राजविराज, ७ कात्तिक (रासस) – लक्ष्मी पूजा र भाइटीका सकिएपछि सप्तरीसहित मिथिलाञ्चल र पहाड, हिमाल तथा तराई मधेशमा आजदेखि विधिवत्रुपमा छठपर्व शुरु भएको छ ।
सप्तरीमा छठपर्व मनाउनका लागि धमाधम तयारी भइरहेको छ भने पूजा सामग्री किनमेलका लागि अहिले बजारमा निकै चहलपहल बढेको पाइएको छ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् आज अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरी छठ सम्पन्न हुने परम्परा छ ।
छठ पूजाका लागि आवश्यक पर्ने सामानलाई चोखो राख्न व्रतालुले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुठुनी, पानी फल, नरिबल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराइ आवश्यक पर्ने भएकाले अहिले सदरमुकाम राजविराजलगायत विभिन्न बजारमा समान किनमेलको काम बजारमा भइरहेको पाइएको छ ।
जिल्लाको कञ्चनपुर, भारदह, हनुमाननगर, कल्याणपुर, रुपनी, वीरेन्द्र बजार, विसनपुर, बोदेवरसाइन, कदमहालगायतका बजारमा छठपर्वका लागि सामान किनमेल गर्ने व्रतालु महिलाको चहलपहल बढेको छ ।
पूर्णरूपमा शाकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र अन्य सामग्रीले विशेष महत्व राख्दछ । यस्तै, छठपर्व मनाउनका लागि विभिन्न जलाशय सजाउने कार्यसमेत शुरु भइसकेको छ ।
राजविराज नगरपालिका–१ स्थित भगवती पोखरी, वडा नं ३ का कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कञ्चनपुर, भारदह, हनुमाननगर, जोगीनीया, सकरदही, रुपनी, कल्याणपुर र सप्तकोशी ब्यारेजसहित दर्जनौँ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी भइरहेको सकरदहीका प्रवेशकुमार यादवले बताउनुभयो ।
हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतको विहार र सुपोल जिल्लाबाट समेत श्रद्धालु यहाँ छठपर्व मनाउन आउने गरेको र अहिले कोशी ब्यारेजमा घाट बनाउने र सजाउने कामसमेत भइरहेको यादवले जानकारी दिनुभयो ।
शुरुमा तराइवासीले मात्र मनाउने यो पर्व हिजोआज अन्य जाति एवं राजधानीलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि सरकारले छठपर्वको अवसरमा सार्वजनिक बिदासमेत दिने गरेको छ ।
निर्धनता र निःसन्तान हुनुबाट मुक्ति पाउन एवं मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि पाइन्छ ।
पर्वको पहिलो दिन चतुर्थीमा व्रतालु महिला एवं पुरुष नित्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् । यसलाई ‘नहाय खाय’ अर्थात् नुहाएर खानु भनिन्छ । यो दिन नुहाइ, धुवाइ, चोखो भई व्रतालु महिला एवं पुरुषले लसुन, प्याज नहाली कालो नून प्रयोग गरी खाना खाने गर्छन् ।
यस्तै, दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् ।
खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादका रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको छ ।
पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका व्रतालु साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्ने गर्छन् र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पूजा गरी छठ पर्व समाप्त हुन्छ ।
छठका लागि केराको किनवेचमा वृद्धि
आजदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ ।
छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ ।
छठमा हरेकले केराको घरी किन्ने भएकाले व्यापारमा वृद्धि भएको केरा व्यापारी शिवचरण मण्डलले बताउनुभयो । बजारमा केरा किन्नेको भीड लागेको छ । प्रति केरा घरी रु दुई सयदेखि रु ५०० सम्ममा बिक्री भइरहेको छ । सप्तरीमा छठमा करिब रु एक करोडको केरा बिक्रीवितरण हुने गरेको व्यापारीको भनाइ छ ।
डोम समुदाय चोया बनाउन व्यस्त
यसैगरी, हिन्दू धर्मावलम्बीको महान् छठपर्व आजबाट शुरु भएसँगै सप्तरीको डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त रहेको छ ।
अहिले डोमसमुदायले भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्ने समय हो । छठपर्वमा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुरयाउन डोम जातिलाई सकस भएको छ । ती सामग्री बनाउन भ्याईनभ्याई भएको छ ।
छठपर्वमा छठमाता तथा सूर्यदेवतालाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अद्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच-सातवटा बाँसका भाँडाकुँडा किन्नुपर्ने हुन्छ । राजविराजलगायतका विभिन्न ठाउँमा अहिले डालो, नाङ्लो र टालुटपरीलगायतका समान डोमसमुदाय विक्रीबितरण गर्नमा व्यस्त छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा