दाहालले गोवामा भेटे भुटानी प्रधानमन्त्री

cu0mhzhvyaavwfa

गोवा (भारत), २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्ने वातावरण तयार गर्न भुटान सरकारसँग आग्रह गर्नुभएको छ ।

ब्रिक्स सम्मेलनमा भाग लिन आज यहाँ आउनुभएका प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी छिरिङ तोब्गेसँगको भेटमा उहाँले भुटान फर्कन चाहने शरणार्थीको चाहनालाई सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले शरणार्थी समस्याको समाधानले दुई देशबीचको सम्बन्धलाई अझ बढी उचाइमा पुरयाउने उल्लेख गर्दै त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गर्नुभएको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री दाहालले दुई देशका साझा समस्यालाई आपसी सहयोग आदानप्रदान गरी समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने विषयमा वार्ता गर्नुभएको थियो ।

त्यसैगरी, प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तोब्गेसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सम्मेलन गर्ने उपयुक्त वातावरण बनाउने सम्बन्धमा पनि छलफल गर्नुभएको थियो ।

उहाँले सार्कलाई गति दिनका लागि दुई देश मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिनुभयो ।

साथै, नेपाल, भारत, भुटान र बङ्गलादेशसहितको सार्क उपक्षेत्रीय समूहका मुलुकले ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा मिलेर अगाडि बढ्न र त्यसका लागि साझा धारणा तय गर्ने विषयमा पनि छलफल भएको थियो ।

भेटघाटका क्रममा भुटानी प्रधानमन्त्री तोब्गेले द्विपक्षीय हितका विषयमा भुटान सकारात्मक रहेको र शरणार्थीका विषयलाई चाँडो समाधान गर्न पहल गर्ने बताउनुभएको थियो ।

भेटमा परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव बैरागी, भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाललगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री दाहालले केहीबेरपछि चीनका राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ ।

‘ब्रिक्स बिमस्टेक आउट्रिच सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजै प्रधानमन्त्री दाहाल यहाँ आइपुग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री