प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार भेटवार्ता हुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ११ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जङ्गीअड्डामा आज भेटवार्ता भएको छ ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच भएको भेटवार्ता दुवै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो ।

सो अवसरमा उहाँहरुबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

रक्षामन्त्री चाङको सम्मानमा सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेका थिए । उहाँले सो अवसरमा सम्मान गारतको निरीक्षणसमेत गर्नुभयो ।

यसअघि जनरल चाङ सैनिक मञ्च टुँडिखेल जानुभई त्यहाँस्थित वीर सैनिकको स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रदाञ्जलि व्यक्त गर्नुभयो ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ व्यक्तिहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।

चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानलाई शुक्रबार सैनिक मुख्यालयमा नेपाली सेनाले स्वागत गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

राष्ट्रपति विद्यादेवी भण्डारी र उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले आजै दिउँसो भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री खाँणसँग बिहीबार भएको भेटमा चिनियाँ रक्षामन्त्री चाङले नेपाल र नेपाली सेनालाई दिँदै आएको सहयोगको निरन्तरता हुने विश्वास दिलाउनुभएको थियो ।

चीन र नेपालबीच नङ र मासुको जस्तै सम्बन्ध रहेकाले क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा समेत यसले राम्रो प्रभाव पारेको जनाउँदै चाङले नेपालले एकचीन नीतिअन्तर्गत उत्तरी सीमा सुरक्षामा पुरयाएको योगदानको प्रशंसा गर्नुभएको रक्षामन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसलाई अझ प्रभावकारी बनाउन आवश्यक सहयोग बढाउने तत्परता चिनियाँ पक्षबाट व्यक्त भएको थियो ।

हामी नेपालमा शान्ति, प्रगति र विकास भएको देख्न चाहान्छौँ, हामी नेपालको हित चाहान्छौँ, नेपाली जनताले चाहेजस्तो विकास होस् भन्ने हाम्रो सद्भाव रहेको कुरा रक्षामन्त्री चाङले सो अवसरमा उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री