प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल – काँग्रेस ढुक्क, गठबन्धन मख्ख

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेपालगन्जमा सुरक्षा गोष्ठी तथा चुनावी अभियानमा सहभागी हुन मंगलबार आइपुग्नुहुँदा स्वगत गरिँदै । तस्बिर – रोशन सापकोटा, रासस

डडेल्धुरा, २८ कात्तिक (रासस) – आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा बढ्दै गएको छ ।

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आउनुभएका प्रधानमन्त्री देउवा छैटौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । उहाँसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्ट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

माओवादी नेता भट्ट प्रधानमन्त्री देउवासँग डडेल्धुरामा तेस्रो पटक चुनावी मैदानमा उत्रिनुभएको हो । विसं २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन तथा २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा देउवासँग भट्ट पराजित हुनुभएको थियो । भट्ट विसं २०६४ मा एक हजार ३०० तथा २०७० मा आठ हजारभन्दा बढी मतअन्तरले देउवासँग पराजित हुनुभएको थियो ।

करिब तीन दशकदेखि डडेल्धुरामा पकड बनाएको काँग्रेसले केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकामा हार ब्यहोरेको थियो । त्यसकारण पछिल्लो समय काँग्रेस पहिलाको भन्दा कमजोर हुन पुगेको आँकलन गरिएको छ । यद्यपि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको नतिजाले कुनै असर नपार्ने काँग्रेसका स्थानीय नेता बताउँछन् ।

लामो समयदेखि जिल्लाको मात्र नभई समग्र सुदूरपश्चिमकै विकासमा प्रधानमन्त्री देउवाले अभिभावकको भूमिका निभाएको भन्दै डडेल्धुरा काँग्रेसका नेता तथा कार्यकर्ता मंसिर २१ गते उहाँ विजयी हुनेमा ढुक्क छन् । तर उहाँलाई विगतमा जस्तो सहज भने छैन । दुई ठूला पार्टीको गठबन्धनका कारण देउवाले निर्वाचन जित्न कडा मेहनत गर्नुपर्ने देखिन्छ ।

जिल्लाको प्रदेशसभा ‘ख’का उम्मेदवार तथा नेपाली काँग्रेस डडेल्धुराका पार्टी सभापति कर्ण मल्लले निर्वाचन जित्न कुनै समस्या नभएको बताउनुभयो । “प्रधानमन्त्रीज्यू डडेल्धुराको मात्रै नभएर सुदूरपश्चिमकै अभिभावक हो ।” उहाँले भन्नुभयो– “यहाँका मतदाता कहिल्यै काँग्रेसको विपक्षमा हुँदैनन् ।”

पार्टीभित्रको आन्तरिक किचलोका कारण केही स्थानीय तहमा हार ब्यहोरेको उहाँले स्विकार्नुभयो । आसन्न निर्वाचनका लागि पार्टी पंक्ति एकढिक्का भएर लागेको मल्लको भनाइ छ ।

“म र रघुवर भट्टजी प्रदेशमा लड्दै छौँ” मल्लले भन्नुभयो– “जिल्लाभर सबै भ्रातृसंगठन चुनावीसभामा खटिएका छन् ।” उहाँले सभापति देउवाविरुद्ध गठबन्धनले विभिन्न अपवाह फैलाएको आरोपसमेत लगाउनुभयो । “चार चार पटक प्रधानमन्त्री भएर यो देश हाँकिसकेका व्यक्तिले रोजगारी दिन सकेनन् भन्ने कुरो हुन्छ ? ।” उहाँले भन्नुभयो– “हेर्दै जानुस् गठबन्धनका उम्मेदवार नै केही दिनमा काँग्रेसमा आबद्ध हुँदैछन ।” उहाँले डडेल्धुरामा काँग्रेस १० हजारभन्दा बढी मतअन्तरले निर्वाचन जित्ने दाबीसमेत गर्नुभयो ।

कात्तिक ३० गते प्रधानमन्त्री देउवा चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा, बैतडी, दार्चुला, बझाङलगायतका जिल्लामा आउने कार्यक्रम रहेको मल्लले बताउनुभयो । उहाँको पहिलो सम्बोधन जिल्लामा भएपछि विभिन्न जिल्लाका चुनावीसभामा भाग लिने कार्यक्रम तय भएको पार्टीको जिल्ला सभापति एवं उम्मेदवार मल्लले बताउनुभयो ।

वाम गठबन्धनका नेता स्थानीय तहको जिल्लाको मत परिणामलाई आँकलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा चारवटामा काँग्रेस, दुईवटामा एमाले र एउटा तहमा माओवादी केन्द्रले विजयी भएको थियो ।

वाम गठबन्धनका उम्मेदवार भट्टले चार-चार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेल्धुरावासीले यस पटक उहाँको विकल्प खोज्ने बताउनुभयो । सत्ताइस वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको उहाँको आरोप छ ।

“वाम गठबन्धनले यस पटक काँग्रेसलाई पराजित गर्छ,” उहाँले भन्नुभयो । देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले पाँच वर्षमा गर्ने भट्टको दाबी छ ।

त्यसैगरी, वाम गठबन्धनबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार तथा एमालेका जिल्ला अध्यक्ष डा तारा जोशीले डडेल्धुरामा यस पटक वाम गठबन्धन जित्ने बताउनुभयो । “धेरै मान्छे तटस्थ र स्वतन्त्र छन्” उहाँले भन्नुभयो–“उनीहरुले गठबन्धनलाई सहयोग गर्छन् ।” गत स्थानीय तहको निर्वाचनमा काँग्रेसभन्दा आठ हजार मत बढी ल्याएकाले निर्वाचन जित्नेमा वाम गठबन्धनका उम्मेदवार डा जोशी ढुक्क हुनुहुन्छ ।

देउवाका लागि सधैँ गठबन्धन- नेता मल्ल 

वाम गठबन्धन पनि डडेल्धुरामा प्रधानमन्त्री एवं काँग्रेसका पार्टी सभापति देउवालाई नै चुनाव जित्न यस पटक कठिन रहेको हल्ला फैलिरहेका बेला काँग्रेस डडेल्धुराले भने त्यसलाई सामान्यरुपमा लिएको छ ।

काँग्रेस जिल्ला सभापति मल्लले देउवाविरुद्ध डडेल्धुरामा सधैँ गठबन्धन हुने गरेको र पटक पटक सफल हुन नसकेको बताउनुभयो । “यस पटक देशव्यापी रुपमा वाम गठबन्धन भएकाले नौलो विषय लागेको हो ।” सभापति मल्लले रासससित भन्नुभयो– “डडेल्धुरामा त २०४८ सालदेखि नै काँग्रेसको विपक्षमा गठबन्धन हुँदै आएको छ ।”

उहाँले जति गठबन्धन भए पनि डडेल्धुरामा काँग्रेसलाई असफल पार्न सम्भव नरहेको जिकिर गर्नुभयो । “यहाँ धेरै गठबन्धनका पात्र काँग्रेससामु टिक्न सकेका छैनन्,” उहाँले भन्नुभयो । गठबन्धनले डडेल्धुरामा देउवाले केही गर्न सकेन भन्नु अनर्गल प्रचारबाजी मात्रै भएको उहाँको दाबी छ ।

“सुदूरपश्चिमको विकास निर्माणमा सभापति देउवाले गरेको योगदान गनेर सम्भव छैन,” मल्लले भन्नुभयो ।

यस्तै, डडेल्धुरा शिक्षक संघका अध्यक्ष कर्ण मडै स्थानीय तहमा काँग्रेसको आपसी तालमेलले मात्रै केही ठाउँमा पराजय व्यहोरोको बताउनहुन्छ । आगामी निर्वाचनमा काँग्रेसलाई जितका लागि कुनै समस्या नहुने उहाँको भनाइ छ । “काँग्रेस अहिले आन्तरिक गुटबन्दी हल गरेर चुनावी मैदानमा उत्रेको छ, मतपरिणाम काँग्रेसकै पक्षमा रहन्छ,” मडैले भन्नुभयो । एक सय १७ वटा मतदान केन्द्र रहेको डडेल्धुरामा आसन्न निर्वाचनमा ८१ हजार ७०० भन्दा बढी मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री