हिमालयन यतीमा ५ औं पटक अध्यक्ष चुनिए पुष्प श्रेष्ठ

 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठ (बायांबाट तेश्रो)

लन्डन । नेपलिज एसोसिएसन इन द यूके हिमालयन यतीले शनिबार म्यानचेष्टरस्थित ब्रिटानिया कन्ट्री हाउस होटलमा संस्थाको २५ औं वार्षिक साधारणसभा गरि नयां नेतृत्व चयन गरेको छ । राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहेको उक्त साधारणसभाले ५ औं पटक अध्यक्षमा पुनः पुष्प श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । नयां कार्यसमितिको उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, महासचिव सुधीर बजिमय, कोषाध्यक्ष राजेन्द्र बस्नेत, सामाजिक सचिव निर्मल कार्की र सदस्यहरुमा डा. मदन शर्मा, डा. कुमुद भण्डारी, प्रा. सत्यनराज भण्डारी, डा. आरती हमाल, बुद्धिराम श्रेष्ठ चयन भए ।

साधारणसभालाई सम्वोधन गर्दै राजदूत डा. सुवेदीले आफू राजदूत भएर लन्डन दूतावासमा आइसकेपछि दूतावासको प्रशासनिक, आर्थिक र कुटनीतिक फोहोर सफा गरिसकेको बताए । सुवेदीले गत १ जनवरीदेखि ब्रिटिश पासपोर्ट होल्डरलाई नेपालको भिजा लिन दूतावासमा आइरहनु नपर्ने र एकै दिन भिजा जारी गर्न थालिएको जनाए । राजदूत सुवेदीले सेवा समय बढाइएको स्मरण गर्दै लन्डनबाहिरबाट जाने नेपाली सेवाग्राहीले भोलि कुर्नुनपर्ने समेत बताए । आफूमा राजदूतको पदीय अहंकार कहिल्यै नभएको बताउंदै उनले नेपाली समुदायबाट रचनात्मक सहयोगको अपेक्षा पनि गरे ।

बेलायतमा नेपाली समुदायलाई विभाजन र विभेदको रेखा नकोर्न आग्रह गर्दै राजदूतले भने, ‘हामी पहिला नेपाली हौं । एकता, भातृत्व र पवित्र भावना लिएर देश र समाजका लागि मिलेर काम गरौं ।’

अध्यक्ष पुष्प श्रेष्ठको सभापतित्वमा भएको उक्त साधारणसभामा महासचिव विजय श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. योगेन्द्र बज्राचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उक्त अवसरमा संस्थाले धादिङमा भूकम्पले क्षतिग्रस्त एक विद्यालय पुनर्निर्माणमा आर्थिक सहयोग गर्नेबारे अवगत गराइएको थियो । करिब ५५ लाख रुपैयां लागतमा धादिङ रामकोट गाउंस्थित कन्काली मेलमिलाप प्रावि बनाउन हिमालयन यतीले पहिलो किस्ता स्वरुप करिब दश लाख ५० हजार रुपैयां (८ हजार पाउण्ड) पठाइसकेको छ । यही वर्ष अगष्टसम्म विद्यालय पुनर्निर्माण सम्पन्न 
गर्ने लक्ष्यका साथ काम बढाइएको हिमालयन यती अध्यक्ष श्रेष्ठले जनाए । उक्त विद्यालय बनाउन लायन्स क्लव अफ पोखरा लेक सिटी, लायन्स क्लव अफ धादिङ निलकण्ठ र रामकोट गाविसले ‘लजिस्टिक सपोर्ट’ गरेका छन् ।

यसैबीच, हिमालयन यतीले आइतबार नेपाली नयां वर्ष २०७४ कार्यक्रम समेत गरेको छ । उक्त अवसरमा प्रमुख अतिथी राजदूत सुवेदी, अध्यक्ष श्रेष्ठ लगायतले शुभकामना दिए । कार्यक्रममा विभिन्न अवार्ड वितरण र सांस्कृतिक प्रस्तुति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री