राप्रपा (प्रजातान्त्रिक) को घोषणापत्र – पाँच वर्षमा १५ लाख रोजगारी

pashupati JBR

राष्ट्रिय प्रजातान्त्रीक पार्टी (प्रजातान्त्रिक)को घोषणापत्र बुधबार राजधानीमा सार्वजनिक गर्दै अध्यक्ष पशुपति शमशेर जबरा । तस्बिर – नवीन पौडेल, रासस

काठमाडौँ, २२ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले मुलुकको सनातन धर्मसंस्कृति, मूल्यमान्यता तथा परम्परागत संस्थालाई समेट्ने भएको छ ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज सार्वजनिक गरिएको घोषणापत्रमा परम्परागत संस्थाको अर्थलाई प्रष्ट नपारिएको भए पनि सबै धर्मकाबीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रलाई नेपाली पहिचानका रुपमा लिइएको छ ।

सवल राष्ट्रियता, सुदृढ प्रजातन्त्र र नेपाली जनताको सम्मान, परम्परागत शक्तिको सम्मानसहितको बहुलवादी लोकतन्त्र, गरिबी र भ्रष्टाचारमुक्त, समृद्धिशाली र सुशासनयुक्त लोककल्याणकारी पहिचानलाई प्राथमिकतामा राखिएको छ ।

घोषणापत्रमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभूतिका रुपमा मान्यता दिँदै उहाँको जन्मदिन पुस २७ गते प्रत्येक वर्ष नेपालको राष्ट्रिय एकता दिवस मनाउने विषय पनि उल्लेख गरिएको छ । सार्वभौमिकता र राष्ट्रिय सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिने र प्रदेशका सांस्कृतिक सम्पदाको संरक्षण एवं विकासका लागि प्रत्येक प्रदेशमा संस्कृति प्रवर्धन प्रतिष्ठान खोलिने उल्लेख छ ।

मानव संशाधनको विकासमा विशेष जोड दिई कूल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत यस क्षेत्रमा खर्च गरिनेछ । वित्तीय, बीमा, धितोपत्र र सहकारी क्षेत्रको विकास गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।

शिक्षा क्षेत्रको विकासका लागि राष्ट्रिय शिक्षा सुधार उच्चस्तरीय आयोग गठन गरिने र नेपाली अंग्रेजीबाहेक तेस्रो एक भाषा कक्षा १ देखि १० सम्म अनिवार्यरुपमा पठन पाठनको व्यवस्था गरिनेछ । स्वास्थ्य क्षेत्रको विकास गर्न प्रत्येक गाउँपालिकामा २५ श्ययासम्मका र नगरपालिकामा ५० श्ययासम्मका अस्पताल स्थापना गरिनेछ ।

कृषि, औद्योगिक र सेवामूलक व्यवसायमा आगामी पाँच वर्षमा कम्तीमा १५ लाख रोजगारी सिर्जना गरिनेछ । प्रदेश सरकार र केन्द्र सरकार सरकारअन्तर्गत निजामती सेवा, प्रहरी सेनाका साथै शिक्षण र अध्यापनका क्षेत्रमा थप पाँच लाख रोजगारीका अवसर सिर्जना गरिने घोषणापत्रमा उल्लेख छ । महिला सशक्तीकरण, अल्पसंख्यकको सुरक्षाको व्यवस्थालाई समेत प्राथमिकतामा राखिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा आसन्न चुनावका माध्यमबाट प्रतिनिधिसभा र प्रदेशसभाको गुणात्मक अभिवृद्धिले संघीय लोकतन्त्र सुदृढ हुने बताउँदै हिन्दू राष्ट्र र परम्परागत शक्तिलाई स्थापित गर्नका लागि आफ्नो दललाई मतदान गर्न जनतालाई आग्रह गर्नुभयो ।

उहाँले पार्टीले लिएका आदर्शलाई स्थापित नगर्दासम्म अहिलेको संविधानमा आलोचनात्मक समर्थन रहने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री