वाम गठबन्धनको घोषणापत्र ‘राष्ट्र निर्माणको प्रतिबद्धता’

काठमाडौँ, २१ कात्तिक (रासस) – आसन्न निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

यहाँ पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गर्नुभएको हो । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमति ती दलले गरेका छन् ।

ओलीले वाम गठबन्धनको चुनावको घोषणापत्र राष्ट्र निर्माणको प्रतिबद्धता भएको बताउनुभएको छ । उक्त गठनबन्धनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले घोषणापत्रले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासबारे सुनिश्चिता गरेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो चुनावको घोषणापत्र होइन, राष्ट्र निर्माणको प्रतिबद्धता हो । गरिबी निवारण, रोजगारी, स्वच्छ वातावरण र दिगो विकासका लक्ष्यपूर्तिका लागि हामीले प्रत्याभूति गरेका छौँ ।’

पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, ‘लोकतन्त्र कसैले ल्याइदिएको उपहार होइन, हाम्रै पुस्ताले बलिदान र संघर्ष गरेर आएको हो । त्यसैले लोकतन्त्र हाम्रो निष्ठा मात्र होइन, यो उपलब्धि हो । हामीले जनता जगाएको प्रमाण हो । हामी लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ ।’

उहाँले एमाले र माओवादी मिलेर पहिला पनि सरकार चलाएकाले चुनावी गठबन्धन र पार्टी एकताको घोषणा हुँदा कसैले कोकोहोला र रुवाबासी गर्न नपर्ने बताउँदै भन्नुभयो, ‘पार्टी मिल्दा लोकतन्त्र खतरामा पर्ने भन्न थालिएको छ, के झगडा गर्दा लोकतन्त्र सुरक्षित हुन्छ ?’

मुलुकलाई एकताबद्ध बनाएर जानु अहिलेको आवश्यकता भएको बताउँदै उहाँले घोषणापत्रमा आफूहरुको लक्ष्य र प्रतिबद्धता सही नीति, संकल्प र विचारका साथ अघि सारिएको जनाउनुभयो । नेता ओलीले दुनियाँले पत्याउनसमेत गाह्रोपर्ने गरी काम गर्दै आएका दुई पार्टीले तयार गरेको घोषणापत्र भएकाले प्रतिस्पर्धामा उत्रन र सही विचार नलिनेका लागि सहन गाह्रो पर्न सक्ने जिकिर गर्नुभयो ।

उहाँले नेपालका दुवै छिमेकी भारत र चीनसँगको समदूरीको सम्बन्धलाई विकास गर्ने बताउँदै राष्ट्र निर्माण र सन्तानको भविष्य बनाउने कुरामा कोही पनि जिम्मेवारीबाट पछि हट्न नहुने बताउनुभयो ।

‘स्थिरता र समृद्धिमा वाम गठबन्धनको मुख्य ध्यान’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा गएको बताउनुभएको छ ।

उक्त गठबन्धनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।

उहाँले आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागत रुपमा राखिएको बताउँदै आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पुरयाउने घोषणापत्रमा उल्लेख भएको बताउनुभयो । उहाँले अधिकारसम्पन्न स्थानीय तह बनाउने तथा राजधानी उपत्यकाका लागि एकीकृत शहरका रुपमा विकास गर्ने योजना अघि सारिएको र राजधानी आसपासका जिल्लालाई उपशहरमा विकास गरिने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘आम जनताले छिटोभन्दा छिटो आर्थिक गतिविधिले गति लिन सकोस् र रोजगारीका अवसरमा सिर्जना होस् भन्ने चाहेका छन् । हामीले त्यही भावनालाई अभिव्यक्त गरेका छौँ ।’

उहाँले आफूहरु कसैका विरुद्ध गाली गलोजमा नउत्रने बताउँदै विचार मिल्ने अन्य पक्ष पनि ध्रुवीकृत हुन सक्ने र यसबाट नै मुलुकले राजनीतिक भुमरीबाट मुक्ति पाउनसक्छ भन्नुभयो । उहाँले आफूहरुको ‘गठबन्धनको विरोधमा नेपाली काँग्रेस तल्लोस्तरको गालीगलोज र भ्रामक प्रचारमा उत्रिए पनि’ आफूहरुले त्यस्तो नगर्ने स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री