राष्ट्रपति र उपराष्ट्रपतिद्वारा नेपाल संम्वत् ११३८ को शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी, तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाडौँ, ३ कात्तिक (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल सम्वत् ११३८ को अवसरमा आज शुभकामना दिँदै उहाँले सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान दिने विश्वस व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल सम्वत् ११३८ ले नयाँ जोश, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपतिद्वारा शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले शुभ दिपावली–२०७४ एवं नेपाल संम्वत् ११३८ को अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको शुभकामना सन्देशमा यस पर्वको माध्यामबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र एकता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगलिक विविधताले भरिपूर्ण नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी रहेको उल्लेख गर्दै सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्वर्धन गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको स्मरण गर्नुभएको छ ।

विभिन्न कालखण्डका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र पछिल्लो पटकको ऐतिहासिक जनआन्दोलनको उपलब्धीलाई संस्थागत गरेको नयाँ संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताउँदै उहाँले सन्देशमा भनिएको छ—‘शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्व नेपालीहरु मनाइरहँदा संघीय सभा र प्रादेशिक सभाका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भई देश निर्वाचन उत्सवमा प्रवेश गरेको छ ।’

उपराष्ट्रपति पुनले शुभ दिपावली र नेपाल संवत् जस्ता पावन पर्वहरुले सबै प्रकारका चुनौतीहरुको सामना गर्दै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा घोषित निर्वाचनहरु उत्सवको रुपमा सम्पन्न गर्न सरकार, राजनीतिक दललगायत सबै पक्षलाई प्रेरणा दिने विश्वास लिएको बताउनुभयो ।

नेपाल संवत् मौलिक पहिचान – अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व भएको बताउनुभएको छ ।

नयाँ वर्ष ११३८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ‘नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो । त्यसैको एउटा उदाहरण नेपाल संवत् पनि हो । यो संवत् नेपालको मौलिक संवत् हो,’ भन्नुभएको छ ।

यसका प्रणेता शंखधर साख्वालाई स्मरण गर्दै उहाँले ‘नेपालीहरु संस्कृतिका धनी छौं । यो देशमा बसोवास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो’ उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनपछि नेपाली राजनीतिले नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै यो चुनावले नेपाली राजनीतिलाई स्थिरता तर्फ लगेर देशमा आर्थिक र विकासका एजेण्डालाई स्थापित गर्न सहयोगी हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री