शिक्षामा लगानी बढाउन प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्मालाई शिक्षामा पुरयाएको योगदानको कदरस्वरुप सम्मान गर्नुहुँदै । तस्वीर – कल्पना पौडेल, रासस

काठमाडौँ- २५ कात्तिक (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

ललितपुर खुमलटारमा आज युलेन्स स्कुलले आइबिडिपी (इन्टरनेसनल ब्याक्कलरेट डिप्लोमा प्रोग्राम) कोर्स सञ्चालनका लागि नवनिर्माण गरेको भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रियस्तरको शिक्षा नेपालमा उपलब्ध गराएर युलेन्स स्कुलले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले नेपाली शिक्षा जगत्मा पुरयाएको योगदानको कदर गर्दै प्रा डा सुरेशराज शर्मालाई सम्मान गर्नुभएको थियो । युलेन्सले नवनिर्मित भवनको नाम प्रा डा शर्माका नाममा राखेको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले सामुदायिक विद्यालयमा भर्ना दर एकदमै राम्रो छ तर शिक्षामा गुणस्तर वृद्धि हुन सकिरहेको छैन, अब गुणस्तरमा ध्यान दिने र लगानी बढाउनुपर्ने समय आइसकेको छ भन्नुभयो । युलेन्स स्कुल सञ्चालक समितिका अध्यक्ष डा आरजु देउवाले विद्यालयले अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउने सपना १० वर्षभित्रै पूरा गरेकामा खुशी व्यक्त गर्नुभयो ।

युलेन्स फाउन्डेसनका संरक्षक बेल्जियमका समाजसेवी गाययुलेन्स र श्रीमती मरियम युलेन्सको पनि उपस्थिति हुनुहुन्थ्यो । संरक्षक गाययुलेन्सले नेपालमा कृषिसम्बन्धी शिक्षाको आवश्यकता रहेको भन्दै नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको अनुभव सुनाउनुभयो ।

प्रा डा शर्माले आफ्नो पाँच दशक लामो शिक्षा क्षेत्रको यात्रा स्मरण गर्दै आउने दिनमा शिक्षा क्षेत्रको विकास र सुधारमा लागिरहने दृढता व्यक्त गर्नुभयो । एघार वर्षअघि स्थापित गैरनाफामूलक युलेन्स स्कुलमा अहिले ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

स्थानीय तहमा रु २२५ अर्ब 

योजना आयोगका उपाध्यक्ष डा वाग्लेले सरकारले स्थानीय तहमा विकासका लागि रु २२५ अर्ब पठाएको बताउनुभएको छ ।

नागार्जुन नगरपालिका रामकोट–६ स्थित नारायण पोखरेल प्रतिष्ठानको १० औँ साधारणसभा र महाधिवेशनमा उहाँले केन्द्रका धेरै योजना घटाएर स्थानीयमा तहमा बजेट पठाइएको बताउँदै भन्नुभयो, ‘अहिले पठाइएको बजेट पर्याप्त नभए पनि हामीले धेरै नै पठाएका छौँ, विकासको क्रम बढेसँगै भविष्यमा जाने बजेट पनि बढ्दै जाने छ ।’

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले प्रतिष्ठानको विकासका लागि यस वर्ष रु २५ लाख विनियोजन गरिएको जानकारी दिँदै प्रतिष्ठानले निर्माण गर्ने बद्रीनारायण धामका लागि आगामी दिनमा सहयोग रकम बढाइने र सीतापाइलाबाट रामकोट पुग्ने बाटो छ महिनाभित्रै कालोपत्र गर्ने वचन दिनुभयो ।

पोखरेल प्रतिष्ठानका अध्यक्ष दीनबन्धु पोखरेलले अध्यात्मलाई छोडेर भौतिकता मात्र प्राथमिकता दिने परिपाटीले अनुशासन हट्दै एकार्कामा दूरी बढाएको बताउँदै मानिसमा काम र दाम भए पनि नाम, आराम र राम छुट्दै गएको भनी चिन्ता व्यक्त गर्नुभयो । धार्मिक क्रियाकलापबाट मानिसलाई सामाजिक विकासमा अभिप्रेरित गर्ने पं नारायण पोखरेल नेपालका पहिलो धार्मिक शहीद हुनुहुन्छ । उहाँको विसं २०६२ वैशाख २३ गते रुपन्देहीमा हत्या भएको थियो । उहाँलाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री