गौचन हत्याको सांसदहरुले गरे भत्र्सना

काठमाडौँ, २४ असोज (रासस) – व्यवस्थापिका– संसद्को आजको बैठकमा सांसदहरुले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति आपत्ति जनाउँदै हत्यामा संलग्नलाई कानूनको दायरामा ल्याउन सरकारसित आग्रह गर्नुभएको छ ।

उहाँहरुले हत्याको छानबिन गर्नका लागि आयोग शीघ्र गठन गर्न र यसका बारेमा सदनलाई जानकारी गराउन गृहमन्त्रीसँग माग गर्नुभयो । निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको सोमबार अपराह्न मध्यबानेश्वरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

सभामुख ओनसरी घर्तीसित समय माग गरी नेपाली काँग्रेसका दीपक गिरीले आगामी प्रदेश-प्रतिनिधिसभाको निर्वाचको मुखमा गौचनको हत्या हुनुले निर्वाचन नहुने आशंका बढेको छ भन्नुभयो ।

नेकपा (एमाले)का जनार्दन ढकाललले गौचनको शीघ्र हत्याको छानबिन गर्न माग गर्दै हत्यारालाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का रामनारायण बिंडारीले दिउँसै गौचनको हत्या हुनु शान्तिसुरक्षाको कमजोरी रहेको बताउनुभयो ।

नेपाल लोकतान्त्रिक फोरमका योगेन्द्र चौधरीले राजधानीमा खोजी-खोजी र छानी-छानी मान्छे मार्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद रुक्मिणी चौधरीले गौचनका हत्याका बारेमा सदनमा जानकारी गराउन गृहमन्त्रीसँग माग गर्नुभयो ।

सांसद रोमी गौचन थकाली र परशुराम तामाङले गौचनका हत्यापछि निर्माण व्यवसायीलाई पनि अज्ञात समूहले हत्याको धम्की दिएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘गौचनका हत्यारा पत्ता नलागे आन्दोलनको घोषणा

भक्तपुर, २४ असोज (रासस) – नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले आफ्ना अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा महासचिव देउजाले बुधबार साँझसम्म सरकारले आफ्ना माग पूरा नगरेको अवस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माणलगायत काम ठप्प पार्ने बताउनुभयो ।

अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नंबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोन आइरहेको बताउँदै उहाँले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्धसहित गौचनको हत्यामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हत्यामा संलग्न पक्राउ नभएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव हामी बुझ्दैनौँ ।”

चेम्बर अफ कमर्शको पनि भत्र्सना

काठमाडौँ, २३ असोज (रासस) – नेपाल चेम्बर अफ कमर्शले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली प्रहारबाट हत्या भएको घटनाको भत्र्सना गरेको छ ।

नेपालकै उत्कृष्ट निर्माण व्यवसायी गौचनमाथि दिउँसै गोली प्रहार गरी हत्या हुनुले सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टि भएको चेम्बरका कावा महासचिव नीलकण्ठ चौलागाईंद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । “राजधानीको मुटु नयाँं बानेश्वरमा आफ्नै गाडीमा हिँडिरहेका व्यवसायीको हत्या हुनुले निर्माण व्यवसायी मात्रै होइन, सम्पूर्ण उद्योगी–व्यवसायीलाई नै मर्माहत तुल्याएको छ । देशभित्र उद्योगी–व्यवसायीको सुरक्षा नहुँंदा वैदेशिक लगानीसमेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पना गर्न नसकिने अवस्था देखापर्ने सम्भावना रहेकाले सुरक्षा व्यवस्थाप्रति गम्भीर हुन सरकारलाई अनुरोध गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

चेम्बरले दोषीमाथि कडा कारबाहीको माग गर्दै शोक–सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । आज अपराह्न काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट महासंघका अध्यक्ष गौचनको मृत्यु भएको थियो । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले घटनाबारे व्यापक अनुसन्धान भइरहेको बताउँदै गोली प्रहार गर्ने समूहको खोजतलासका सम्बन्धमा राजधानीबाट केही शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री