नौ वर्षपछि नेविसङ्घको महाधिवेशन हुँदै

Nepal_Students_Union_Flag

काठमाडौँ, २० साउन । पटक पटक मिति तोकिँदै स्थगित हुँदै आएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन नौ वर्षपछि यस पटक हुने निश्चित भएको छ ।

मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ संस्था नेविसङ्घको आगामी महाधिवेशन यही साउन २३ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुँदैछ । विसं २०६४ पछि हुन नसकेको महाधिवेशन हुने निश्चित भएपछि नेविसङ्घका नेता कार्यकर्ताहरु उत्साहित देखिएका छन् ।

मिति नजिकिँदै गर्दा महाधिवेशनमा भाग लिन मुलुकभरबाट विद्यार्थी नेता कार्यकर्ता काठमाडौँ आउने क्रम सुरु भएको छ । अर्काेतिर महाधिवेशनमा आ–आफ्नो स्थान सुनिश्चित गर्न नेता कार्यकर्ता आफू निकट पार्टीका नेताका घर धाउन थालेका छन् ।

पार्टीले निर्धारित समयमै नेविसङ्घको महाधिवेशन सम्पन्न गर्न नेता डा प्रकाशशरण महतको संयोजकत्वमा निर्देशन समिति गठन गरेको छ । समितिमा गोविन्दराज भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल र किशोरसिंह राठौर रहनुभएको छ ।

महाधिवेशन खर्च पौने दुई करोड  

नेविसङ्घ महाधिवेशनको जम्मा खर्च रु एक करोड ७८ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको छ । ब्यानर, प्रचारप्रसार, होटल, खाना, खाजा, यातायात मसलन्दलगायतमा खर्च हुने प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

महाधिवेशनस्थल भृकुटीमण्डपको हल दैनिक रु दुई लाख १० हजारका दरले तीन दिनका लागि बुकिङ गरिसकेको उहाँले बताउनुभयो । उद्घाटन २३ गते दिउँसो १ बजे सभापति देउवाले गर्नुहुनेछ । उद्घाटनसत्रका लागि पार्टीका सबै पदाधिकारी सदस्य अन्य भ्रातृसंस्था र शुभेच्छुक संस्थालाई निमन्त्रणा पठाइसकिएको छ । महाधिवेशनमा लाग्ने सबै खर्च पार्टीले दिने भएको छ । नेविसङ्घले कहीँ कतै चन्दा नलिएको र लिने नीति पनि नरहेकोे जनाएको छ ।

करिब तीन हजार प्रतिनिधि बस्नका लागि सुन्धरालगायतका स्थानमा होटल बुकिङ भइसकेको छ । पार्टीले डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए)का पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वको निर्वाचन समिति गठन गरिसकेको छ । मतदानलाई व्यवस्थित बनाउन प्रतिनिधिका लागि परिचयपत्रको अनिवार्य व्यवस्था गरिएको छ ।

आठ जिल्लामा विवाद कायमै 

तत्कालीन महामन्त्री प्रकाशमान सिंह नेतृत्वको निर्देशन समितिले नै ६४ जिल्लाका प्रतिनिधिको टुङ्गो लगाइसकेको थियो । वर्तमान निर्देशन समितिले पनि त्यही सूचिलाई निरन्तरता दिएको छ ।
अन्य विवादित ११ जिल्लामध्ये पनि सुर्खेत, रौतहट र भक्तपुरको विवाद मिलिसकेको छ भने अब सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीमा महाधिवेशन प्रतिनिधिको विवाद मिलाउन बाँकी रहेको र त्यो पनि छिट्टै मिल्ने बताइएको छ ।

विधिवत् महाधिवेशनको माग गर्दै नेविसङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेविसङ्घ रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुङ्गेल यही साउन १५ गतेदेखि काँँग्रेस पार्टी कार्यालय सानेपामा आमरण अनशन बस्दै आउनुभएको छ ।

उम्मेदवारको ताँती  

लामो समयको अन्तरालपछि हुन लागेको महाधिवेशनमा विभिन्न गुट उपगुटबाट नेताहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन् ।

अध्यक्षमा हालसम्म जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षीतिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेताहरु घोषणा गर्ने क्रममा छन् ।

त्यस्तै महामन्त्री पदमा नेविसङ्घ नेताहरु मनोज वैद्य, उर्मिला थपलिया, डिल्लीराज सुवेदी, मोतिलाल भण्डारी, विनयराम भट्ट, रमेश रिजाल, प्रचण्डविक्रम न्यौपाने, हिमालदत्त श्रेष्ठ, युवराज पाण्डे, मित्र भट्टराईलगायतले उम्मेदवारी दिने घोषणा गरेका हुन् । दुवै काँग्रेस एकीकरणपछि लामो समयपछि हुन लागेकाले यस महाधिवेशनमा पदाधिकारी र सदस्यमा करिब ५०० उम्मेदवारी पर्ने देखिन्छ ।

कार्यसमिति १६१ हुने  

नेविसङ्घ केन्द्रीय समितिले ११औँ महाधिवेशनमा १६१ सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव गरिएको छ । हाल १२१ सदस्यीय समिति छ ।

केन्द्रीय समितिको प्रस्ताव गरेको विधानको मस्यौदाअनुसार अध्यक्ष एक, सात प्रदेशबाट एक÷एक जनाका दरले जम्मा सात जना, समावेशी चार र मनोनीत तीन गरी जम्मा १४ उपाध्यक्ष, महामन्त्री चार (दुई निर्वाचित र दुई मनोनीत) रहनेछन् ।

त्यस्तै सात प्रदेशबाट एक÷एक जनाका दरले सात, समावेशी चार, उपत्यकाबाट एक र मनोनीत तीन गरी जम्मा १५ जना सहमहामन्त्री, कोषाध्यक्ष एक तथा अन्य सदस्य गरी जम्मा १६१ सदस्यीय कार्य समिति प्रस्ताव गरिएको छ । समिति ठूलो सङ्ख्याको भएको गुनासो आएको र त्यसलाई निर्देशन समितिले अन्तिम छलफल गरी आजै अन्तिम रुप दिने बताइएको छ ।

पार्टीले हालको कार्यसमिति बनाउँदा नै यस समितिमा रहेकाले ११औँ महाधिवेशनमा उठ्न नपाउने सहमति गरेकाले धेरै नेता कार्यकर्ता अन्योलमा छन् ।

कतिपय वर्तमान समितिमा रहेका विद्यार्थी नेताले राजीनामा गरी निर्वाचनमा उठ्ने तयारी गरेका छन् । तर त्यसबारेमा निर्देशन समितिले कुनै निर्णय नगरेको अझै त्यसबारेमा निर्णय निश्चित नभएको प्रवक्ता लामिछाने बताउनुुहुन्छ ।

विसं २०२७ मा स्थापना भएको नेविसङ्घमा हालसम्म विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ र रञ्जीत कर्ण अध्यक्ष भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री