बेलायतको ६ दिने सद्भावना भ्रमणमा प्रधान सेनापति, भेटघाट शुरु

लन्डन । प्रधानसेनापति राजेन्द्र क्षत्री यतिखेर ६ दिने बेलायतको सद्भावना भ्रमणमा छन् । संयुक्त राष्ट्रसंघीय मुख्यालय, न्यूयोर्कमा विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशको दोश्रो प्रमुख रक्षा सम्मेलन सकेर क्षत्री बेलायत आएका हुन् । बेलायती सेनाध्यक्षको निमन्त्रणमा आइतबार लन्डन उत्रिएका प्रधानसेनापतिले सोमबारदेखि बेलायती सैन्य अधिकारीहरुसंग भेटघाट शुरु गरेका छन् ।

लन्डन दूतावासका सैनिक सहचारी कर्णेल प्रदीपजंग केसीका अनुसार, क्षेत्रीले सोमबार नाइट्सब्रीजस्थित हाउसहोल्ड क्याभल्री माउन्टेड रेजिमेन्ट (एचसीएमआर) सैन्य शिविर अवलोकन गरे । साथै, प्रधानसेनापतिले चिफ अफ दि डिफेन्स स्टाफ एयर चिफ 
मार्सल सर स्टुआर्ट विलियम पिच र चिफ अफ दि जनरल स्टाफ जनरल सरनिकोलस प्याट्रिक निक कार्टर एवं रक्षा मन्त्रालयका पदाधिकारीहरुसंग भेट गरेका छन् । भेटमा क्षत्री र बेलायती वरिष्ठ सैन्य अधिकारीहरुबीच द्विपक्षीय हित, नेपाली सेनाको आधुनिकीकरणमा बेलायतको सहयोग, प्रशिक्षण आदि विषयमा छलफल भएको 
बताइएको छ । रक्षा मन्त्रालयको भ्रमणमा क्षत्रीलाई ब्रिटिस सेनाको अवस्था, अपरेसन लगायत विविध पक्षबारे अवगत गराइएको थियो ।

सोमबार लन्डन दूतावासमा आयोजित कार्यक्रममा प्रधानसेनापति क्षत्रीले नेपाल र बेलायती सेनाबीचको सम्वन्ध पृथक र उदाहरणीय रहेको बताउंदै नेपाल ब्रिटेन कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष पुरा भएको उपलक्ष्यमा भएको सद्भावना भ्रमणले दुई देशबीचको सम्वन्ध थप मजवुत बनाउन मद्दत पुग्ने आशा व्यक्त गरे । ‘नेपाल र ब्रिटेनको सम्वन्ध युद्धबाट शुरु भयो’, क्षत्रीले भने, ‘सन् १८१६ को सुगौली सन्धिपछि दुवै देशबीचको सम्वन्धले समयको परिक्षा उत्तिर्ण गरेको छ ।’ दुबै देशका नागरिक एउटै सेनामा एकीकृत भएर पनि लामो समयसम्म सेवा गरेको यो विश्वकै विरलै उदाहरण भएको उनको धारणा थियो ।

उक्त अवसरमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले पूर्व बिद्रोहीलाई नेपाली सेनामा समायोजन गरेर नेपालले विश्वमै शान्तिको अनुपम उदाहरण प्रस्तुत गरेको बताए । उनले नेपाल बेलायत सम्वन्धको इतिहास सैनिक सहयोगबाट शुरु भएको चर्चा गर्दै भने, यो सम्वन्ध ब्रिटिस सेनामा कार्यरत गोर्खा सैनिकहरुको सेवा, बफादारी र बलिदानको ठोस जगमा उभिएको छ । राजदूतले नेपाली सेना विश्वकै पुरानो सेना भएको बताउंदै सन् १९५८ देखि नेपाली सेनाले राष्ट्रसंघीय शान्ति सेनामा सेना पठाउंदै आएको समेत स्मरण गरे ।
शुक्रबार स्वदेश फर्कनुअघि प्रधानसेनापति क्षत्रीले बेलायती सेनाको मुख्यालय एवं विभिन्न सैनिक एकाइको समेत भ्रमण गर्ने कार्यक्रम छ ।

 

बेलायतले भूकम्पपछि पीडितको उद्दार तथा राहतका लागि पठाएका तीनवटा ब्रिटिश मिलिट्री हेलिकप्टर ‘चिनुक’ नेपाल सरकारले उड्न नदिंदा करदाताको एक मिलियन पाउण्ड (करिब १५ करोड ६० लाख रुपैयां) त्यसै खेर गएको विषयमा बेलायत सरकार नेपालसंग असन्तुष्ट थियो ।

बेलायती अधिकारीहरुसंगको पटक पटकको छलफलपछि पनि नेपाल सरकारले ति हेलिकप्टर अवतरण गर्दा कमजोर भौतिक संरचना (घर) झन् भत्किन सक्ने बहाना बनाउंदै उडान अनुमति नदिएपछि भारतको चण्डीगढ एयर बेसमा झण्डै महिना दिन कुरेर चिनुक फर्कन वाध्य भएका थिए ।

उता, नेपाली सेनाका महासेनानी कर्णेल कुमार लामालाई बेलायतले द्वन्द्वताका १२ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक ब्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोगमा क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ (१) अन्तर्गत मुद्दा दायर गरेको थियो । केही समय जेल समेत बसेका लामा पछि निर्दोष सावित भएर नेपाल फर्किसकेका छन् ।

दुबै देशको सम्वन्ध चिस्याउन सघाउने यी दुई प्रकरणपछि नेपाली 
वरिष्ठ सैन्य अधिकारीको औपचारिक बेलायत भ्रमण भएको हो । यी प्रकरणकै कारण प्रधानसेनापतिको बेलायत भ्रमण ढिलाइ भएको कतिपयको विश्लेषण छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री