पाउण्ड र डलरभन्दा शक्तिशाली बन्दै युरो

लन्डन । बेलायती पाउन्ड स्टर्लिङ र अमेरिकी डलरको भाउ युरो 
मुद्राको तुलनामा निकै गिरावट आएको छ । संसारको सबैभन्दा ठूलो मध्ये एक इन्भेस्टमेन्ट बैंक मोर्गन स्ट्यान्लेले सन् २०१८ को शुरुमा पाउन्डको भाउ एक युरो भन्दा तल झर्ने भविष्यवाणी गरेको छ । अहिले पाउन्डको विनिमय दर करिब एक दशमलव १० युरो छ । सन् २००० को अक्टोबरमा युरो विनिमय दर १ दशमलव ७३ थियो । अर्को ठूलो बैंक एचएसबीसीले पनि पाउन्डको भाउ यस वर्षको अन्तिमसम्म एक युरो भन्दा कम हुने जनाएको छ ।

लामो समयदेखि अमेरिकी अर्थतन्त्रको शक्तिको प्रतीकका रुपमा रहेको डलरको भाउ क्रमशः युरोसंग घट्दै गएको छ । डलरको भाउ संसारको ६ वटा मुख्य मुद्राहरुसंगको विनिमयमा गत जनवरी देखि दश प्रतिशत गिरावट आएको छ ।

युरो मात्र नभएर डलरको भाउ जापानी यन, मेक्सिकन पेसो, स्विडीस क्रोनार र बेलायती पाउण्डसंग पनि घटेको छ । यस्तो धेरै मुद्राहरुको विनिमयमा आएको गिरावटले मानिसहरु डलर त्यागेर 
अर्को मुद्रातिर लोभिएको देखिन्छ ।

बेलायत र अमेरिकाको राजनीतिक अस्थिरता, पेन्सन र बिमा फन्डको लगानी युरोमा बढी, लगानीकर्ताहरुले आफ्नो पैसा युरोमा बढाउने आदि कारण युरो बलियो भएको लन्डनस्थित अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्य बताउंछन् । युरो जोनको अर्थतन्त्रमा सुधार, युरोपियन केन्द्रिय बैंकले अर्थतन्त्र उत्साहित पार्न सन् २०१४ देखि थालेको कदमको अन्त्य, फ्रान्समा इयू पक्षधर इमान्यूअल माक्रोनको विजय आदिले युरोको विश्वास दिलाउन योगदान गरेकोले यसको भाउ बढेको आचार्यको विश्लेषण छ ।

यस वर्षको शुरु देखि नै अमेरिकी डलर करिब ७ प्रतिशतले कमजोर भइ एक डलरको एक दशमलव १८ युरो पुगेको छ । अमेरिकी डलर घट्ने सम्भावना जारी रहने अनुमान छ । स्वीटजरल्याण्ड र जापानका पेन्सन फन्ड र बिमा कम्पनीहरुले खुद युरो मुद्राको अनावरण कम तहबाट बढाउन शुरु गरेकाले पनि युरो बलियो रहेको अर्थविज्ञहरुको विश्लेषण छ ।

युरो बलियो हुनुको अन्य कारणमा युरो सम्पत्ति मुद्रातर्फ ढल्कनु, युरोजोन भित्र वित्तीय र बैंकिङको समन्वयको भूमिका पनि छ ।
पाउन्ड कमजोर हुनुको प्रमुख कारणमा कमजोर आर्थिक गतिविधि, घट्दो उत्पादन र बढ्दो राजनीतिक जोखिम मुख्यतः ठानिएको छ । बेलायतका उपभोक्ताहरुको खर्च गर्ने क्षमता हेर्दा अर्थतन्त्रमा वृद्धि हुने कुरा सहज देखिदैन । बेलायतमा सन् २००८ को आर्थिक मन्दी देखिनै उत्पादकत्व र तलब वृद्धि कमजोर रहंदै आएको छ ।

गत मेमा बेलायतको आम निर्वाचनमा कुनै पार्टीको पनि स्पष्ट बहुमत नआएपछि भएको राजनीतिक अस्थिरताले पनि पाउन्डको भाउमा गिरावट आएको आचार्यले बताए । अर्को आम निर्बाचनमा बेलायतको प्रतिपक्षी लेबर पार्टीको जित हुने सम्भावनाले पनि पाउन्डको भाउ अरु कमजोर हुने देखिन्छ । लेबर पार्टीको मुख्य एजेन्डाहरुमा कर्पोरेसन र धेरै कमाइ हुनेलाई कर बढाउने नीतिले लगानी कम हुने र यसले पंूजी पलायनको कारक बन्ने अनुमान छ ।

डलरको भाउ कमजोर हुनुको प्रमुख कारणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषित कर कटौती नीति र पूर्वाधारमा लगानी कार्यान्वयन हुन नसक्नु हो । उत्तर कोरिया तथा रुससंगको सम्बन्ध र राष्ट्रपति ट्रम्पको राजनीतिक अवस्थाले पनि डलरको भाउमा प्रतिकुल असर परेको अर्थ व्यवस्थापन बिज्ञ आचार्यको टिप्पणी छ ।

कमजोर मुद्राले जुनसुकै आयात गरिएको सामानको भाउ बढ्छ । पेट्रोलियम लगायत खाद्यान्न, लत्ता कपडा, इलोक्ट्रोनिक सामानहरुको भाउ बढ्ने र होलिडे महंगो हुन्छ । यसको अर्थ मुद्राको क्रय शक्तिमा ह्रास हुने हो । तर, सामान निर्यात गर्दा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सस्तो हुनपुग्छ ।

अन्तर्राष्ट्रिय विनिमयको हिसाबले कमजोर मुद्रामा यसको नाफा पनि कम हुन पुग्छ । नाफा कम भएपछि लगानी अन्यत्र जान्छ भन्ने मान्यता छ । यसले देशको अर्थतन्त्र लगायत सम्पतिको मुल्यमा पनि गिरावट आउने विश्लेषकहरु बताउंछन् । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री