काठमाडौँ, ७ फागुन । स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चालाई बोलाएर प्रधानमन्त्री प्रचण्डले निर्वाचन र संशोधनबारे नेताहरुसँग राय माग्नुभएको हो ।
यी विषयमा लामो छलफल भए पनि दुवै पक्षको अडानका कारण कुनै सहमति भने जुट्न सकेन ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले मोर्चासँग संविधान संशोधन र निर्वाचनसँगै अघि बढाउन प्रस्ताव गर्नुभएको थियो भने मोर्चाका नेताले संविधान संशोधन नभई कुनै पनि निर्वाचनमा जान नसकिने अडान लिएका थिए ।
प्रधानमन्त्रीले राजनीतिक गतिरोधको अन्त्यका लागि स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नभएकामा जोड दिँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई सँगसँगै अघि बढाउने सरकारको तयारीमा सहयोग गर्न मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्ने हो भने वैशाखको अन्त्य र जेठको सुरुमा निर्वाचन गर्न कठिन हुने प्रधानमन्त्रीको धारणा थियो ।
प्रधानमन्त्री प्रचण्डले फागुन १० गतेबाट सञ्चालन हुने संसद्मा संविधान संशोधन प्रस्ताव अघि बढाउने जानकारी दिँदै सरकारले गर्ने स्थानीय तहको मिति घोषणामा समर्थन गर्न आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्रीले मुलुकको अवस्थालाई मध्यनजर गरी निर्वाचन र संशोधनलाई अघि बढाई सरकार निर्वाचनको तयारीमा रहेको जानकारी गराउनुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा स्थानीय तहको निर्वाचनमा जान कठिन हुने बताउँदै संविधान संशोधन प्रस्तावको टुङ्गो नलागेसम्म निर्वाचनमा जान नसकिने धारणा राख्नुभएको थियो ।
मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधन अघि निर्वाचनमा जान नसकिने धारणा प्रधानमन्त्रीसमक्ष राखेको बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइराला, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि तथा मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी हुनुहुन्थ्यो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार