क्यान्सरका कारण नेपालमा प्रत्येक वर्ष १५ हजारको मृत्यु

 

ललितपुर, २२ माघ । सन् २०२५ सम्म विश्वभरि एक करोड ९३ लाख क्यान्सरका बिरामी हुनसक्ने एक तथ्याङ्कले देखाएको छ ।

उक्त बिरामीका सङ्ख्यामध्ये प्रत्येक वर्ष ५६ प्रतिशतका दरले मृत्यु हुनेसमेत विभिन्न अध्ययन अनुसन्धानबाट देखिएका छन् । विश्वभरिबाट वार्षिक ८२ लाख क्यान्सर बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

नेपालमा मात्र हरेक वर्ष १५ हजार मानिस क्यान्सरका कारण अकालमा मृत्यु हुनुपरेको नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका प्रमुख एवम् क्यान्सर विशेषज्ञ डा सुदीप श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हाल यहाँ ५० हजारको सङ्ख्यामा क्यान्सरका रोगी रहेका छन् ।

विकसित देशमा भन्दा विकासोन्मुख मुलुकमा क्यान्सरका बिरामी बढ्दोक्रममा छ, डा. श्रेष्ठले भन्नुभयो— खासगरी गरिबीले ग्रस्तभएका देशमा यो रोगको प्रभाव बढी देखिने गरेको छ ।

सूर्तिजन्य बस्तुको सेवनले क्यान्सरका बिरामी दिनानुदिन बढ्दै गएको उहाँले बताउनुभयो । यसबाहेक पोलेको मासु खानाले पनि क्यान्सर लाग्ने गरेको बताइएको छ ।

शारीरिक व्यायामको कमी, अधिक मात्रामा मासु तथा नुन खानु, बासी खानाको प्रयोग, वंशाणुगत, सूर्यको किरणबाट समेत क्यान्सर हुने गरेको डा. श्रेष्ठको भनाइ छ । नाक, कान, घाँटी, फोक्सो, आमाशय, ठूलो आन्द्रा, महिलाको स्तन तथा पाठेघरमा बढी क्यान्सर हुने गरेको जनाएको छ ।

क्यान्सर बिरामीको उपचार महङ्गो हुने भएकाले यसलाई सरल र सहज बनाउन व्यक्तिको बिमा भए सकारात्मक हुने उहाँले बताउनुभयो ।

क्यान्सर उपचारका लागि केमोथेरापी, रेडियोथेरापी तथा विभिन्न औषधिको प्रयोग गरिने गरेको भक्तपुर क्यान्सर अस्पतालका प्रमुख लोकेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

अस्पतालले क्यान्सरका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरिँदै आएको छ, उहाँले भन्नुभयो— महिला भन्दा पुरुषमा क्यान्सर बढी देखिएको छ । दैनिक रुपमा सेवन गर्ने खानपानमा उचित ध्यान दिनसके क्यान्सर बिरामीको सङ्ख्या न्यून हुनसक्ने डा. श्रेष्ठको भनाइ छ ।

‘रासायनिक समिश्रणलाई तयार पारेर बनाइएको औषधिलाई बिरामीको मुख तथा नसामार्फत क्यान्सरको कोषिका नष्ट गर्ने वा रोगबाट उत्पन्न पीडालाई कम गर्ने उपचार प्रविधि नै केमोथेरापी हो–’ उहाँले भन्नुभयो । रेडियसन अनकोलोजी अन्तर्गत टेलिथेरापी, ब्राची थेरापी र सिमुल्याटर उपचार प्रविधि रहेको पनि डा. श्रेष्ठले बताउनुभयो ।

क्यान्सर रोगी न्यून गराउन गाउँ–गाउँमा जनचेतना फैलाउनु आवश्यक रहेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेलले भन्नुभयो — बिरामीको उपचार सुलभ बनाउन राज्यको तर्फबाट आवश्यक सहयोग भइरहेको छ ।

क्यान्सर दिवसमा मात्र सिमित नभएर यो रोग विरुद्ध अन्य समयमा पनि सर्वसाधारणमा जनचेतना फैलाउन सके सकारात्मक सन्देश जाने उहाँले बताउनुभयो ।

क्यान्सर विरुद्ध तयार पारिएको “हामीले गर्न सक्छौं, मैले गर्न सक्छु” भन्ने नाराका साथ क्यान्सर दिवस मनाउँदै गर्दा यसले कति सार्थक रुप लिन सकिएला त्यो भने हेर्न बाँकी नै छ ।

अङ्ग्रेजी वर्षको फेब्रुअरी महिनाको ४ तारिखका दिन विश्व क्यान्सर दिवस मनाउँदै आएको छ । यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री