अब कसैले रोकेर पार्टी एकता रोकिँदैन – दाहाल

योङ्ग कम्युनिष्ट लिग नेपाल र युवा संघ नेपाल चितवनले शुक्रबार चितवनको पार्वतीपुरमा आयोजना गरेको क्षेत्र –३ स्तरीय संयुक्त भेलामा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर – नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

रत्ननगर, चितवन, ८ मंसिर – पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ ले पार्टी एकताबाट एमाले र माओवादी पछि हट्ने ठाउँ नै नरहेको बताउनुभएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता अब कसैले रोकेर नरोकिने भन्दै दाहालले कति पनि भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

आज साँझ भरतपुर महानगरपालिका–१८ मा आयोजित चुनावी अभियानका क्रममा नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन, पार्टी एकता संयोजन समिति बनाएर मात्र चुनावी तालमेलको छलफल थालेका हौँ ।’

दाहालले थप्नुभयो, ‘हामी पछाडिको पुल भत्काएर अघि बढेका छौँ, अब फर्कन खोजे डुबिन्छ ।’ अब कोही पनि एकताबाट भाग्न सक्ने ठाउँ नरहेको जिकिर गर्दै दाहालले भन्नुभयो, ‘एकता भएन भने म, केपी जी, माधव जी लगायतका नेताहरुलाई जनता र कार्यकर्तासामु मुख देखाउन लाज हुन्छ ।’

जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादको बीचबाट नयाँ संश्लेषणमा पुग्ने उल्लेख गर्दै दाहालले अब हिँड्ने शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो समाजवादको बाटो हो भन्नेमा पनि एकमत भएको दाबी गर्नुभयो ।

एमाले र माओवादीबीच एकताको सवाल मात्र होइन, राष्ट्रको समृद्धि र स्थिरताको सवाल भएको उहाँको जिकिर थियो ।
उहाँले हाम्रा सन्ततिहरुको भविष्य निर्माणको सवाल भएकाले यसलाई पार्टीगत सङ्कीर्णताभन्दा माथि उठेर हेर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । पुत्र शोकमा पर्नुभएका दाहाल आजदेखि पुनः चितवन क्षेत्र नं ३ को चुनावी अभियानमा सरिक हुनुभएको हो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री