
काठमाडौँ, २९ माघ । बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ ।
दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएको ड्रोन क्यामेरासहितको समूहले आजदेखि गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतार्ने अभियन्ता उमेश बोहराले बताउनुभयो ।
“गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौँ महानगरपालिकाको सिनामङ्गलदेखि मीनभवनसम्म र काठमाडौँ महानगरपालिकाकै टेकुपुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म गरी तीन समूहमा विभाजन गरी नदीमा फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख तस्बिर मार्फत उतार्न सरकारसँग स्वीकृति लिइएको छ”–उहाँले भन्नुभयो ।
ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सम्बन्धित महानगरपालिका, उपमहानगरपािलका र नगरपालिकामा बुझाइने भएको छ । ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आउन चार दिन लाग्ने सफाइ महाअभियानले जनाएको छ ।
ड्रोन क्यामेराबाट तस्बिरसहितको प्रतिवेदन लिन दक्षिण कोरियाबाटै पाइलट पिटर पार्क र जिजुन फङ नेतृत्वको समूह काठमाडौँ आएको छ ।
प्रत्येक हप्ताको शनिबार झैँ आज पनि उपत्यकाका प्रमुख नदी सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
बागमती सफाइ महाअभियानको १९६ औँ हप्तामा आज मीनभवन पुल क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको बागमती सफाइका अभियन्ता उमेश बोहराले बताउनुभयो ।
सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी ५०० बढी व्यक्तिको सहभागिता थियो । सफाइको नेतृत्व चीनका लागि पूर्व नेपाली राजदूत डा महेश मास्के, जीवन विज्ञान नेपालका एलपी भानु शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार भट्टराईलगायतले गर्नुभएको थियो ।
सफाइसँगै एक समूहले घर दैलोमा गई जनचेतामूलक अभियान सञ्चालन गर्ने क्रममा मीनभवन क्षेत्रको सडक किनारमा फोहर फाल्नेबाट रु १५ हजार जरिवानास्वरुप उठाइयो ।
रुद्रमती सफाइको १५६ औँ हप्तामा आज भत्केको (पहेँलो) पुलदेखि कालो पुलसम्मको क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।
सफाइमा काठमाडौँ महानगरपालिकाका वडा नं ४, ५, ७, ९ र ३३ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारी लगायतको सहभागिता थियो । सफाइमा समाज, वातावरण संरक्षण अभियान, नेपाल प्रहरी, सामुदायिक प्रहरी, विपद् व्यवस्थापन प्रहरी, नेप्से म्याक प्रालिलगायतको सहभागिता थियो । सो अवसरमा प्रसिद्धि कला समूहले जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना गरयो ।
विष्णुमती सफाइको १२८ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । महादेव खोलाको सफाइमा स्थानीयवासी उल्लेख्य सहभागी भएको अभियानकर्मी विजेन्द्र लामाले बताउनुभयो ।
स्थानीय वृद्धको समूहले भजनसहितको जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरेका थिए । तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा सफाइ सञ्चालन गरिएको थियो ।
नख्खु खोला सफाइको ७१ औँ हप्तामा आज नख्खु पुल वारिपारि सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बलुदेव पाण्डेले बताउनुभयो ।
यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरापाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् ।
विसं २०७० जेठ ४ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो । बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्न समेत स्थानीयवासी जुटेका छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने