दशकपछि काँग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित पार्टी एकता घोषणा कार्यक्रममा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारबीच पार्टी एकता घोषणा गर्नुहुँदै । तस्बिर- रोशन सापकोटा, रासस

काठमाडौँ, ३० असोज (रासस) – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ ।

दुबै पार्टीबीचको एकता घोषणा गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले दुबै पार्टी एकताका लागि भएको सहमति पत्र सार्वजनिक गर्नुभएको थियो ।

घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं सभापति देउवाले काँग्रेस नेतृत्वमा हुने लोकतन्त्र पक्षधर पार्टीहरुको एकीकरणले काँग्रेस पहिलो स्थानको पार्टी रहिरहने र यसले लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो ।

काँग्रेसमा एकता भएको लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘विजयकुमार गच्छदारजी काँग्रेसको नेता नै हो, उहाँ नेतृत्वदायी भूमिकामा नै रहनु हुनेछ ।’

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही वामपन्थी दलले लोकतन्त्रबाट विचलित हुने गरी गरेको धु्रवीकरणपछि नै काँग्रेसको नेतृत्वमा लोकतन्त्र पक्षधर पार्टीहरु समाहित हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

काँग्रेसबाट अगल हुँदा पनि नेता गच्छादारले हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्ने र राष्ट्रियता बलियो बनाउने काम गरेकोमा प्रशंसा गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘अब काँग्रेस र लोकतान्त्रिक फोरमका सबै नेता कार्यकर्ता एक भयौँ, सबैलाई काँग्रेसको गौरवमय इतिहासमा गर्व गरेर लोकतन्त्रमा विश्वास गरी अघि बढ्न आग्रह गर्दछु ।’

एकतापछि काँग्रेसले बहुमत प्राप्त गर्ने 

लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले काँग्रेससँग तत्कालीन अवस्थामा केही कुरामा असहमति भएपछि बाध्य भएर २०६४ माघ १८ गते पार्टी छोड्नु परेको स्मरण गर्दै मुलुकमा बामपन्थी दलबीचको गठबन्धनले लोकतन्त्र रहने कि नरहने आशंका उब्जिएपछि लोकतन्त्रको रक्षाका लागि काँग्रेससँग पार्टी एकता गर्नुपरेको बताउनुभयो ।

संविधान निर्माण र कार्यान्वयनका लागि आफ्नो पार्टीले गरेको १६ बुँदे सहमतिदेखि अन्य योगदानको जानकारी गराउँदै नेता गच्छदारले भन्नुभयो, ‘संविधानसभाबाट संविधान जारी भएपछि हाम्रा नेताहरु बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतको सपना पूरा भएको छ ।’

सम्बोधनका क्रममा आफूले पार्टी छोड्नु परेको दिन सम्झेर भावुकहुँदै केहीबेर भक्कानिनु भएका नेता गच्छदारले दुबै पार्टीबीचको यो एकताले सम्पूर्ण नेता कार्यकर्तामा उत्साह थपिने र आसन्न निर्वाचनमा काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

काँग्रेस नेता महेश आचार्यले दुबै पार्टीबीचको एकताको बारेमा जानकारी गराउँदै संविधानको स्वीकार्यता बढाउन लोकतन्त्र पक्षधर एक ठाउँमा उभिने प्रक्रिया शुरु भएको बताउनुभयो ।

लोकतान्त्रिक फोरमका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले पार्टी एकताको सहमति पत्र पढेर सुनाउनुभएको थियो ।

सहमति पत्रमा मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकेल्ने प्रयत्न भइरहेको अवस्थामा संविधानको प्रभावकारी कार्यान्वयन, लोकतन्त्रको जगलाई अझ सुदृढ बनाउन र मधेसी, थारु, आदिवासी÷जनजाति, दलित, अल्पसंख्यक, महिलालगायतको अधिकारको मुद्दालाई सम्बोधन गर्न एकतावद्ध हुनुपरेको उल्लेख छ ।

दुबै पार्टीबीच एकतापछि काँग्रेसको सांगठनिक संरचनामा केन्द्रदेखि वडासम्म लोकतान्त्रिक फोरम र यसका भातृ÷भगिनी संस्थाको संरचना एवं सदस्यको यथोचित समायोजन गर्ने सहमति भएको छ । सभाहलमा विघटित व्यवस्थापिका–संसद्मा लोकतान्त्रिक फोरमका १७ सांसद थिए । सभाहल दुबै पार्टीका नेता कार्यकर्ताले भरिएको थियो ।

नेपाल समता पार्टी काँग्रेसमा समायोजन 

आजै नेपाल समता पार्टी काँग्रेसमा समायोजन भएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवाले सो पार्टीका अध्यक्ष आङ्देण्डी शेर्पा, महामन्त्री विक्रमबहादुर कुँवरलगायत नेता कार्यकर्तालाई टीकामाला लगाई पार्टीमा प्रवेश गराउनुभयो ।

साथै राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री दिलीप धाडेवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष पुष्पबहादुर चौहानलगायत पनि आज काँग्रेसमा प्रवेश गर्नुभएको छ । यस अघि अखण्ड पार्टी नेपाल काँग्रेसमा समायोजन भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री