
काठमाडौँ, २१ माघ । नेपालको विद्युत् प्रसारण प्रणाली एकीकृत हुन नसक्दा भोल्टेजलगायतका समस्या व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । खिम्ती–ढल्केबर र हेटाँैडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन प्राधिकरणको केन्द्रीय प्रसारण लाइनसँग जोडिएपछि भोल्टेजमा देखिएको उतारचढाव कम भएको छ ।
ढल्केबरबाट आयात भएको विद्युत् प्रवाहका लागि विभिन्न चारवटा प्रसारण लाइन एकीकृत रुपमा सञ्चालनमा आएपछि भोल्टेजको समस्या समाधान भएको हो । ढल्केबरबाट खिम्ती जोडिएको छ भने ढल्केबरबाटै हेटौँडा पनि जोडिएको छ । यस्तै पूर्व जाने प्रसारण लाइनको हबसमेत ढल्केबरमा नै रहेको छ ।
एकैस्थानबाट बढी विद्युत् प्रवाह गराउँदा समस्या आएपछि प्राधिकरणले विभिन्न उपाय अवलम्बन गर्दै आएको थियो । वैकल्पिक प्रसारण लाइन निर्माण एवम् सञ्चालनमा आएपछि विद्युत् आप्रवाहमा समस्या समाधान भएको र मुलुकभर नै स्वच्छ ऊर्जा प्राप्त हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
अघिल्लो सातादेखि नै भोल्टेजमा देखिएको समस्या समाधान भएको र वीरगन्ज औद्योगिक करिडोरमा परेको समस्यासमेत समाधान भएको उहाँको भनाइ छ । विगत १७ वर्षदेखि अवरुद्ध हुँदै आएको खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको प्रसारण लाइन र अन्य प्रसारण लाइनबीच समेत एकरुपता कायम भएको छ ।
भारतबाट थप २५ मेगावाट विद्युत्समेत थप भएको छ । आन्तरिक रुपमा समेत प्रसारण लाइनको क्षमता विस्तार भएको र विद्युत् प्रवाह नियन्त्रण यन्त्रसमेत विभिन्न सवस्टेसनमा जडान भएका कारण भोल्टेजमा देखिएको समस्या समाधान भएको प्राधिकरणको भनाइ छ ।
औद्योगिक क्षेत्रमा नै सबैभन्दा बढी भोल्टेजमा समस्या हुँदै आएको थियो । विद्युत् प्रवाह नियन्त्रण यन्त्र (स्टेपलाइजर) नहुँदा सबैभन्दा बढी वीरगन्ज औद्योगिक करिडोरमा रहेका उद्योग तथा व्यवसायी सबैभन्दा बढी मारमा परेका थिए ।
वीरगन्ज उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले ऊर्जा मन्त्री, ऊर्जा सचिव र प्राधिकरणका कार्यकारी प्रमुखलाई भोल्टेजको समस्या समाधान गरिदिन पटक पटक आग्रह गर्दै आउनुभएको थियो ।
आफूहरुको मागअनुसार पछिल्लो दिनमा भोल्टेजमा देखिएको समस्या सुधार हुँदै गएको भए पनि अझै धेरै गर्न बाँकी रहेको उहाँको भनाइ छ । भोल्टेजमा हुने उतारचढावका कारण वीरगन्ज औद्योगिक करिडोरका धेरैजसो उद्योगले स्वच्छ ऊर्जा पाउन सकेका थिएनन् जसबाट औद्योगिक उत्पादनसमेत प्रभावकारी हुन नसकेको तथा सामान खेर फाल्नुपर्ने अवस्था आएको थियो ।
पूर्वाञ्चलमा कुनै समस्या आए पनि तत्काल निरुपण गर्न सहज भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । ढल्केबर–खिम्ती प्रसारण लाइन काठमाडौँमा जोडिएपछि त्यसले काठमाडौँ उपत्यकाको मात्रै नभई छुट्टाछुट्टै रहेको प्रसारण लाइनसमेत एकीकृत रुपमा सञ्चालन हुन थालेको छ ।
खिम्तीको विद्युत् वर्षायाममा लामोसाँघु–काठमाडौँ हुँदै तराई लैजानुपर्ने अवस्थाको समेत अन्त्य भएको छ । त्यसले प्रसारण लाइनमा नै हुने १० मेगावाट विद्युत् चुहावटसमेत नियन्त्रण हुने खिम्ती–ढल्केबर आयोजनाका प्रमुख श्यामकुमार यादव बताउनुहुन्छ ।
प्रमुख यादवले सो प्रसारण लाइनको डबल सर्किट पूर्णरुपमा सञ्चालनमा आएपछि करिब सात सय मेगावाट विद्युत् आयात तथा निर्यात गर्न थप सहज हुनेछ । हाल ढल्केबरबाट खिम्ती हुँदै काठमाडौँमा ८० मेगावाट विद्युत् प्रवाह भएको छ । त्यसमा हिमाल हाइड्रोको ३३ मेगावाट विद्युत् पनि जोडिएको छ । जग्गा प्राप्तिमा रहेको समस्याका कारण प्राधिकरणको नयाँ खिम्ती सवस्टेसन निर्माणमा ढिलाइ भई भारतबाट आयातित विद्युत् हिमाल हाइड्रोको सवस्टेसनमै समायोजना गरेर काठमाडौँ जोडिएको हो ।
मुलुकमा सञ्चालनमा रहेका अधिकांश प्रसारण लाइन १३२ केभिएको रहिरहेको सन्दर्भमा खिम्ती–ढल्केबर प्रसारण लाइनको क्षमता २२० केभी रहेको छ । त्यसले नै भोल्टेजमा देखिएको उतारचढावलाई हल गरेको र स्वच्छ एवम् सन्तुलित ऊर्जा आपूर्ति भइरहेको प्राधिकरण प्रवक्ता अधिकारीको भनाइ छ । उक्त प्रसारण लाइन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको हो । यही माघ २ गतेदेखि सञ्चालनमा आएको प्रसारण लाइन निर्माणमा प्राधिकरणले सबैभन्दा बढी जटिलता व्यहोरेको थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ