शनिबार, कार्तिक ८ २०७७ | Sat, October 24, 2020
नेपालको समय: ०८:४८ | UK Time: 04:03

राससको नयां भवन बन्ने, प्रधानमन्त्रीद्वारा शिलान्यास

वीनेपाली
२०७४ कार्तिक ९ गते ११:१९

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राष्ट्रिय समाचार समिति (रासस)को नयाँ कार्यालय भवनको काठमाडौँमा शिलान्यास गर्नुहुँदै । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौँ, ९ कात्तिक (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस)को नयाँ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पुरयाएको थियो । ४५ वर्षभन्दा पुरानो भवनको सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइले भवन निर्माणको जिम्मा लिई निजी निर्माण कम्पनी सिद्धबाबा कन्स्ट्रक्सन प्रालिमार्फत काम अघि बढाएको छ । उसले आगामी २०७६ साउन ६ गतेभित्र निर्माण सम्पन्न गर्नेछ ।

नवनिर्माणका लागि आवश्यक आर्थिक सहयोग राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत उपलब्ध भई अत्याधुनिक चारतले भवन निर्माण हुनेछ । भवनमा सामाचार, अडियो, भिडियो र फोटो सेवालाई समयसापेक्षरुपमा सप्रेषण गर्न आवश्यक सम्पूर्ण सुविधा उपलब्ध हुनेछ ।

निजी क्षेत्रबाट विसं २०१६ पुस १ गते स्थापना भएको नेपाल संवाद समिति (नेसस) र विसं २०१७ वैशाख ३० गते स्थापना भएको सगरमाथा संवाद समिति (ससस) गाभिएर राष्ट्रिय संवाद समितिको गठन भएको थियो । स्थापनाको १० वर्षपछि संवाद समितिलाई राष्ट्रिय समाचार समितिमा रुपान्तरण गरिएको थियो ।

राससले नेपाली र अङ्ग्रेजी भाषामा देशभरबाट प्राप्त महत्वपूर्ण समाचार हरेक दिन विहान ६.०० बजेदेखि राति ११.०० बजेसम्म अविछिन्नरुपमा आफ्ना सेवाग्राही आमसञ्चारका माध्यमलाई विद्युतीय अनलाइन सेवामार्फत सप्रेषण गर्दै आइरहेको छ ।

त्यसैगरी गरी अन्तर्राष्ट्रिय समाचार संस्थाहरु एपी, एएफपी, सिन्ह्व, क्योदा, पिटीआइलगातका विश्वका प्रतिष्ठित समाचार संस्थाका समाचार नेपाली भाषामा अनुवाद गरी हरेक दिन बिहान ११.०० बजेदेखि राति १०.०० बजेसम्म सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको छ ।

आर्थिक, सामाजिक, राजनीतिकजस्ता विविध क्षेत्रमा अनुसन्धानमूलक गहन आलेख र आर्थिक समाचार, महत्वपूर्ण समाचारका अडियो क्लिप, स्वदेश तथा विदेशका फोटो सेवा राससले नियमितरुपमा उपलब्ध गराएको छ ।

मुलुकभरका गाउँपालिका, जिल्ला, प्रदेशमा स्थानीय समाचारदाता रहेका छन् भने नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेका मुलुकमा स्थानीय समाचारदाता रहेका छन् ।

निष्पक्ष, आधिकारिक, विश्वसनीय समाचार सम्प्रेषण गर्ने समाचार बैंकका रुपमा स्थापित राससले हाल देशभरका छापा, प्रशारण तथा अनलाइन गरी २४० भन्दा बढी आमसञ्चारका माध्यमलाई आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ ।

यसले आफ्नो स्थापनाको रजत जयन्ती २०४३ र स्वर्ण महोत्सव २०६८ सालमा मनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक