मतदाताको उत्साहपूर्ण सहभागिता

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागी नुवाकोट आदर्श बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान गर्न सहभागी मतदाता । तस्बिर – रामहरि न्यौपाने, नुवाकोट, रासस

काठमाण्डौं, १० मंसिर, (रासस) – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज अपराह्न १ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार अपराह्न १ बजेसम्म औसतमा ४० प्रतिशत मतदान भएको छ । सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ ।

चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता

निवर्तमान सभामुख ओनसरी घर्तीमगरले आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रोल्पा नगरपालिका–७ मा रहेको वाल उदय मावि माडीचौर केन्द्रबाट मतदान गर्नुहुँदै । तस्बिर – उमा के सी, रोल्पा, रासस

मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य बिहान ७ बजेदेखि भइरहेको छ ।

प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ । चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसक्नु भएको तथा अहिले मतदान कार्य शुरु भइसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो ।

निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न निर्वाचन आयोगले सबै मतदातासँग हार्दिक अपिल गरेको छ । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यो निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नुहुनेछ । पहिलो चरणको निर्वाचनमा दुई हजार ९१९ मतदानस्थल र चार हजार ४६५ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्नुभएका मतदाताले मात्रै मतदान गर्न पाउनु हुने हुंदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन निर्वाचन आयोगले आम मतदातालाई आह्वान गरेको छ । नेपालको संविधान, संघीयता र गणतन्त्र कार्यान्वयन गर्ने सिलसिलामा यो निर्वाचन हुन लागेको हो ।

मतदान ः नेकपा माओवादीका वरिष्ठ नेता एवं वाम गठबन्धनबाट गोर्खा क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार नारायणकाजी श्रेष्ठ गोर्खाको सिरानचौक गाउँपालिका- ८ परोपकार आदर्श मावि मतदान केन्द्रमा मतदान गर्दै । तस्बीर – प्रसन्न पोखरेल/रासस

मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने जनाउँदै आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुरयाउन अपिल गरेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ । समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागको मतपत्र–१ मा तथा प्रदेशसभाका लागि मतपत्र–२ भएका चिह्नमध्ये आफूलाई मन परेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तबाट निर्वाचनको प्रत्यक्ष निगरानी

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहनुभएको छ ।

मतदान कार्यमा तत्काल सम्बोधन गर्नुपर्ने विषयमा तुरुन्तै निर्देशन दिने उद्देश्यले आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा रहेर उहाँहरुले निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहनुभएको हो ।

आज भइरहेको विकट हिमाली तथा उच्च पहाडी जिल्लाका निरन्तररुपमा मतदान प्रगतिको जानकारी लिने र मतदानलाई निष्पक्ष र स्वतन्त्ररुपमा सञ्चालन गराउन सम्बद्ध पदाधिकारीलाई तत्कालै निर्देशन दिने कार्यसमेत प्रमुख निर्वाच आयुक्त तथा निर्वाचन आयुक्तबाट भइरहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री