नेपालमा लगानी- डुब्ने मेसोमात्र

लन्डन । सन् २००३ मा गैर आवासीय नेपाली संघ (एनआरएनए) स्थापना हुनुभन्दा अगाडि नेपालमा लगानी नभएका होइनन् । तर, संघ स्थापनापछि नेपालमा लगानी गर्ने होहल्ला भने पक्कै बढेको छ । त्यसमा संस्थापकहरुलाई यहां म धन्यवाद नदिइरहन सक्दिन । त्यतिमात्रै नभएर एनआरएनलाई नचिन्नेहरुले पनि राम्रोसंग चिन्ने मौका पाए जुन करोडौं रुपैयां खर्च गरेर भएपनि पाउन पक्कै सम्भव थिएन । यसअलवा आफ्नो व्यवसाय फैलाउन पनि संघले मद्दत गरेकामा दुईमत छैन् ।

सुनिन्छ, एनआरएन अगुवाहरुले अत्यधिक सफल हुने व्यवसायमा लगानी गर्न कसैलाई पनि सुईंको दिंदैनन् । तर लगानी जुटाउन सबै देश घुम्न बांकी पनि राख्दैनन्, जसबारे सबैलाई ज्ञान छ ।

यहां म कसैलाई गाली र नराम्रो देखाउन यो लेख लेख्न लागेको होइन । कमाउनुस्, देशमा लगानी बढाउनुहोस्, रोजगारी सृजना गर्नुहोस् र देशको हितमा काम गर्नुस् र भएको नाफाले थप व्यवसाय पनि नेपालमै गर्नुहोस् भन्ने मात्र सन्देश दिन खोजेको हो ।

प्रसंग म आफ्नैबाट शुरु गर्छु । अवसरको खोजीमा जसरी गाउंबाट शहर पसियो, त्यसैगरि काठमाण्डौंबाट पनि विदेश आउने मौका मिल्यो । जसले जे भनेपनि म मेरो व्यवसाय विस्तार गर्न र थप आर्थिक लाभ लिइ केही सिकौं भनेर बेलायत प्रवेश गरेको थिएं । विगत दशक भन्दा लामो बसाइपछि जन्मभूमि देश र आफ्नो लागि थप केही गरौं भन्ने उद्देश्य लिएर गत वर्ष बेलायतस्थित व्यवसायीहरुको सानो टोलीका साथ नेपाल गएं । बेलायतमा नर्सिङ व्यवसाय गरेको अनुभव नेपालको परिप्रेक्ष्यमा अझ बढि आवश्यक तथा अवसर देखेका कारण केही पुराना साथीहरुको सम्पर्क बढाउन थालें । तर दुर्भाग्य भनौं बीसौं वर्षदेखि चिनेको साथीबाट धोका भएर मेरो गत वर्ष शुरु 
गर्नुपर्ने योजना केही ढिला हुन गयो, यसमा शुभचिन्तकहरुप्रति क्षमायाचना ।

यही सिलसिलामा केही साथीहरुसंग मेरो तीतो अनुभव सुनाउंदा थुप्रै सुनिन आए । नाम नबताउने शर्तमा बेलायतवासी नेपालीहरुका एकजना अभिभावकले सुनाएको गुनासोले मेरो आंखा रसाए । ६ दशक उमेर पार गरिसकेपछि अवकासप्राप्त जीवनमा यत्तिकै बस्नुभन्दा बरु नेपालमा व्यवसाय गरि देशको लागि केही गरौं भनेर नेपाल जांदा उहांलाई आफ्नै सहपाठीले धोका दिएर लाखौं गुमाउनुभएछ । अहिले उहां नेपालमा लगानीको ‘ल’ उच्चारण गर्दा पनि आक्रोशित हुनुहुन्छ ।

अर्का मेरा एकजना असल मित्र बेलायतका सफल व्यवसायी हुनुहुन्छ, जो समाजसेवीमा पनि अहोरात्र खटिरहनुभएको छ । उहांको नेपालमा धेरै लगानी छ । तर, दुर्भाग्य एक दुई ठाउं बाहेक अधिकांश व्यवसायमा खन्याएको पैसा डुबिसकेको तीतो अनुभव उहांसंग छ । लगानी डुबेको पनि ठूला भनाउंदाहरुबाटै । अहिले मेरो मित्र न ति ठूलाबडा साथीहरुको नाम लिन सक्नुहुन्छ न त कानुनी कारवाही । अहिले उहांलाई ‘नखाउं भने दिनभरिको शिकार, खाउं भने कान्छा बाबुको अनुहार’ उखान जस्तै भएको छ ।

यसरी करोडौं डुब्दा पनि न त संघ एक शब्द बोलेको छ, न त सुरक्षित लगानीबारे जनचेतना नै । यी यावत झन्झट, लगानी डुब्ने डर, साथीभाइसंग सम्वन्ध चिसिने चिन्ता आदि हुंदा हुंदै पनि प्रतिफलको हिसावले नेपालमा लगानीका थुप्रै क्षेत्रहरु नभएका होइनन् । अन्त पांच वर्षमा प्रतिफल प्राप्त गर्न नसक्ने यो ठाउंमा एकै वर्षमा लगानी फिर्ता लिन सकिने थुप्रै अवसरहरु छन् । त्यसैले नेपालमा लगानी गर्दा सम्बन्धित क्षेत्रको दक्षता, लामो अनुभव बटुलेर सफलता हासिल गरिसकेको व्यक्ति र प्रतिभावान व्यक्ति छान्नुपर्छ । अनि एक पैसा दिंदा पनि व्यक्तिको खातामा नराखी सिधै कम्पनीको खातामा राख्ने र यदि शेयरमा लगानी हो भने शेयरको सर्टिफिकेट र कानुनी प्रक्रिया पुरयाए लगानी डुब्ने सम्भावना कम हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री