बर्लिन कान्डले बेलायतमा पनि सुरक्षा सतर्कता

uk-security

लन्डन । कम्तीमा १२ जनाको ज्यान जाने गरि जर्मनीको बर्लिनस्थित व्यस्त क्रिसमस बजारमा सोमबार राती भएको लरी (ट्रक) आक्रमणले 
युरोपभर सन्त्रास बढाएको छ । उक्त शंकास्पद आतंककारी आक्रमणमा ४८ घाइते छन् ।

बेलायती प्रधानमन्त्री टेरेजा मेले जर्मन चान्सलर एन्जेला 
मर्केललाई शोक सन्देश पठाउंदै बेलायत आतंकवादविरुद्ध सधैं एकसाथ रहने ऐक्यवद्धता व्यक्त गरेकी छन् । घट्नासंगै बेलायती प्रहरीले पनि सार्वजनिक स्थलमा सुरक्षा योजनामा पुनरावलोकन गरिरहेको बेलायती मिडियाले जनाएका छन् । अन्डरकभर एसएएस सेना र सशस्त्र प्रहरी सपिङ सेन्टर र सडकहरुमा परिचालन गरिएको छ । बेलायतमा सम्भावित अल कायदा वा आइसिस आतंक रोक्न एघार पुलिस फोर्स मुख्य पर्यटकीयस्थल तथा शहरमा 
परिचालित गरिएको छ । बेलायतमा ४५ टेरिटोरियल पुलिस फोर्स र ३ स्पेशल पुलिस फोर्स छन् ।

बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बेलायतमा पनि आतंकवादी आक्रमणको उच्च सम्भावना रहेको जनाएका छन् । स्कटल्याण्ड यार्डले सम्भावित आक्रमण र ठूला सवारी साधनको प्रयोगबारे पुनर्विचार गरिरहेको बताएको छ । लन्डन मेयर सादिक खानले प्रहरीसंग सुरक्षा समिक्षा गरि नजिकबाट काम भइरहेको आश्वस्त पारेका छन् । ग्रेटर म्यानचेस्टर प्रहरीले पनि प्रहरी गस्ती बढाइने बताएको छ ।

बेलायतले पनि लामो समयदेखि आतंकवाद खेप्दै आएको छ । केहि समय अघि क्रिसमस अगाडि नै आतंकवादी हमला हुन सक्ने अमेरिकी र बेलायती गुप्तचर संस्थाहरुले चेतावनी दिइसकेका थिए । हवाइ जहाजमा तरल पदार्थ लगि बम बनाउन खोजिएको तथ्य बेलायती गुप्तचर संस्थाले पत्ता लगाउनुका साथै अरु धेरै सम्भावित आक्रमणलाई बेलायती सुरक्षा निकायले निस्तेज पार्दै आएको तथ्यांक छ । धेरै वर्षसम्म उत्तरी आयरल्याण्ड आइरिस रिपब्लिक समाहित 
हुनुपर्ने माग सहित हिंसात्मक आन्दोलन चलाएको आइरिस रिपब्लिकन आर्मी (आइआरए) को आतंकवादबाट बेलायत पीडित हुंदै आएकोमा सन् १९९८ को गुड फ्राइडेको सहमतिमा यो टुंगिएपछि केहि वर्ष शान्त रहयो । तर, अहिलेको बढ्दो आतंकवादको जोखिम र नियन्त्रण निकै नै चुनौती देखिंदै आएको छ ।

सन् २००५ मा लन्डनमा भएको आत्मघाती हमलासंगै मुसलमान 
आतंकवादको सामना युरोपले गर्दै आएको छ । फ्रान्स, बेल्जियम, जर्मनी आदि देशमा भएको पछिल्लो आक्रमणका मुख्य कारण पश्चिमा देशहरुले मध्य पूर्वमा लिएको परराष्ट्र नीति भएको मुस्लिम आतंकवादी संगठनहरुले बताउदै आएका छन् ।

क्रिस्चियनहरुको सबैभन्दा ठूलो चाड क्रिसमसकै साता भिडमा जानी जानी लरी चलाएर धेरैको हत्या गर्ने उद्देश्यबाट प्रेरित बर्लिन घट्नाले क्रिस्चियनको संस्कार र सभ्यतामाथि हमला भएको मान्ने धेरै छन् । बर्लिन जस्तै गत जुलाइमा फ्रान्सको निस शहरमा भएको हुबहु प्रकृतिको आक्रमणले युरोपमा अरु आतंकवादको सन्त्रास जागृत भएको छ ।

बम तथा बन्दुकको सट्टा सवारी साधनलाई हतियारको रुपमा प्रयोग गरिएपछि सुरक्षाकर्मीलाई यस्ता गतिविधि नियन्त्रण गर्न थप 
चुनौती परेको छ । बर्लिन घट्नामा पक्राउ परेका ट्रक ड्राइभर गत फेब्रुअरीमा शरणार्थी भइ अफगानिस्तान र पाकिस्तानबाट आएको भन्ने जर्मनी सञ्चारमाध्यमले जनाएबाट उल्लेख्य शरणार्थी लिने जर्मन चान्सलर एन्जेला मर्केलले राजनीतिक आलोचना खेप्नुपर्नेे अनुमान विश्लेषकहरुको छ ।

युरोपमा नै जन्मेका केही आप्रवासी मुसलमानका सन्तानहरु नै धार्मिक कट्टरपन्थी संगठन जस्तै अल कायदा वा इस्लामिक स्टेटको सञ्जालमा परि आतंकवादमा संलग्न हुंदै आएका छन् । युरोपेली देशमा आप्रवासीमाथि गरिएको विभेदले यस्ता संगठनमा लाग्न प्रेरित गरेको कतिपयको बुझाइ छ ।

यस्ता आक्रमणले अर्थतन्त्र लगायतय िसमग्र देशलाई नै असर पार्नुको साथै अस्थिरताले अरु पिरोल्ने निश्चित छ । सुरक्षा तथा आतंकवाद परास्त गर्न युरोपियन युनियनको भूमिका अरु सशक्त भएको ब्रेक्जिटलाई नजिकबाट नियालिरहेका लन्डनस्थित अर्थ ब्यवस्थापनका जानकार विकलचन्द्र आचार्य बताउंछन् । इयूबाट बाहिर आउनुको मतलब पुरा युरोपलाई नै सधैंका लागि छोड्नु नभएको र यस्ता आतंककारीलाई सबै राष्ट्रहरु मिलेर एकसाथ लाग्न नसके अर्थतन्त्रले ठूलो मुल्य चुकाउनुपर्ने आचार्यको विश्लेषण छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री