पोखरामा भिन्तुना रयाली

1477901689436_ns_pkr_140127_dsc00285

पोखरा, १५ कात्तिक । नेपाल संवत् ११३७ को उपलक्षमा आज यहाँ भिन्तुना रयालीको आयोजना गरियो ।

नेवाः खलः कास्कीको आयोजनामा पोखराको टुँडिखेलबाट निस्केको रयाली मोहरिया टोल, तेर्सापट्टि, चिप्लेढुङ्गा, पालिखेचोक हुँदै भीमसेन टोलमा पुगेर सम्पन्न भएको थियो ।

नेपालीको महानपर्व दिपावलीअन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हं पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा उक्त दिन हरेक वर्ष जस्तो यस वर्ष पनि आज भिन्तुना रयालीको आयोजना गरिएको हो ।

रयालीमा नेवारी वेषभूषामा सजिएका पुरुष तथा महिलाको सहभागिता थियो । रयालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा, तथा झाँकीको प्रदर्शन गरिएको थियो । नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभूति शङ्खधर साख्वाले चलाएका हुन् ।

सोही उपलक्षमा नेवारी समुदायले आजराति घरघरमा म्हं पूजा गर्ने कार्यक्रम रहेको नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री