मधेश हितमा वकालत गर्ने दल काँग्रेस – देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार धनुषाको जनकपुरधाममा आयोजित सुरक्षा गोष्ठीमा सहभागी हुनेक्रममा विमानस्थल पुग्नुहुँदा स्वागत गरिँदै । तस्बिर – रोशन सापकोटा, रासस

जनकपुरधाम, २२ कात्तिक (रासस) – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस मधेश र मधेशीको हितमा सधैँ वकालत गर्ने दल भएको बताउनुभएको छ ।

नेका जिल्ला कार्यसमिति धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै उहाँले मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि काँग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सबैको अस्तित्वको सम्मान र रक्षाका लागि काँग्रेस सधैं संवेदनशील रहेको छ । जनताको अस्तित्वसँग खेलवाड गर्न उद्यत रहेकोप्रति सबै सजग हुनु जरूरी छ ।’

जनकपुरधाम र मधेसको विकासका सवालमा कांग्रेस सरकारले विशेष योजना कार्यान्वयन गरेको प्रशंग पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘बाढीपीडितलाई यथोचित राहत र बाढी समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारले योजना अघि सारेको छ ।’

नेकाका पूर्व महामन्त्री विमलेन्द्र निधिले कांग्रेसकै पहल र सक्रियतामा जनकपुरधाममा सडक विस्तार, सडक स्तरोन्नति, मणिमण्डप विकास योजना, पोखरी संरक्षण योजना र राजर्षिजनक विश्वविद्यालय स्थापना विधेयक पारित भएको बताउनुभयो । कार्यक्रम जिल्ला सभापति रामसरोज यादवको अध्यक्षतामा भएको थियो ।

जनकपुरधाम सबैका लागि प्रेरक – प्रधानमन्त्री

जनकपुरधाममा आज एकै दिनमा एक करोडभन्दा अधिक पार्थिव शिवलिङ्ग बनाई पूजन महायज्ञ गरी नयाँ कीर्ति कायम गरिएको छ ।

विश्वमै पहिलो पटक एकै दिनमा एक करोडभन्दा अधिक पार्थिव शिव पूजनको कीर्ति कायम गर्न देश र विदेशका लाखौं आस्थावान्को जनकपुरधाममा आगमन भएको थियो ।

प्राकृतिक विपद्बाट रक्षा तथा सुख, शान्ति, कल्याण र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले जनकपुधामको बाह्र विघा (रङ्गभूमि मैदान )सो महायज्ञको आयोजना गरिएको थियो ।

पार्थिव शिवलिङ्ग बनाउने कार्यमा भारतको प्रसिद्ध शिवतीर्थस्थल बाबाधाम जाने नेपाल र भारतका आठ हजारभन्दा अधिक आस्थावान्को सहभागिता रहेको थियो ।

सो कीर्ति कायम गर्न बाह्र विघामा दुई लाख वर्ग फिटको पण्डाल र एक सय आठ कुण्ड निर्माण गरिएको थियो ।

मानस तथा बोलबम परिवारद्वारा आयोजना गरिएको सो महायज्ञमा भारतको सिमरियाबाट एक टयाङ्कर गंगाजल र दुई ट्रक फूलको व्यवस्थापन गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरधाम सबैका लागि प्रेरक भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सबै धर्मको सम्मान र रक्षा आजको आवश्यकता भएको पनि बताउनुभयो ।

परिवारका अध्यक्ष ललन ठाकुरले आठ हजारभन्दा अधिक आस्थावान्द्वारा बनाइएको एक करोड ७५ लाख पार्थिव शिवलिङ्गको एक हजार एक सय बाह्मणद्वारा एकै चोटि एकै समयमा वैदिक विधानअनुसार पूजन गरिएको बताउनुभयो ।

मूल व्यवस्थापन समितिका अध्यक्ष डा. अभयकान्त मिश्रले १४ वर्षअघि जनकपुरधामको रत्नसागर मन्दिरमा एक लाख महादेवको पूजा गर्ने बेलामा नै एक करोड महादेवको पूजा गराउने सङ्कल्प लिइएको प्रसंग उल्लेख गर्नुभयो ।

त्रेता युगमा राजा जनकले छोरी सीताको विवाहका लागि स्वयम्बरको आयोजना बाह्र विघामै गराउनुभएको र स्वयम्बरमा शिव धनुष नै राखिएको र सोही स्थलमा कोटी पार्थिव शिव पूजनको संकल्प सार्थक भएको बताइएको छ ।

पार्थिव शिवलिङ्ग बनाउन पण्डालमा समूहगत रूपमा व्यवस्थापन गरी सोका लागि चाहिने माटो जनकपुरधामकै प्रयोग गरिएको थियो । शिव हवनमा २१ क्विन्टल अक्षता, आठ क्विन्टल तिल, चार क्विन्टल जौ र चार क्विन्टल घीउको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री