घलेगाउँमा पर्यटकीय सङ्ग्रहालय

सार्क राष्ट्रकै नमुना घोषित लमजुङको पर्यटकिय घलेगाउँ । तस्वीर ः सन्देश पौडेल, लमजुङ, रासस

बँेसीसहर (लमजुङ), २२ माघ । सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँमा पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको छ । पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको हो ।

सङ्ग्रहालयमा स्थानीय गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तु निर्माण गरिएका छन् । सङ्ग्रहालयमा गुरुङ संस्कारअन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने विधि तथा सामग्री राखिएका छन् ।

“सङ्ग्रहालय गुरुङ संस्कार र सस्कृतिको खुला विद्यालय हो, यहाँबाट पर्यटकले हाम्रो संस्कार र संस्कृतिको बारेमा सजिलै थाहा पाउनेछन्,” घलेगाउँ ग्रामीण पर्यटन समितिका अध्यक्ष प्रेम घलेले भन्नुभयो ।

प्राकृतिक सौन्दर्य हेर्न तथा स्थानीय होमस्टेको अनुभव लिन देश विदेशबाट पर्यटक घलेगाउँ आउने गर्दछन् । सङ्ग्रहालय बनेपछि गुरुङ संस्कृति जान्न र अध्ययन गर्न चाहने देश विदेशका पर्यटक अझै थपिने अध्यक्ष घलेको विश्वास छ ।

घलेगाउँमा वार्षिक ३० हजार भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । प्राकृतिक दृश्यावलोकन, होम स्टे, स्थानीय चिया बगानसँगै यहाँको आतिथ्यता यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् ।

घलेगाउँमा निर्माण भएको पर्यटकीय सङ्ग्रहालय शनिबार उद्घाटन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री