निर्वाचनलगत्तै बाहिरी चक्रपथको शिलान्यास

काठमाडौँ, २९ कात्तिक (रासस) – डेढ दशकदेखि चर्चामा रहेको बाहिरी चक्रपथको शिलान्यास मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै हुने भएको छ ।

बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव शहरी विकास मन्त्रालयले स्वीकृत गरी मन्त्रिपरिषद्मा पेश गरेकाले केही दिनभित्रै पारित हुनेछ । जनताको चाहना र आवश्यकताबमोजिम बाहिरी चक्रपथ निर्माण गरिने आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दिलनाथ गिरीले बताउनुभयो ।

‘उपत्यकामा दिनानुदिन बढ्दै गएको शहरीकरण र सवारी चापलाई नियन्त्रण गर्न आव २०५५-२०५६ देखि बाहिरी चक्रपथको अवधारणालाई आव २०६२-२०६३ देखि सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेपनि काम अघि बढ्न सकेको थिएन, डेढ दशकपछि काम अघि बढाएका छौँ’–उहाँले भन्नुभयो ।

बाहिरी चक्रपथ एक किमी निर्माणका लागि रु एक अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारीले बताउनुभयो ।

मध्यपहाडी र हुलाकी राजमार्ग आसपास १०-१० नयाँ शहर, पाँच ‘स्मार्ट सिटी’ गरी २५ आधुनिक शहर निर्माणको काम अघि बढेको मन्त्री गिरीले बताउनुभयो । यसैगरी देशका १४ स्थानमा ज्येष्ठ नागरिक आवासस्थल निर्माण प्रक्रिया शुरु भएको मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्र संघीय (यूएन) पार्कलाई अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गत राखी वाग्मती नदी सौन्दर्यीकरण अभियानलाई नयाँ रुपमा अघि बढाइने जानकारी दिइएको छ ।

देशका २६ स्थानमा आधुनिक सुविधा सम्पन्नसभा हल बनाउने काम पनि अगाडि बढेको छ । बबरमहलका सरकारी कार्यालयलाई एकीकृत गरी सरकारीप्लाजा अन्तर्गत राख्ने अवधारणा पनि मन्त्रालयले बनाएको छ ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले काठमाडौँको इचंगुनारायणमा न्यून आय भएका व्यक्तिका लागि आवास निर्माण गरिएकाले वाग्मती किनारमा रहेका सुकुम्बासीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिचयपत्र वितरण गरेपछि बसाइने योजना रहेको जानकारी दिनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंहले निजगढ, पालुङटार र लुम्बिनीमा ‘स्मार्ट सिटी’ निर्माण गर्न पूर्वसम्भाव्यताको काम अघि बढेको जानकारी दिनुभयो । उपत्यकामा चारवटा स्याटेलाइट सिटीको काम पनि अघि बढेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री