
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, डडेल्धुरा, रासस
डडेल्धुरा, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गर्नुभएको हो । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
मतदानपछि प्रधानमन्त्री देउवाले सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताउनुभयो । स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले मतदान गर्नुभएको असिग्राम उच्च माविको मतदान केन्द्र सदरमुकामदेखि २१ किमी दक्षिण पूर्वमा रहेको छ । उहाँले स्थानीय बासिन्दासँग कुरा गर्नुहुँदै मतदाता नामावली यहीँ भएकाले भोट हाल्न आएको बताउनुभयो । “निर्वाचनलाई उत्सवका रुपमा लिनुपर्छ, त्यसैले मतदानमा सबैजना सहभागी हुनुपर्छ,” प्रधानमन्त्री देउवाले मतदान गरेर फर्कने क्रममा भन्नुभयो ।
प्रधानमन्त्री देउवाले असिग्राम उच्च माविबाटै कक्षा ५ सम्म अध्ययन गर्नुभएको हो । उहाँकै पहलमा पछि यहाँ माध्यमिक तह स्थापना भएको हो । प्रधानमन्त्री देउवा अहिले कैलालीको धनगढी फर्कंदै हुनुहुन्छ । उहाँ बिहीबार मात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्नो जन्मथलो रोल्पा नगरपालिका–१ को बिबामरुकस्थित मतदान केन्द्रबाट बुधबार दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्दै । तस्बिर ः हरि लामिछाने, रोल्पा, रासस
रोल्पा, १४ असार । सभामुख ओनसरी घर्तीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत आज रोल्पा नगरपालिका–७ स्थित बाल उदय मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै सभामुख घर्तीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आफूले मतदान गरेको बताउनुभयो ।
दमक, १४ असार । झापाको कमल गाउँपालिका–५ स्थित मतदान केन्द्रमा १०४ वर्षीय वृद्धले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ ।
कमल गाउँपालिका–५ स्थित मङ्गलमय माविको मतदान केन्द्रबाट स्थानीयवासी १०४ वर्षीय वद्ध रणबहादुर कार्कीले मतदान गर्नुभएको हो । उहाँ कमल गाउँपालिकाकै सबैभन्दा ज्येष्ठ मतदाता हुनुहुन्छ ।
त्यसैगरी, सोही वडाकी ५२ वर्षीया पूर्ण अशक्त दुर्गा गुरागार्इंले पनि ह्विलचियरबाट नै मतदान गर्नुभएको छ । उहाँले सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो ।
कमल गाउँपालिकाको सबैभन्दा ठूलो मतदान केन्द्र मानिने त्यस वडामा पाँच हजार २८ मतदाता छन् । जारी मतदानमा अहिले बिहान १० बजेसम्म त्यस मतदान केन्द्रबाट एक हजार मतदाताले मत खसालेको त्यहाँका मतदान अधिकृतले जनाएका छन् ।
छयान्नब्बे वर्षीय वृद्धद्वारा मतदान
यसैबीच, पाल्पा जिल्लाको रामपुर नगरपालिकाको दरैठाँटी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट ९६ वर्षीय वृद्धद्वारा मतदान प्रक्रिया सुरु भयो । रामपुर नगरपालिका–६ निवासी सुब्बा लोकनाथ उपाध्याय रेग्मीले सो मतदान केन्द्रबाट पहिलो मतदान गर्नुभएको छ ।
यस क्षेत्रका समाज विकासका अभियन्तासमेत रहनुभएका रेग्मीले यस निर्वाचनपछि गाउँका सानादेखि ठूला ठूला विकास निर्माणका योजनाले गति लिने आशा गर्नुभएको छ ।
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित