निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पार्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार काठमाडौँमा राष्ट्रिय समाचार समिति (रासस)को नयाँ कार्यालय भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर – रत्न श्रेष्ठ, रासस

काठमाडौँ, ९ कात्तिक (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधि सभाको आगामी मंसिरमा हुने निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल पार्न आह्वान गर्नुभएको छ ।

मुलुकको एक मात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) को भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयको नयाँ भवनको आज शिलान्यास गर्दै उहाँले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

सञ्चार माध्यमले विगतका लोकतान्त्रिक एवं प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै प्रम देउवाले भन्नुभयो, ‘देशमा संविधानको कार्यान्वयन गर्दै राजनीतिक स्थायित्वमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउन होस् वा आउँदो निर्वाचनमा नागरिकलाई सहभागी बनाई आफ्नो लोकतान्त्रिक हक, अधिकारको रक्षा गर्ने सन्दर्भमा होस्, राससले निष्पक्ष तथा संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध भूमिकालाई सधैं अवलम्बन गर्नेछ भन्ने मेरो विश्वास रहेको छ ।’

उहाँले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत राष्ट्रको विकास र एकतामा टेवा पुरयाउने तथा आम जनताको महत्वाकांक्षाको सम्बोधन गर्न आफू सधैँ क्रियाशील रहनेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रम देउवाले भूकम्पबाट क्षतिग्रस्त रासस कार्यालयको भवन शिलान्यास गर्न पाएकामा खुशी व्यक्त गर्दै पुनःनिर्माणलाई निरन्तर र अविच्छिन्नरुपमा गर्ने सरकारको प्रयासमा महत्वपूर्ण अवसर भएको स्पष्ट पार्नुभयो ।

प्रजातन्त्रको पुनःस्थापनापछि आमसञ्चार जगत् उद्योगका रुपमा विकसित भएको प्रम देउवाले चर्चा गर्दै उहाँले हाल निजी क्षेत्रबाट पनि समाचार समिति सञ्चालन गर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हालसम्म कुनै पनि निजी समाचार संस्थाले आकार लिन नसकेको परिस्थितिमा रासस एक्लैले देश विदेशका समाचार संकलन गर्दै आमसञ्चारजगत्लाई समाचार सेवा उपलब्ध गराउँदै आएको छ, यो तपाईंहरुकै अथक मिहिनेतबाट सम्भव भएको हो ।’

प्रम देउवाले सरकारी सञ्चारमाध्यमका रुपमा विसं २०१८ मा स्थापित राष्ट्रिय संवाद समितिबाट राष्ट्रिय समाचार समितिमा परिणत हुँदै निष्पक्ष, आधिकारिक, विश्वसनीय, समाचार संप्रेषण गर्ने समाचार बैंकका रुपमा रासस स्थापित भएको बताउनुभयो ।

प्रजातन्त्र खोसिएको समयमा रासस स्थापित भएर पनि यसले विभिन्न कालखण्डमा सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्दै आएको बताउँदै उहाँले लोकतान्त्रिक संस्थाका रुपमा आफ्नो स्थान कायम राख्न राससले गरेको प्रयास सुखद भएको स्मरण गर्नुभयो ।

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले भूकम्पले क्षतिग्रस्त भएको राससको केन्द्रीय कार्यालय भवन नवनिर्माण हुन लागेकामा खुशी व्यक्त गर्दै निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

भवन समयमै सम्पन्न गर्नका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक सबै सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले राससमा कार्यरत सबैले आफ्नो घर सम्झिएर जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्नुभयो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले राससले आफूलाई स्वतन्त्र, निष्पक्ष तथा आधिकारिक समाचार समिति र राज्यको समाचार बैंकका रुपमा आफूलाई स्थापित गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवाले राससप्रति देखाउनुभएको स्नेह र आत्मीयताप्रति आभार व्यक्त गर्दै आमसञ्चारका क्षेत्रमा राससले बेग्लै संस्कृति र गौरव कायम गरेको छ भन्नुभयो ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले रासस सबल र सक्षम भएमा राज्य पनि बलियो हुने हुँदा राज्यले राससमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले रासस नीति, विधि, प्रविधि र व्यावसायिक रुपमा अगाडि बढिरहेको चर्चा गर्दै यसले राज्यभित्रका सबै गतिविधि जनतासमक्ष र जनताका समस्या राज्यसमक्ष पुरयाउँदै सेतुका रुपमा काम गरेको उल्लेख गर्नुभयो ।

शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका निमित्त प्रमुख परिक्षित कडरियाले रु १२ करोड ५० लाखभन्दा बढी लागतमा अत्याधुनिक भवन निर्माण हुने जानकारी दिँदै भवन निर्माणको कार्य समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा राससका संस्थापकहरु रामराजा पौड्याल, गोविन्द वियोगी र मणिन्द्रराज श्रेष्ठमध्ये श्रेष्ठको उपस्थिति रहेको थियो । साथै, सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका नवनियुक्त सचिव केदारबहादुर अधिकारी तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुषालको समेत सहभागिता रहेको थियो ।

रासस सञ्चालक समितिका सदस्यहरु, राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक, गोरखापत्र संस्थाका निमित्त महाप्रबन्धक तथा सञ्चारक्षेत्रका विज्ञहरुको पनि शिलान्यास समारोहमा उपस्थिति रहेको थियो ।

प्रम देउवाले भवनको शिलान्यास गर्नुहँदा गोकर्णेश्वर–४ स्थित कान्तिभैरव गुरुकूलका पाँचजना ब्राह्मण बटुकले वैदिक विधिपूर्वक स्वस्ति वाचन गर्नुभएको थियो । वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाको आचार्यत्वमा अनुष्ठान सम्पन्न भएको थियो ।

विसं २०३१ मा निर्मित रासस केन्द्रीय कार्यालय भवन विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक एवं प्राविधिक सहयोगमा शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत नयाँ भवन निजी निर्माण कम्पनी सिद्धबाबा कन्स्ट्रक्सन प्रालिले निर्माण गर्न लागेको हो ।

पहिलो चरणमा भूकम्पले क्षति पुरयाएका दुई भवनमध्ये पछिल्लो भवन भत्काउने कार्य सम्पन्न भई सोही स्थानमा नयाँ भवन निर्माण शुरु भएको हो । चारतले सो भवनको ब्लक ‘ए’ मा १९ कोठा रहनेछन् ।

सो निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा पछिल्लो भवन भत्काई निर्माण हुनेछ । चारतले ब्लक ‘बी’को सो भवनमा भने ३२ कोठा रहनेछन् । अगामी विसं २०७६ साउन २६ गतेभित्र ती दुवै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ती दुई भवनमा राससका समाचार, आलेख, फोटो, अडियो तथा भिडियो सेवालाई अझ चुस्त तथा प्रभावकारी बनाउन आवश्यक अत्याधुनिक उपकरणसमेत जडान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री