मुलुकभरका शिवालयमा दर्शनार्थीको घुइँचो

झापाको अर्जुनधारा जलेश्वरधाममा महाशिवरात्रीको अवसरमा शुक्रबार पूजा–अर्चना गर्दै श्रद्धालु भक्तजन । तस्वीर ः सन्तोष शर्मा, बनियानी( झापा), रासस

भक्तपुर, १३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरलगायतका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा आउने दर्शनार्थीलाई सहज दर्शनको व्यवस्था मिलाउन मन्दिरको चारैवटा ढोका आज बिहान– ४ बजेदेखि खुल्ला गरिएको छ ।

अरु दिन मन्दिरको एउटा ढोका मात्रै खुल्ला गरिने भए पनि आज भने दर्शनार्थीको लागि चारैवटा ढोका खुल्ला गरेर सहज रुपमा दर्शन गर्ने व्यवस्था गरिएको मन्दिर संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले बताउनुभयो ।

मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीको भिड लागेको छ, उहाँले भन्नुभयो – आज मध्यराति १२ बजेसम्म चारवटै ढोका खुल्ला गरेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

मन्दिरमा यसवर्ष ८० हजारदेखि १ लाखसम्म दर्शनार्थी आउने अनुमान गरिएको बताउँदै उहाँले त्यसका लागि आवश्यक सुरक्षाकर्मी, स्वयम्सेवक परिचालन गर्नुका साथै व्यवस्थित रुपमा लाइन बसेको आधा घन्टाभित्र दर्शन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

महाशिवरात्रिका दिन पञ्चस्नानका लागि एक हजार १०१ र चार पहर पूजाका लागि ११ हजार १११ रुपैयाँको रसिद काटेर पूजामा सहभागी हुन पाउने व्यवस्था गरिएको समितिका प्रचारप्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिनुभयो ।

पर्वका लागि आएका छ सय साधुसन्त तथा नागाबाबालाई समितिले खाने बस्ने, धुनी बाल्न दाउराको व्यवस्था गरिएको छ । त्यस दिन मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई मानव सेवा सङ्घ कुलेश्वरको तर्फबाट दर्शानार्थीलाई निःशुल्क प्रसादको व्यवस्था गरिएको छ ।

शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधुसन्त र बाबामध्ये ‘क’ वर्गलाई रु एक हजार १११, ‘ख’ वर्गलाई रु ७७७ र ‘ग’ वर्गका लागि रु ५५५ दक्षिण तथा एकएक थान कम्बल, दुई-दुई थान धोती र एकएक थान कमण्डल प्रदान गरी बिदाई गरिने भएको छ ।

महाशिवरात्रि पर्व सम्पन्न गर्न करिब रु २० लाख खर्च हुने अनुमान गरिएको छ । त्यसैगरी सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइचो लागेको छ । डोलेश्वर आउने अधिकांश दर्शनार्थी आशापुरी जाने गरेपछि यसवर्ष आशापुरीमा पनि दर्शनार्थीको भीड लागेको हो ।

यता भक्तपुरको चित्तपोलस्थित विश्वकै अग्लो मानिने एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मन्दिरमा पनि बिहान– ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।

शिवरात्रि–शक्तिपीठमा पूजापाठ 

पूर्वी नेपालको शिवालय र शक्तिपीठहरुमा पनि आज बिहानैदेखि हिन्दू धार्मिक परम्पराअनुसार भक्तजनले निष्ठापूर्वक पूजापाठ गरिरहेका छन् ।

विशेषगरी बराहक्षेत्र शक्तिपीठ, धरानको पीण्डेश्वर शिवालय इटहरीको राधाकृष्ण मन्दिर र रामधुनीलगायतका क्षेत्रमा पूजाअर्चनाका लागि विहानैदेखि भक्तजनको घुइँचो लागेका छन् ।

शिवरात्रिका दिन शिवालयमा भक्तिपूर्वक पूजापाठ गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

क्षीरेश्वरनाथ महादेव स्थानमा भक्तजनको भीड 

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ७ स्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजाआर्चनाका लागि आज बिहानैदेखि भक्तजनको घुइँचो लागेका छन् ।

स्वस्थानी वर्तकथामा उल्लेख गरिएको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको क्षीरेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चनाका लागि आज बिहानै– ४ बजेदेखि नै भक्तजनले हातमा फूलमाला, बेलपत्र, धतुरो, मिष्ठान तथा फलफूलसहित लामवद्ध बसेका छन् ।

पूजाअर्चनाका लागि यहाँ धनुषा, महोत्तरी तथा भारत बिहार राज्यका मधवापुर, मठिहानी, भिठ्ठामोड, सुरसन्ड र सितामढी जिल्लालगायत स्थानबाट आउने गर्छन् । त्यस्तै, जनकपुरस्थित शिव मन्दिरमा, कपिलेश्वस्थित महादेव मन्दिर तथा बटेश्वरस्थित शिव मन्दिरलगायतका विभिन्न शिवालयमा दर्शनार्थीको भीड लागेको छ ।

आजको दिन शुद्ध भई शिवको पूजापाठ तथा व्रत बस्नाले सुख, समृद्धि तथा दीर्घायु हुने जनविश्वास छ ।

सिद्धबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो 

रामपुर नगरपालिका– ११ भुजातस्थित सिद्धबाबा मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेका छन् ।

कालीगण्डकी नदीको तटमा अवस्थित तथा रामपुर नगरपालिकाको पर्यटकीय धार्मिक क्षेत्रको रुपमा रहेका यस मन्दिरमा बिहान ६.३० बजेदेखि नै पूजा सुरु भएको छ । मन्दिर परिसरमा बहानैदेखि अखण्ड भजनकीर्तन भइरहेको छ भने नवनिर्मित बुद्ध मूर्तिको प्राण प्रतिष्ठासमेत गरिएको छ । मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेपछि यसवर्ष विगतका वर्षको तुलनामा पूजाआजा गर्नेको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

यहाँ मन्दिरमा पूजाआजा गर्न आउने दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै चाँपाकोट नगरपालिका–५ को चितुवा खोल्सीबाट कालीगण्डकीमा रयाफ्टिङसमेत सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री