सहभागीसित पैसा उठाएर टेलिभिजन बहस

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको सेप्टेम्बर ९ मा हुने सातौँ अधिवेसनका उम्मेदवारहरुबीच पैसा उठाएर प्रत्यक्ष बहस गराइएको छ । युकेमा सञ्चालिन गोर्खा च्यानलले अल्डरसटमा आइतबार आयोजना गरेको प्रत्यक्ष टेलिभिजन बहसमा सहभागीहरुसित पैसा उठाइएको हो ।
कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष र महासचिवका प्रत्यासीबीच प्रत्यक्ष बहस गराइएको थियो । अध्यक्षका प्रत्यासीहरुसंग जनही २ सय पाउण्ड, उपाध्यक्षका प्रत्यासीहरुसंग प्रतिव्यक्ति १ सय ५० र महासचिवका हरेक आकांक्षीहरुसंग १ सय पाउण्ड बैंकमार्फत भुक्तानी दिन अनुरोध गर्दै च्यानलले इमेल गरेको थियो । स्मरण रहोस्, दुई वर्षअघि पनि सो च्यानलले उम्मेदवारहरुसँग रकम लिएर बहस गराएको थियो ।
यसपटकको बहसमा तीन अध्यक्ष, नौ उपाध्यक्ष र तीन महासचिवका प्रत्यासीहरु उपस्थित थिए । उपाध्यक्षका उम्मेदवारहरु डा. दिलिप यादव र भोला खनाल अनुपस्थित थिए । वीनेपालीलाई प्राप्त च्यानलले उम्मेदवारहरुलाई पैसा माग गरेको इमेलमा ‘कार्यक्रम गैर नाफामूलक भएको र कार्यक्रमको खर्च जुटाउन उम्मेदवारहरुसित न्यूनतम पैसा उठाउन परेको’ उल्लेख छ । तर लाइभ कास्टमा भने स्पोन्सरको नामहरु देखिन्छ ।
च्यानलले पैसा मागेको सम्बन्धमा जिज्ञासा राख्दा उम्मेदवारहरुले यसै सप्ताहन्त हुने चुनावका कारण नाम नराख्न अनुरोध गरे । उपाध्यक्षका एक उम्मेदवारले भने चुनावपछि यसबारेमा प्रष्ट बोल्ने वचन दिए । बहसमा पूर्व अध्यक्षहरु सूर्य गुरुङ, कुल आचार्य, महेन्द्र कंडेल र वर्तमान अध्यक्ष मुच्छेत्र गुरुङ अनुपस्थित थिए भने पूर्व अध्यक्षहरु डमर घले र योगेन क्षेत्री पर्यवेक्षकका रुपमा सहभागी भएको च्यानलकी निर्देशक विमला सेनेले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री