विदेशी भूमिमा हामी कसरी सफल बन्ने?

 

नेपाली समाज साउथ एशियाका अरु मुलुकहरुको तुलनामा केही कुराहरुमा उदार मानिन्छ । जस्तै, धार्मिक प्रचलन र संस्कार, समलिंगी सम्बन्ध, जातिय परम्परा आदि कुराहरुमा नेपाली समाज निकै उदार मानिन्छ । नेपाली समाज, परिवार र व्यक्ति बिशेषको आफ्नै बिशेषताहरु छन् । जस्तै मेहेनत गर्न सक्ने, इमान्दार, हँसिलो र मिलन्सार स्वभाव, पारिवारिक एक्यबध्द्ता आदि । यी सबै बिशेषताहरु हरेक समाज र व्यक्तिको लागि उत्तिकै महत्वपूर्ण हुन्छन । त्यसो त नेपाली समाजमा अझै पनि केही रुढिवादी कुसंस्कार र विसंगतिहरू नभएका हैनन् ।

त्यस्तै, राजनीतिक चेतनाको हिसाबले पनि नेपाली समाज निकै माथि छ । त्यसैले त नेपालमा धेरै ठूला राजनीतिक परिवर्तनहरु सम्भव भए । एउटा विकाशोन्मुख  मुलुक भएर पनि त्यो तहको चेतना र परिवर्तन हुनु ठूलो कुरा हो । हुन त त्यति ठूलो परिबर्तन हुँदा पनि किन हामी नेपालीहरुले त्यसलाई संस्थागत  गराउन र त्यसको प्रतिफल आमनेपाली जनतालाई दिन सकेका छैनौ भन्ने मुलभूत प्रश्नहरु पनि उठ्ने गरेका छन् ।  यो निकै गंभिर र सोचनीय प्रसङ्ग हो । त्यसैले यो बिषयको बारेमा छुट्टै चर्चा गर्नेछु ।

अहिले यो लेखमा भने विदेशी भूमिमा नेपालीहरुले भोग्ने समस्याहरु र तिनका निराकरणका बारेमा केही कुरा गरुँ । मेरो विचारमा नेपाली समाज र नेपालीहरुको त्यति धेरै विशेषता हुँदाहुदै पनि नेपालीहरुले बिदेशमा गएर अरुको तुलनामा त्यति धेरै प्रगति र उन्नति गरेको देखिदैन । त्यसो त हरेक मुलुकमा धेरै थोरै संख्यामा आफ्नो क्षेत्रमा उल्लेख्य प्रगति र उन्नति गर्ने नेपालीहरु नभएका भने हैनन् । तर यो संख्या निकै सानो छ । आजको यो लेखमा हामी नेपालीहरु विदेशी भूमिमा किन धेरै सफल हुन सक्दैनौ र नेपालीले बिदेशमा उन्नति र प्रगति गर्न के गर्नु पर्ला भन्ने विषयमा मेरो व्यक्तिगत बिचार राख्ने जमर्को गर्दैछु ।

तल उल्लेख गरेका कुराहरु मेरो व्यक्तिगत अनुभवको आधारमा उल्लेख गरेको हुँ । त्यसैले, मेरा विचारको बारेमा धेरै बहस र तर्कवितर्क गर्न सकिन्छ । मेरो विचार र मेरो यो लेख नै समस्याहरुको पूर्ण सूची, समाधानको उपाय, अन्तिम सत्य वा निस्कर्ष नहुन पनि सक्छ ।

शिक्षा भाषा:

प्रथमत: नेपाली समाजले नेपाल र विदेशमा गर्ने प्रगति र उन्नतिको कुरा गर्दा नेपाली शिक्षा प्रणालीलाई हेर्नु आवश्यक हुन्छ । नेपाली शिक्षामा अहिले पनि कसरी  सिप र दक्षता सिक्ने भन्दा पनि कसरी धेरैभन्दा धेरै अंक ल्याउने भन्ने विषयलाई प्राथमिकता दिने गरिन्छ । तसर्थ नेपालमा मास्टर गर्ने वा उच्च शिक्षा लिनेहरु विदेशमा आएर आफूलाई खरो प्रतिस्पर्धामा उतार्न सक्दैनन् । त्यस्तै, विकशित देशको तुलनामा नेपालको समग्र शिक्षाको गुणस्तर अहिले पनि त्यति सन्तोषजनक छैन । केही सीमित निजी स्कूलमा पढ्ने थोरै संख्याका नेपालीको बाहेक अधिकांश सामुदायिक र निजी स्कूलमा पढ्नेहरुमा त्यति धेरै आत्मविस्वास छैन । त्यस्तै विदेशमा सक्षम र सबल बन्नको लागि जुन किसिमको ज्ञान, सीप र दक्षता चाहिने हो, त्यो हामी अधिकांशमा पक्कै हुँदैन ।

शिक्षासंगै जोडिएर आउने अर्को कुरा भाषा हो । नेपाली शिक्षामा अंग्रेजी भाषाबाहेक अरु भाषाले प्रवेश बिरलै पाउँछ । समग्रमा नेपालमा अंग्रेजी भाषाको स्तर पनि त्यति धेरै राम्रो छैन । हामीले दश कक्षासम्म अंग्रेजीमा बोलचाल गर्ने अधिकांश शब्दहरु जानी सके पनि हामी विदेशमा बस्ने नेपालीहरुमा अंग्रेजी बोल्ने त्यति धेरै आत्मविश्वास हुँदैन । तसर्थ पनि हामी अलिकति पछाडि पर्ने गर्छौ । अंग्रेजी भाषा जान्नेलाई पनि भाषासंग सम्बन्धित अरु कुराहरुको पनि समस्या हुन सक्छ ।  जस्तै, भाषा बोल्ने तरिका, हाउभाउ, शब्दहरु उच्चारण गर्ने तरिका  आदि ।  त्यसैले पनि विदेशमा बस्ने हामी नेपालीलाई समस्या हुन सक्छ ।

अहिलेको जमाना नै प्रतिस्पर्धाको छ । नेपालीहरुले अरुसँग गर्नु पर्ने प्रतिस्पर्धा के कस्तो छ र त्यसको लागि हामी कति तयार छौ भन्ने कुरा पनि अर्को विचारनीय पक्ष हो । त्यसैले विदेशी श्रम बजारमा सफल हुनको लागि समग्रमा सीप र श्रम बजारको माग र पूर्तिको अध्ययन गरी सोही अनुरुप आफूलाई प्रतिस्पर्धामा उतार्ने गरी आवस्यक सीप, ज्ञान र दक्षता हासिल गर्नु अपरिहार्य हुन्छ ।

ठाउँको छनौट:

हामी नेपालीहरु प्रायजसो आफ्ना नाता वा साथीभाईहरु जता छन् त्यतै आफ्नो बसोबास गर्ने ठाउँ रोज्ने गर्छौ । त्यो कुरा विदेश आउँदाको शुरुका दिनहरुमा स्वाभाविक पनि हो । त्यसो गर्दा नेपालीहरु एउटा सिमित सहर वा ठाउँमा झुण्ड रुपमा बस्ने गर्छौ । त्यसो गर्दा हामी नेपालीहरुको नेपालीहरु बिचमा नै काम खोज्ने र गर्ने प्रतिस्पर्धा हुन्छ । धेरै नेपालीहरुको उच्च किसिमको सिप र दक्षता नहुने भएको र उस्तै उस्तै सिप हुने भएकोले उच्च प्रतिस्पर्धा भै काम नपाउने वा काम पाउन गारो हुने गर्छ ।

त्यसो त यसरी एकै ठाउँमा बस्दा नेपालीले नेपालीलाई नै काम खोज्न सहयोग गर्ने धेरै उदाहरणहरु पनि छन् । हरेक मुलुकमा हरेक ठाउँ र शहरको आ-आफ्नै बिशेषता र मौलिकता हुन्छन । त्यसैले जुन सहरमा वा ठाउँमा आफूसँग भएको सिप र ज्ञान अनुसारको कामको उच्च माग छ त्यही बसोबास गर्नु पनि सफलताको अर्को विकल्प  हुन सक्छ । साथै त्यो नयाँ ठाउँमा कुन कुन बिषयमा तालिम र उच्च शिक्षाको अवसरहरु छन् त्यो पनि खोज्नु र अवसर पाएसम्मको तालिम र सिप लिनु पनि आवस्यक छ ।

साथीभा अरुको संगत सरसल्लाह

मेरो व्यक्तिगत अनुभवमा हामी विदेश आउने बित्तिकै काम वा श्रम बजारमा प्रवेश गर्नको लागि धेरै जसो सरसल्लाह आफ्नो नजिकको वा चिनजानको साथीभाई र आफन्तको लिने गर्छौ । यो स्वाभाविक पनि हो । तर हाम्रा चिनजानको मानिससंग श्रम बजारको र व्यक्ति बिशेषको बारेमा सही ज्ञान र जानकारी नहुन पनि सक्छ । त्यसो त हामी नेपाली अरुलाई अर्ति वा उपदेश दिनको लागि माहिर नै छौ । जसले जे सल्लाह मागे पनि हामी तुरुन्त आफूलाई दक्ष ठानी निशुल्क सल्लाह दिने गर्छौ, चाहे आफूलाई कुनै बिषयको बारेमा जानकारी होस् वा नहोस । त्यो भन्दा थप कुरा के भने, अरुको सल्लाह आफ्नो सिप र रोजाईको लागि उपयुक्त हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । त्यसैले, अरुसँग सरसल्लाह गरे पनि त्यो भन्दा बढी आफूले नै स्वन्तन्त्र रुपमा हरेक सिप, ज्ञान र श्रम बजारको बारेमा अनुसन्धान र थप जानकारी हासिल गरी तथ्य र सत्य थाहा पाएर काम वा पेशा छनौट गर्नु बुद्धिमानी हुन्छ ।

बिदेशी समाजमा घुलमिल:

बिदेशी भूमिमा सफल हुनको लागि एउटा अनिवार्य शर्त कुनैपनि व्यक्ति बिदेशी समाजमा कत्तिको घुलमिल हुन सक्छ र कसरी कामका लागि उपयुक्त हुने बिदेशी चलन, मान्यता र संस्कृती अङ्गीकार गर्न सक्छ भन्ने पनि हो । हरेक देशमा प्राय: जसो कार्यालय वा संस्थाहरुको आ-आफ्नै मान्यता, कार्यशैली, संस्कार र सांगठानिक मूल्यहरु हुन्छन । त्यसैले आफ्नो काममा वा पेशामा सफल हुनको यी सबै कुराहरुलाई ध्यान दिदैं आफ्नो कार्यस्थान वा संगठनमा समेत सफल हुनु आवस्यक हुन्छ । र, हामीजस्तो लचक नेपाली समाजमा हुर्केका हामीलाई यो मामिलामा बिशेष गरी हामी नेपालीलाई त्यति गारो नपर्ने कुरा हो जस्तो लाग्छ मलाई ।

आफ्नो रुचि अनुसारको काम, पेशा वा व्यवसायको छनौट:

हामी नेपालीहरु धेरैजसो काम, व्यवसाय वा पेशाको छनौट गर्दा आफ्नो मनको चाहना र रोजाई भन्दा पनि अरुको देखासिकीबाट धेरै प्रभावित हुन्छौ । अरुले के काम गरेका छन्, कसले कुन काम वा व्यवसायबाट कति पैसा र सफलता आर्जन गरेका छन्, त्यही काम रोज्ने र त्यसैबाट प्रभावित हुने गर्छौ । हरेक मानिससँग हरेक कुरा गर्ने क्षमता र गुण समान हुँदैन । अरुको देखासिकी गर्दा हामी अरुको र आफ्नो क्षमता र गुणको तुलना गर्दैनौ, केवल अरु सफल भएको देखेर आफू पनि त्यस्तै सफल हुने चाहना राख्छौ । त्यसैले पनि धेरै मानिसहरु बिदेशी भूमिमा सफल हुन सक्दैनन । वास्तबमा कुनै पनि काम, पेशा र व्यवसायमा सफल हुनको लागि मनदेखिको समर्पण, काम गर्ने तिब्र इच्छा र सोही अनुसारको लगाव हुनु जरुरी हुन्छ । मनदेखि काम नगरे कुनै पनि काममा सफलता हाँसिल गर्न सकिंदैन । जुन काम गर्दा आफ्नो क्षमता, गुण र सिपको सही सदुपयोग हुन्छ र आफ्नो मन खुसि हुन्छ त्यही काम छनौट गर्नु बुद्धिमानी हुन्छ । त्यसो गर्दा कुनै पनि पेशा, व्यवसाय र काममा सफल हुने धेरै सम्भावना हुन्छ ।

महत्वाकांक्षा, परिश्रम निरन्तरता:

कुनै पनि काम, पेशा वा व्यवसायमा सफल हुनको लागि चाहिने अनिवार्य शर्तहरु भनेको उच्च महत्वाकांक्षा, कडा परिश्रम र काममा निरन्तरता नै हो । सबैभन्दा पहिले कुनै कुरा पाउने लक्ष्य राखी सपना देख्ने वा महत्वाकांक्षा राख्नु नै सफलताको पहिलो खुड्किलो हो । अनि, त्यो सपना पूरा गर्नको लागि कडा परिश्रम गर्नु पर्यो । आफूले मात्रै हैन आफ्नो परिवार र समाजलाई पनि सोही अनुरुप प्रेरणा दिनु पर्छ । साथसाथै, काममा निरन्तर लाग्ने, खटिने र सबै प्रकारको समस्यासँग जुध्न पनि तयार हुनु पर्छ । चाहे नेपालमा होस् वा विदेशमा नै किन नहोस नेपाली समाजमा ब्याप्त एउटा समस्या भनेको अरुको खुट्टा तान्ने प्रवृति, गुट र फुटको राजनीति गर्ने चलन हो । यो व्यक्ति र परिवारदेखि समाजको हरेक तहमा ब्याप्त छ । त्यसैले अरुले जे भने पनि जसो गरे पनि आफूलाई आफ्नो लक्ष्यमा अडिक राख्दै कडा परिश्रम गर्दै निरन्त्तर काममा लाग्न सक्नु पर्छ । अरुले के भन्छन र अरुको आँखामा आफूलाई के देख्छन भन्ने कुरा वास्ता नगरी सही मार्ग पहिचान गर्ने र सोही अनुरुप सफलताको शिखर चुम्ने लक्ष्य राखी काम गर्नु पर्छ ।

माथि उल्लेखित कुराहरु सामान्य रुपमा हरेक देशमा बस्ने नेपालीहरुको हकमा लागु हुने कुराहरु हुन् । हरेक देश वा क्षेत्र बिशेषमा लागु हुने अरु धेरै कुराहरु पनि हुन सक्छन, जुन यो सानो लेखमा समेट्न सकिन । जस्तै, कुनै देशको श्रम नियम, भाषा, संस्कृती, शिक्षा प्रणाली आदि । थप कुरा के भने हरेक व्यक्ति र परिवारको सोचाई, मूल्य र मान्यतामा पनि त्यस्ता कुराहरु फरक हुन सक्छ । जस्तै, कुनै परिवारले आफ्नो परिवारको सदस्यलाई दिने दवाब, परिवारको चाहना र सुझावले पनि त्यस्ता कुरालाई प्रभावित पर्न सक्छ ।

समग्रमा भन्नु पर्दा बिदेशमा बस्ने हामी नेपालीहरुले धेरै किसिमको समस्याहरु भोग्ने गर्छौ । त्यस्ता समस्याहरु व्यक्ति विशेषमा फरक-फरक हुन पनि हुन्छन । मुख्य कुरा भनेको त्यस्ता समस्याहरुलाई बेलैमा पहिचान गर्ने, समस्याहरु निराकरण गर्न अग्रसर हुने र निराकरण गर्ने हो । त्यसपछि निश्चय पनि आफूलाई कुनैपनि  बिदेशी भूमिमा पनि सफल कर्मवीर बनाउन र सफलताको शिखर चुम्न सकिन्छ । अस्तु ।

(यो लेखका लेखक डा. बच्चु कैलाश कैनी क्वीन एलिजावेथ अस्पताल, लण्डनको बरिष्ठ व्यवस्थापक; ग्रीनवीच स्कूल अफ म्यानेजमेन्ट, लण्डनको  एसोसिएट लेक्चरर र एनआरएन यूके को सल्लाहकार हुनुहुन्छ ।)  

प्रतिक्रिया

सम्बन्धित सामाग्री