निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली वेवसाइटमा राख्यो

काठमाडौँ, ४ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तयार पारेको फोटोसहितको मतदाता नामावलीलाई आइतबार राति आयोगको वेवसाइटमा राखेको छ । स्थानीय तहको निर्वाचन वैशाख ३१ गते आइतबार तोकिएको छ ।

स्थानीय तह निर्वाचनमा २०७३ फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा फोटोसहितको नाम दर्ता गराएका मतदाताले मात्रै मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ ।

आयोगले सातवटै प्रदेशका ७५ वटै जिल्ला र ७४४ वटै स्थानीय तहको एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको विवरणलाई अन्तिम रूप दिई मतदाताको जानकारीका लागि वेवसाइटमा राखिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

मतदाताले आयोगको वेवसाइट www.election.gov.np मा गई मतदाता नामावलीमा रहेको आफ्नो नम्बर र जन्म मिति राखेर आफ्नो विवरण हेर्न सकिनेछ ।

स्थानीय तहको पुनःसंरचना भएबाट मतदाताको ठेगाना परिवर्तन भएको हुँदा त्यसलाई मिलाउन आयोगलाई बढी समय लागेको जनाइएको छ । नयाँ संरचनाअनुसारको स्थानीय तहको नाम र वडा खुल्ने गरी मतदाताको नामावलीलाई अद्यावधिक गरिएको छ ।

आयोगका अनुसार मतदाता नामावलीको छपाइ कार्य आयोगकै छापाखानाबाट भइरहेको छ र आज दिउँसोसम्म ६७ जिल्लाको मतदाता नामावली छाप्ने कार्य सकिएको छ ।

यसैगरी मतदाताको फोटोसहितको मतदाता परिचयपत्रको छपाइ कार्य पनि आयोग परिसरमा भइरहेको छ । आजसम्म ६० जिल्लाको मतदाता परिचयपत्रको छपाइ कार्य पूरा भएको छ ।

मतदाता नामावली ऐन २०७३ अनुसार मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य छ । आयोगले मतदाता परिचयपत्र मतदाताले मतदान गर्ने केन्द्रबाटै पाउने गरी यही वैशाख २८ गतेबाट वितरण गर्ने योजना बनाएको छ ।

मतदाता परिचयपत्र लिन मतदाता आफैँ उपस्थित हुनुपर्नेछ । आफू उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो परिवारका सदस्य यकीन गरी निजले बुझी लिनसक्ने व्यवस्था गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री