले निर्वाचनका लागि अनवरतरूपमा खटिई कार्य सम्पन्न गर्ने निर्वाचन आयोगका सम्पूर्ण कर्मचारी र निर्वाचनमा खटिएका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको आयोगले प्रशंसा गर्दै धन्यवाद दिएको छ ।

आयोगले निर्वाचनलाई सफल पार्न अहम् भूमिका खेल्नुहुने सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र दलका कार्यकर्ताले देखाउनुभएको सहयोग, सद्भाव र मैत्रीपूर्ण व्यवहार, समझदारी र सकारात्मक सहभागिताप्रति आयोगले आभार प्रकट गरेको छ ।

पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनलाई सफल पार्नका लागि पनि नेपाल सरकार, राजनीतिक दल, उम्मेदवार, मतदाता, सुरक्षा निकाय, मित्र राष्ट्रलगायत सम्बद्ध सबैसँग सकारात्मक सहयोगका लागि आयोगले आग्रह पनि गरेको छ ।

उल्लासपूर्ण र शान्तिपूर्ण वातावरणमा निर्वाचन – गृह मन्त्रालय

गृह मन्त्रालयले आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको जनाएको छ ।

मन्त्रालयले आज विज्ञप्तिमार्फत पहिलो चरणको निर्वाचन अत्यन्त उल्लासपूर्ण र शान्तिपूर्ण वातावरणमा आममतदाताको सहभागितामा सम्पन्न भएको जनाएको छ ।

पहिलो चरणमा सम्पन्न भएको निर्वाचनमा करिब ६५ प्रतिशत मत खसेको र मतदानस्थलबाट जिल्ला सदरमुकामसम्म सुरक्षित साथ मतपेटिका ढुवानीको कार्य भइरहेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भौगोलिक विकटता, मौसमी अवस्था र केही निर्वाचन विरोधी तत्वको छिटफुट अवरोधका बाबजुद निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, निर्भयका साथ उत्साहजनक सहभागितामा सम्पन्न हुनु संघीयता संस्थागत गर्ने एक महत्वपूर्ण उपलब्धि भएको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सुरक्षा योजना निर्माण गरी प्रभावकारी र समन्वयात्मकरुपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

मन्त्रालयले पहिलो चरणको निर्वाचनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यही मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा समेत यस्तै सहयोग, समन्वय र सहभागिताका लागि सबै पक्षमा आह्वान गरेको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री