
दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि बिहीबार काठमाडौँमा प्रतिनिधिसभा सदस्य नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी मनोनयन दर्तापछि प्रकाशमान सिंहलगायत नेताहरु राष्ट्रियसभा गृह परिसरमा । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १६ कात्तिक (रासस) – निर्वाचन आयोगले दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक सहभागितामा सम्पन्न भएको जनाएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त साँझ ६ बजेसम्म प्रतिनिधि सभातर्फ ५२२ र प्रदेश सभा सदस्यतर्फ ८८३ को उम्मेदवारी परेको प्रारम्भिक सूचना प्राप्त भएको आयोगले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ २५६ निर्वाचन क्षेत्रका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।
उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा शुरुमा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको थियो भने मध्याह्नपछि मात्रै धेरैजसो राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभयो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नेमा महिलाको संख्या कमै देखिए पनि उम्मेदवारी दर्ताका लागि महिला मतदाताको उपस्थिति भने उत्साहजनक रहेको देखिन्थ्यो ।

प्रतिनिधिसभाका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारीको लागि नाम दर्ता गरेपछि अभिवादन गर्दै नेपाली कांग्रेसका नेता गगनकुमार थापा । तस्बिर – प्रदीपराज वन्त, रासस
निर्वाचन आयोगले राजनीतिक दलको उत्साहजनक सहभागितामा भएको उम्मेदवार मनोनयन कार्यले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनप्रतिको सबै किसिमका आशंका हटेर देश पूर्णरुपमा निर्वाचनको उत्सवमा होमिएको बताएको छ ।
सो अवसरमा निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयनसँगै सार्वभौम संघीय संसद् र प्रदेश सभा निर्माण हुने प्रक्रिया सुनिश्चित भएको बताउनुभयो ।
व्यापक उत्साह एवं शान्तिपूर्णरुपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएकोमा सबै राजनीतिक दल र उम्मेदवार तथा सुरक्षाकर्मी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र कर्मचारीलाई धन्यवाद प्रकट गरेको छ ।

प्रतिनिधिसभाका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारीको लागि नाम दर्ता गरेपछि सवैलाई अभिवादन गर्दै एमालेका नेता माधवकुमार नेपाल लगायत नेताहरु । तस्बिर – प्रदीपराज वन्त, रासस
निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार, सम्बन्धित निर्वाचन कार्यालयबाट आज नै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशित गर्ने कार्यक्रम छ ।
निर्वाचन आयोगका अनुसार, आज मनोनयन दर्ता भएको उम्मेदवारीको विरोधमा कात्तिक १७ गते उजुरी दिन सकिने र कात्तिक १८ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
यसैगरी, कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गरेपछि औपचारिकरूपमा चुनावी प्रचारप्रसारको अवधि शुरू हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता भएपछि सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू हुने भएकाले सबै राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन आचारसंहितको पूर्ण पालना हुने विश्वास लिएको आयोगले जनाएको छ ।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता