लन्डन । गैर आवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले गतवर्षको विध्वंशकारी भूकम्पपछि युरोपबाट नेपालमा करोडौं बराबरको सहयोग गरिएको जनाएका छन्।
संयुक्त राज्य अमेरिकाको न्यूजर्सी राज्यमा आइतबार सम्पन्न संघको नवौं क्षेत्रीय सम्मेलनमा आफ्नो प्रस्तुतिका क्रममा आचार्यले गतवर्षको विध्वंशकारी भूकम्पपछि संघका युरोपस्थित राष्ट्रिय समन्वय समितिहरुबाट रु ७ करोड ७७ लाख भन्दा बढी रकम सहयोग प्रदान गरिएको जनाए। बेलायतबाट डक्टर, नर्स लगायतका स्वयमसेवीहरुको टोली भूकम्प प्रभावित जिल्लाहरुमा गै सेवाप्रदान गरेका थिए। त्यसैगरी भारतद्वारा गरिएको नाकाबन्दीका कारण उत्पन्न औषधि अभावसंग जुध्न एनआरएनए केन्द्रमार्फत औषधि किन्न ५३ लाख रुपियाँ नेपाल पठाइएको पनि उनले जानकारी दिए।
काठमाडौंमा गैर आवासीय नेपाली संघको आफ्नै भवन बनाउन युरोपस्थित राष्ट्रिय समन्वय समितिहरुले ३ करोड भन्दा बढी रकम प्रदान गरेको पनि उनले बताए। यसैगरी बाग्मती नदी किनारमा अवस्थित शंखमूलमा एनआरएन पार्क बनाउन अहिलेसम्म रु एक करोड ६८ लाख उठाइसकिएको पनि उनले जानकारी दिए।
युरोपका २७ वटा मुलुकहरुमा एनआरएन राष्ट्रिय समन्वय समितिहरु कृयाशील रहेको र एनआरएन केन्द्रले थालेको हरेक अभियानमा एनआरएन युरोप अग्रपंक्तिमा रहेको पनि उनले बताए। गएको दुई वर्ष यता युरोपस्थित एनआरएन राष्ट्रिय समन्वय समितिहरुमार्फत संस्थागत तथा व्यक्तिगतरुपमा शिक्षा, स्वास्थ्य, वृद्धाश्रम, पुस्तकालय आदि बनाउन झण्डै ८० लाख रुपियाँ सहयोग गरिएको पनि उनले बताए।
गत जुलाई ३०, ३१ तारिखमा डेनमार्कको कोपेनहेगनमा सम्पन्न नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलनले नेपाल उद्योग वाणिज्य महासंघसंग सहकार्य गरी नेपालमा रु १ अर्ब बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएको पनि आचार्यले बताए । युरोपसंग नेपालको पुरानो संबन्ध रहेको र यो वर्ष ब्रिटेन र नेपालबीच संबन्ध कायम भएको २०० औं बर्षगाँठ मनाईंदै गरेको स्मरण गर्दै आचार्यले अमेरिका पछि युरोपमा सबैभन्दा बढी नेपालीहरुको स्थायी बसोबास रहेको बताए।
युरोपमा गैरआवासीय नेपालीहरुका समस्याबारे चर्चा गर्दै आचार्यले ब्रिटेनमा भूतपूर्व गोर्खाहरुका परिवार नेपालमै छुटेकाले उत्पन्न समस्या, पहिलो पुस्ताका आप्रवासीहरु भएका कारण एकीकरणसंबन्धी समस्या र युरोपमा जन्मेको पुस्तालाई भाषा र नेपालसंग कसरी जोडने भन्ने चुनौती रहेको बताए।
नेपाल भित्र र बाहिर पनि एनआरएन सबैले चिन्ने ब्राण्ड र पहिचान बनीसकेको बताउँदै आचार्यले तर विश्वका ७४ मुलुकहरुमा फैलिएको सन्जाललाई कसरी प्रभावकारी बनाउने भन्ने चुनौती रहेको उल्लेख गरे। खासगरी वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन एनआरएनले ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले युरोप, अमेरिका लगायतका मुलुकहरुबाट व्यवस्थित रुपमा लगानी भित्र्याउन तथा ज्ञान एवम् सीप हस्तान्तरणकालागि ठोस कार्ययोजनाको खाँचो रहेकेा पनि बताएका थिए।
“सुदृढ एनआरएन, सम्पन्न नेपाली” भन्ने नारालाई सफल पार्न “समृद्ध नेपाल हाम्रै जीवनकालमा” भन्ने अभियान सन्चालन गर्न एनआरएन नेतृत्व अगाडि बढ्नुपर्ने उनको सुझाव थियो।
गत आइतबार नै गैर आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलन भैरहेको स्थलमै एनआरएनको व्यापार तथा लगानी प्रबर्द्धन समितिको परिचयात्मक बैठक पनि भएको थियो। समितिका अध्यक्ष पनि रहेका कुल आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपालमा युरोपबाट गरिने लगानीका लागि उपयुक्त परियोजना खोज्न नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय तथा एनआरएन लगानी प्रबर्द्धन समितिका अध्यक्ष चन्द्र ढकाललाई जिम्मा दिने निर्णय गरेको थियो।
अगष्ट २७ र २८ मा अमेरिकाको न्युजर्सी शहरमा गैरआवासीय नेपाली संघको अमेरिकास्तरीय क्षेत्रीय सम्मेलन ११ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको थियो।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई