काठमाडौँ, १६ कात्तिक ९ – पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको निर्वाचनमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका छन् ।
पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३७ क्षेत्रमा हुने निर्वाचनमा नेपाली काँग्रेसबाट दुई र नेकपा माओवादी केन्द्रबाट एक गरी जम्मा तीन जना मात्रै महिला उम्मेदवार उठाएका थिए । तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने निर्वाचनमा प्रमुख तीन दलबाट १५ जना महिलाले आज उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन् ।
दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सात जना, नेकपा एमालेबाट पाँच र नेकपा माओवादी केन्द्रबाट तीन जना महिला उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।
यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर– २ बाट महालक्ष्मी ‘डीना’ उपाध्याय, काठमाडौँ–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली– १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा हुनुहुन्छ ।
यसैगरी नेकपा एमालेले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर– ३ बाट पम्फा भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट बिना मगरलाई उम्मेदवार बनाएको छ ।
तीमध्ये कैलाली– १ मा महिला-महिला उम्मेदवारबीच नै रोचक प्रतिस्पर्धा हुनेभएको छ । सो क्षेत्रमा काँग्रेसकातर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनकोतर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिनुभएको छ । यसअघि समानुपातिकबाट सांसद रहनुभएका दुवै जना अहिले प्रत्यक्षबाट उम्मेदवारी दिनुभएको हो ।
यस्तै केहीअघि राप्रपा छोडी नेकपा एमाले प्रवेश गर्नुभएकी गायिका तथा सञ्चारकर्मी कोमल ओलीले दाङ– ३ बाट तथा पूर्वसांसद सञ्जय साहकी पत्नी रंगीला साहले धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यसअघि पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा काँग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ– १ बाट चम्पादेवी खड्का तथा माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट उम्मेदवारी दिनुभएको थियो ।
समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी काँग्रेसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका छन् ।
संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ ।
निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क
ललितपुर–३ बाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका प्रवक्तासमेत रहनुभएका पम्फा भुसालले आफ्नो जित निश्चित रहेको बताउनुहन्छ ।
यसअघि पनि विसं २०६४ को संविधानसभा निर्वाचनमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण झनै जित सुनिश्चित रहेको उहाँको भनाइ छ ।
आफू सधैँ सो क्षेत्रको विकास निर्माण र जनताको सुख, दुःखमा साथ रहेकाले पनि आफू जित्नेमा ढुक्क रहेको उहाँले राससलाई बताउनुभयो ।
महिलाको हकअधिकारको आवाज बुलन्द गर्नुका साथै महिलाले पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनका लागिसमेत आफ्नो जित आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
मकवानपुर–२ बाट काँग्रेसको उम्मेदवार बन्नुभएकी काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ ले आफ्नो उम्मेदवारीले मकवानपुरवासी र सो क्षेत्रका महिलामा उत्साह थपिएकाले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो ।
आफू विसं २०४८ मा पनि सोही क्षेत्रबाट निर्वाचन लडिसकेको र केन्द्रीय तहमा रहेर राजनीति गरिरहेकाले सो क्षेत्रको विकासका लागि आफूप्रति सबैको आशा, भरोसा र सद्भाव रहेको उहाँको भनाइ छ ।
कैलाली–१ बाट उम्मेदवार रहनुभएका एमाले केन्द्रीय सदस्य गरिमा शाहले आफ्नो पार्टीले अघि सारेको आर्थिक समृद्धि र राष्ट्रिय एकताको एजेण्डा तथा वाम गठबन्धनका कारण आफ्नो जित सुनिश्चित रहेको धारणा व्यक्त गर्नुभयो ।
आफूले यसअघि संविधानसभामा संविधान मस्यौदा लेखन समितिको सदस्यकारुपमा खेलेको भूमिका, कैलालीको विकासका लागि तथा ७ नं प्रदेशलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न खेलेको भूमिकाका कारण साझा व्यक्तित्वका रुपमा यो क्षेत्रमा आफूले पहिचान बनाइसकेको उहाँको भनाइ छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा