त्रिशूली बस दुर्घटनाप्रति एमाले र माओवादी केन्द्र दुःखित

पृथ्वीराजमार्ग अन्तरगत धादिङको घाटबेसी बाङ्गेबाटा शनिबार बिहान त्रिशुली नदीमा खसेर दुर्घटना ग्रस्त ना ६ ख १४६७ नम्बरको यात्रु बसका मृतक यात्रुको शव सङ्कलन तथा घाइते यात्रुको उद्धार कार्यगर्दै सुरक्षा निकाय, र राजमार्ग उद्धारकर्मीहरु । तस्वीर – सीताराम अधिकारी, रासस, धादिङ

काठमाडौँ, ११ कात्तिक (रासस) – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज विहान धादिङको त्रिशूली नदीमा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी दिवंगत हुनुभएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति दुवै पार्टीले गहिरो समवेदना प्रकट गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एक शोक वक्तव्य प्रकाशित गर्नु भई शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जारी गर्नुभएको शोक वक्तव्यमा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्न, घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्ने दिशामा गम्भीर पहल गर्न सरकारसँग माग गर्दै उद्दार र उपचारको आवश्यक पहल गर्न पार्टी पक्तिलाई निर्देशनसमेत दिनुभएको छ ।

बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने

राजविराज, ११ कात्तिक (रासस) – राजविराजबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान त्रिशुली नदी खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् ।

सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिनुभयो । सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् ।

जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुसँग आज साँझ यसबारेमा छलफल भइसकेको राजविराज नगरपालिकाका प्रमुख यादवले बताउनुभयो ।

यसैबीच संघीय समाजवादी फोरम नेपाल र नेकपा (एमाले) सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामना गर्नुभएको छ । दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरिएको छ ।

यस्तै एमालेले पनि सप्तरीले पनि मृतकप्रति श्रद्वाञ्जलि व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई अविलम्ब क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

एकै परिवारका पाँचजनाको मृत्यु, सप्तरी शोकमग्न

राजविराज, ११ कात्तिक (रासस) – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको आज बस दुर्घटनामा परी मृत्यु भएको छ ।

दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको आज बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशूलीमा बस खसेपछि उनीहरुको सो दुर्घटनामा परी मृत्यु भएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चन्दन यादवले बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैंक, गौशाला शाखा काठमाडौँमा प्रबन्धकका रूपमा कार्यरत झासहित उहाँकी पत्नी सिमीकुमारी झा, १० वर्षीय छोरा अभिनव, चार वर्षीय छोरा प्रतीक र भाइ अनजीत तथा साली पूजा झा र सालो बिटु झा एउटै बसमा चढेका थिए । संजितका परिवारका पाँचजना र साला र सालीको पनि मृत्युभएको हो ।

उनीहरू राजविराजबाट छुटेको ना ६ ख १४६७ नंको सन्देश बसमा चढेर जाँदै गर्दा आज बिहान त्रिशूलीमा खसेपछि बसमा सवार संजीत, उनका भाइ, पत्नी, दुई छोरा र साला, साली सबैको मृत्यु भएको तिलाठीवासीले जनाएका छन् । अहिले सिंगो सप्तरी जिल्ला शोकमग्न बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री