विश्वभरबाट नेपाल आएका काँग्रेस कार्यकर्तामाझ प्रधानमन्त्री

देउवा

काठमाडौँ, २६ असोज (रासस) – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकदलीय साम्यवादले लोकतन्त्रमा चुनौती आउने जनाउँदै त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

विश्वभरबाट नेपाल आएका काँग्रेस आबद्ध जनसम्पर्क समितिको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्ने क्रममा उहाँले जनताका मौलिक अधिकार संस्थागत गर्ने शासन प्रणाली बहुदलीय लोकतन्त्र मात्र भएको बताउँदै भन्नुभयो, ‘लोकतन्त्रको खोल ओढेर अधिनायकवाद लागू गर्नेविरुद्ध सबै सजग हुनैपर्छ ।’

जनताका अधिकार स्थापना गर्न २००७ सालदेखि नै काँग्रेसले प्रतिबद्धताका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले अहिले काँग्रेसमाथि आएको चुनौती लोकतन्त्रमाथिको चुनौती हो, लोकतन्त्रको संस्थागत विकासका लागि एकताबद्ध भएर काँग्रेसलाई सहयोग गर्नुस् भन्नुभयो ।

भेलामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ संविधान जारी भएसँगै मुलुकमा राजनीतिक प्रणाली स्पष्ट भइसकेका अवस्थामा साम्यवाद लागू गर्ने उद्देश्यका साथ भएको वामपन्थी दलको गठबन्धनले विवाद निम्त्याएको जिकिर गर्नुभयो ।

केही दलबीच भएको एकात्मक साम्यवाद स्थापना गर्ने सहमतिले काँग्रेसलाई झस्काएको उल्लेख गर्दै उहाँले लोकतन्त्रलाई नै चुनौती दिने गरी भएको गठबन्धनप्रति सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।

काँग्रेस नेता डा प्रकाशशरण महतले मुलुकमा लोकतन्त्रको विकल्प छैन भनी काँग्रेसले नै सबै दललाई लोकतान्त्रिक मूलधारमा ल्याएको बताउँदै विश्वमा असफल भइसकेको साम्यवाद स्थापना गर्ने भनेर गरिएको गठबन्धन दुर्भाग्य भएको विचार व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली संघको आसन्न राष्ट्रिय सम्मेलनमा भाग लिन विश्वभरका जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्य राजधानीमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री