
काठमाडौँ, १८ माघ । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको म्याद ३४ महिना थप भएको छ ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको गत बुधबारको बैठकले आयोजनाको म्याद थप गर्दै तत्काल निर्माण कार्य सुरु गर्न चिनियाँ ठेकेदारलाई आग्रहसमेत गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण र ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडबीच ६० मेगावाट क्षमताको सो आयोजना आउँदो २०७६ वैशाखसम्म सम्पन्न गर्न सहमति भएको छ । ठेकेदारको समय गत वर्ष नै सकिएको थियो । भूकम्पका कारण क्षतिग्रस्त आयोजनाको पहुँचमार्ग निर्माण तथा बाँधस्थलको दायाँबायाँ क्षेत्रमा पर्खाल लगाउनका लागि सरकारले थप रु ६१ करोड उपलब्ध गराएको छ ।
पहुँचमार्ग निर्माणका लागि नेपाली सेना परिचालन भइसकेको छ । यसअघि सेनाले पहुँचमार्ग निर्माण गरे पनि पुनः आएको पहिरोका कारण आयोजनाको बाँधस्थलमा पुग्न समस्या हुने गरेको थियो । आयोजनाको म्याद थपको विषयमा समझदारी भएको र ऋण अवधिको विषयमा समेत प्राधिकरणले आवश्यक निर्णय गरी ऊर्जा मन्त्रालय पठाइसकेको छ ।
ऊर्जा मन्त्रालयले सो प्रस्तावलाई अर्थमन्त्रालय पठाएको र आवश्यक निर्णयपछि चिनियाँ आयात निर्यात बैंकलाई म्याद थपका लागि आग्रह गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता गोकर्णराज पन्थले बताउनुभयो । ऋणको अवधि थपका विषयमा अर्थले बुधबारसम्म आवश्यक निर्णय गर्ने जानकारी आफूलाई दिएको उहाँको भनाइ छ ।
अर्थको निर्णयपछि ऋणको म्याद थपका विषयमा चिनियाँ पक्षले आवश्यक निर्णय लिने र आयोजना अगाडि बढाउन सहज हुनेछ । म्याद थप भए पनि इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्र्याक्ट (इपिसी) ढाँचामा ठेक्का सम्झौता भएकाले लागत रकम भने थप हुने छैन ।
आयोजनाका प्रमुख फणीन्द्रराज जोशीका अनुसार पहुँचमार्ग निर्माणको सामान्य काम सुरु भएको र सेनाले आवश्यक तयारी गरिरहेको छ । भूकम्प अघि आयोजनाको ६५ प्रतिशत काम सकिएको थियो । क्षतिग्रस्त पाँच किलोमिटर लामो सडक पुनःनिर्माण, दुईवटा ठूला पहिरो व्यवस्थापन गर्नु प्रमुख चुनौती रहेको आयोजनाले जनाएको छ ।
रु १२ अर्ब ४२ करोड लागत रहेको सो आयोजनाले सिभिल, परामर्शदाता र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म रु पाँच अर्ब ३९ करोड खर्च भइसकेको छ । प्रसारण लाइन निर्माणमा समेत जग्गा प्राप्ति र मुआब्जाको विषयमा विवाद कायमै छ । नुवाकोट र रसुवाको सिमानामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुनेछ । भूकम्पले आयोजनाको काममा ढिलाइ भएपछि प्राधिकरणले अर्थ मन्त्रालयमार्फत ऋण म्याद पाँच वर्ष थप गर्न अनुरोध गरेको थियो ।
चिनियाँ आयात निर्यात बैंकले दुई पटकभन्दा बढी ऋणको म्याद थप नगर्ने नीति भएकाले एकैपटक पाँच वर्ष म्याद थपका लागि प्रस्ताव गरेको बताइएको छ । यस्तै परामर्शदाताका लागि समेत थप सहयोग मागिएको बताइए पनि सोबारेमा भने कुनै जानकारी दिइएको छैन ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय