ब्रिटिस समर च्याम्पियनसीपमा गौरिका आशावादी

गौरिका सिंह

लन्डन । गौरिका सिंह, रियो ओलम्पिक–२०१६ मा सबैभन्दा कान्छी खेलाडी भएर अन्तर्राष्ट्रिय मिडियामा निक्कै छाएकी नेपाली स्वीमर । सप्ताहन्त लन्डन मिलहिल ब्रोडवे नजिक निवास पुग्दा उनी केही थकित र बिसन्चो मुडमा देखिन्थिन् । तर, मनमा उत्साह र जोश जांगर विगतकै जस्तो ।

‘भर्खर प्राक्टिस गरेर आराम गरिरहेकी थिएं’, घर पुग्दा उनले नेपाली अंग्रेजी मिश्रित लवजमा सुनाइन्, ‘सोमबार सेफिल्ड जानुछ । त्यसको तयारीले पनि अलिक व्यस्त भएं ।’

ब्रिटिस समर च्याम्पियनसीप अन्तर्गत ५ इभेन्ट्सका लागि आमा गरिमा राणाका साथ सेफिल्ड जाने तयारीमा थिइन् गौरिका । उनले २५ देखि ३० जुलाइसम्म पोन्ड्स फोर्ग सेफिल्डमा हुने प्रतियोगितामा सहभागिता जनाउंदैछन् बार्नेट कोप्ट हल स्वीमिङ क्लबका तर्फबाट । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्वीमरका रुपमा ब्रिटिस स्वीमिङ (एएसए) मा आवद्ध छिन् गौरिका । इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डमा प्रत्येक उमेर समूहबाट टप २५ स्वीमर ब्रिटिस समर च्याम्पियनसीपका लागि योग्य हुन्छन् ।

गौरिका २०० मिटर फ्रि स्टाइलमा दुई मिनेट ८ सेकेन्ड ३१ मिलि सेकेन्ड, ४ सय मिटर फ्रि स्टाइलमा चार मिनेट २९ सेकेन्ड ९८ मिलिसेकेन्ड, ८ सय मिटर फ्रि स्टाइलमा ९ मिनेट १३ सेकेन्ड ९७ मिलिसेकेन्ड र २०० मिटर इन्डिभिज्यूअल मेड्लीमा दुई मिनेट २६ सेकेन्ड २५ मिलिसेकेन्ड समयमा पार गरेर ब्रिटिस समर च्याम्पियनसीप्स्मा योग्य भएकी हुन् ।

‘मलाई आत्मविश्वास छ यो च्याम्पियनसीपमा नयां कीर्तिमान कायम राख्नेछु’, उनी भन्दै थिइन् ।

यस प्रतियोगिता सकिने बित्तिकै गौरिका ३१ जुलाइमा ब्रिटिस ओपन वाटर स्वीमिङ च्याम्पियनसीपको ३ किमी फाइनलमा उत्रनेछिन् ।

गौरिका थप उत्साहित त नेपाल गएर प्रतिष्पर्धा गर्ने कुराले छिन् । भदौ १ देखि ३ सम्म काठमाण्डौंमा हुन लागेको २० औं राष्ट्रिय पौडी प्रतियोगितामा भाग लिन अगष्टमा नेपाल जाने तयारीमा छन् उनी । ‘दुई वर्षपछि नेपाल जान लागेकाले ज्यादै उत्साहित छु’, उनले भनिन् । नेपालकै छोरी भएको बताउंदै गौरिका नेपाल सरकार र पौडी खेलसंग सम्बन्धित निकायले आफू जस्ता खेलाडीलाई थप प्रोत्साहन गरिदिउन् भन्ने चाहन्छिन् ।

छेउमै रहेका गौरिकाका बाबा कन्सल्टेन्ट युरोलोजिस्ट डा. पारसबहादुर सिंह पनि नेपाल सरकारले देशको गौरव राख्ने खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने औंल्याउंछन् । ‘हाम्रो तन मन त नेपालमै छ’, उनी थप्छन्, ‘नेपालकै इज्जत र गौरव बढाउन हामी अग्रसर छौं । सरकार र सम्वन्धित निकायले अझ प्रोत्साहित गरिदिए हुन्थ्यो ।’ नेपालका प्रमुख खेलमा बेलैमा जानकारी पाए गौरिकालाई प्रतिष्पर्धामा लैजान आफ्नो साथ समर्थन सधैं रहने उनले बताए ।

१२ औं संस्करणमा ऐतिहासिक एक रजत र तीन कांस्यपदक जितेकी गौरिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि थुप्रै पदक जित्ने अठोट गरेकी छन् ।

ओलम्पिकमा प्रतिस्पर्धा गर्दा १३ वर्ष २ सय ५५ दिन उमेरकी थिइन् गौरिका । रियो ओलम्पिकमा ११ हजार बढि खेलाडीमाझ अन्तर्राष्ट्रिय मिडियाले उनको जति चर्चा गरे, त्यसले नेपाल र नेपालीको समेत इज्जत बढाएको गौरिकाको अनुभव छ । त्यसयता लाइमलाइटमा आएकी ‘स्वीमर सेलिब्रेटी’ गौरिका आफ्नो परिवार र 
हयाबरडेसर्स गल्स स्कुलबाट समेत पूर्ण सहयोग पाएकामा आभारी 
छन् । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री