ताबेईको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

प्रथम महिला सगरमाथा आरोही जुन्को ताबेईको

प्रथम महिला सगरमाथा आरोही जुन्को ताबेईको

काठमाडौँ, ७ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रथम महिला सगरमाथा आरोही जुन्को ताबेईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले स्वर्गीय ताबेईले नेपाललाई आफ्नो दोस्रो घरको रुपमा लिँदै सगरमाथा आरोहणपछिका वर्षहरुमा पनि नेपाल आउने क्रमलाई निरन्तरता दिएको स्मरण गर्नुभयो । पछिल्लो समय सगरमाथा क्षेत्रमा बढ्दै गएको वातावरणीय प्रदुषण व्यवस्थापन तथा स्थानीय विद्यालय निर्माणमा ताबेईले महत्वपूर्ण सहयोग पुरयाउँदै आउनुभएको उहाँले बताउनुभयो ।

मानार्थ पर्यटन दूत रहेर ताबेईले नेपालको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआउनुभएको र नेपाली जनताप्रति देखाउनु भएको माया, सद्भाव र सहयोग नेपालको इतिहासमा सदा स्मरणीय रहिरहने विज्ञप्तिमा उल्लेख छ । स्वर्गीय ताबेईले नेपालको पर्यटन क्षेत्रको विकास र विश्व हिम शिखर आरोहणको इतिहासमा पुरयाउनु भएको योगदान सदा उच्च रहिरहने भन्दै सभापति देउवाले उहाँको असामयिक निधनको समाचारले आफूलाई अत्यन्त मर्माहत र दुःखीत बनाएको बताउनुभएको छ ।

स्वर्गीय ताबेईसित सन् २०१४ मार्चमा आफू र श्रीमती डा आरजु राणा देउवाको भेट भएको र उहाँसँगको भेटका ती क्षणहरु आफ्नो मानसपटलमा अझै ताजा रहेको उहाँले बताउनुभयो । ताबेईको निधनबाट नेपालले एक असल मित्रलाई गुमाएको र नेपाली जनता माझ उहाँको अभाव सदा खड्किरहने उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनप्रति आफ्नो तथा पार्टीका तर्फबाट गहिरो दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक सहानुभूति र समवेदना प्रकट गर्नुभएको छ ।

सन् १९७५ मा ३५ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गर्नु भएकी ताबेईले विश्वका सातवटै महादेशका अग्ला हिम शिखरको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएको थियो । उहाँको ७७ वर्षको उमेरमा गत बिहिबार निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री