सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: २०:२७ | UK Time: 15:42

डा विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ पुस्तक सार्वजनिक

वीनेपाली
२०७४ असार २३ गते ०:२०

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राजधानीमा डा महेन्द्र विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ पुस्तक लोकार्पण गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, २२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिनाको प्रजातन्त्र कल्पना पनि गर्न नसकिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ नामक पुस्तकको यहाँ आज विमोचन गर्दै उहाँले भन्नुभयो– “प्रजातन्त्र भएन भने प्रेस स्वतन्त्रता पनि खतरामा पर्छ ।”

प्रधानमन्त्री देउवाले “नेपालको प्रजातन्त्र टिकाउने भनेकै प्रेस स्वतन्त्रताले हो, सरकारले प्रेस स्वतन्त्रतालाई संविधानमै सुनिश्चित गरेको छ, जुन विश्वमै अग्रणी रहेको छ, अहिले प्रजातन्त्रलाई सुदृढ गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रेस जगतको महत्वपूर्ण योगदानको आवश्यकता छ भन्नुभयो ।”

भौगोलिक विविधता, विभिन्न जातजाती, भाषा र संस्कृति विशेषको मुलुक नेपालको राष्ट्रिय एकतालाई थप मजबुद बनाउन सञ्चार जगतले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं उहाँले प्रेस स्वतन्त्रताले सुनिश्चित गरेको अधिकारलाई पत्रकारले सत्यतथ्यरुपमा समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले “बाहिर आफ्ना विचार, भावना, आदर्शअनुसार लेख्न अभिव्यक्ति गर्न पाइन्छ तर समाचारका सम्बन्धमा चाहिँ त्यो सत्य कुरामा आधारित तथ्यपरक सामग्री पाठकलाई दिनुपर्छ” भन्दै “हिमाल, पहाड तराईका विभिन्न जातजातीका भावनालाई कदर गरी राष्ट्रिय एकता कायम गर्नेगरी सही सूचना सम्प्रेषण गर्नुपर्छ बताउनुभयो ।”

सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार र प्रेसबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै नागरिकको हकअधिकार सुनिश्चितताका लागि प्रेस निर्वादरुपमा स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले पत्रकार विष्टको यो पुस्तकले जङ्गबहादुर राणाको बेलायत भ्रमणबाट भित्रिएको गिद्धेप्रेसदेखि अहिलेको ‘डिजिटल मिडिया’ को युगलाई चित्रण गरेको छ भन्नुभयो ।

पुस्तकको समीक्षा गर्दै प्राध्यापक पी खरेलले लेखक विष्टको अनुसन्धानमूलक यो पुस्तकमा नेपालको इतिहासमा सञ्चारमाध्यमको विकासक्रमको अवस्था, के–कस्ता व्यवधान खडा भए त्यसलाई समेटेर सूचकाङ्क सशक्त ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो ।

आमसञ्चारका विद्यार्थी र अनुसन्धानकर्तालाई यो पुस्तक उपयोगी हुने बताउँदै उहाँले संविधानले नै सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको हिसाबले नेपाल विश्वमै पहिलो भए पनि व्यावहारिक रुपमा अझै कार्यान्वयनमा आउन नसकेको र श्रमजीवी पत्रकारको अवस्था पनि नाजुक रहेको उल्लेख गर्नुभयो ।

लेखक विष्टले पुस्तकमा नेपालमा प्रेस स्वतन्त्रता र पत्रकारिताको अवधारणा, विश्वव्यापी मान्यता र वर्तमान अवस्थाको साङ्गोपाङ्गो विश्लेषण गरिएको पनि प्राध्यापक खरेलले बताउनुभयो ।

साङ्ग्रीला पुस्तकले प्रकाशन गरेको छ खण्डमा विभाजित सो पुस्तकमा लोकतन्त्र र प्रेस स्वतन्त्रता, नेपालमा प्रेस स्वतन्त्रता र प्रेस स्वतन्त्रताको विकास, कानुनी व्यवस्था र नियमन प्रणाली, नेपाली मिडियाको स्थिति, पत्रकार सुरक्षालगायत विषयलाई समेटिएको छ ।

जम्मा ३१५ पृष्ठको पुस्तकको मूल्य रु ४७५ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक