फाेल्कस्टाेनमा गुन्जिए गायक शम्भु राई

shamvu rai
लण्डन ।  गायक शम्भु राईकाे बेलायत साँगीतिक यात्राकाे पहिलाे कार्यक्रम शनिबार हाउकिङ्स कम्मुनिटी सेन्टर हाउकिङ्स फोल्कस्टोनमा सम्पन्न भएकाे छ ।
गायकको हल प्रवेश कलात्मक तरिकाले गायककै पोट्रेट कविता वाचन गर्दै कार्यक्रम संचालक कवि नवराज राईसहित स्थानिय गायकहरु, गीतकार अनि कलाकारहरुसहित दर्शकदीर्घा बिचबाट गराँईदा दर्शकहरु उत्साहित हुँदै उठेर गायकलाई हार्दिक स्वागतसहित अबिबादन साटासाट गरेका थिए ।
गायकलाई स्टेज प्रवेश गराइए पछि विभिन्न सँघ संस्थाका प्रतिनिधीहरु, किराँत कलाकार सँघ युकेका अध्यक्ष निरकुमार पुमा राई, सँघिय समाजवादी पार्टी युकेका अध्यक्ष भगवान चाम्लिङ, यायोक्खा युकेकी उपाध्यक्ष श्रीमती भाग्यवती राई, अर्का उपाध्यक्ष सुमनचन्द्र राई, विश्व नेपाली साहित्य महासँघका केन्द्रीय अध्यक्ष विश्वास दिप तिगेला, एनआरएन युकेका युवा संयोजक रिचार्ड गुरुङ्, फोल्कस्टोन नेपलिज कम्युनिटीका अध्यक्ष चन्द्र गुरुङ्, यायोक्खा प्रारम्भिक कमिटीहरु, फोल्कस्टोन, मेड्स्टोन, मेडवे, आशफोर्ड, क्यान्टबरी लगायत विभिन्न सँघसंस्था अनि ब्यक्तित्वहरुले खादा ओढाई गायकलाई सम्मान गर्नु भएको थियो ।
पहिलो चारणमा स्थानिय गायकहरु किसान राई, दिपक राई लगायतले आफ्नो प्रस्तुति दिए पश्चात गायकलाई स्टेज हस्तान्तरण गरिएको थियो ।
शालिन र शान्त मुद्रामा स्टेज प्रवेश गर्दै गायक राईले आफ्नो विगत संझना गर्दै आफू अत्यन्तै गरिब पारिवारिक पृष्ठभूमीबाट अहिलेको स्थितिसम्म आईपुग्दा हजार हन्डर अनि ठक्कर खाएकाे आफ्नो जीवन कहानी सुनाई रहँदा दर्शक दिर्घामा सन्नाटा छाएको थियो ।
कार्यक्रमको थालनी गर्दै गायकले,
“तिमीले सम्झेनी लाखै छ, तिमीले बिर्सेनी लाखै छ”..,भन्दै सम्झिने अनि बिर्सिने दुवैलाई आफ्नो सम्मान ब्यक्त गर्दै माहाैललाई सँगितमय बनाएका थिए ।

“झुपडीकी नारी भन्छे तरकारीलाई नुन छैन
महलकी नारी भन्छे लगाउनलाई सुन छैन”..,
भन्दै धनी र गरीब बिचको भिन्नताप्रति प्रहार गरे ।

फूलै फुल्यो बैंश फुल्यो, चलेछ बतास सुस्तरी, नौमती बाजा ढोल बज्यो, थुन्चेको भारी बिसाउँदै …..लगायत डेढ दर्जन बढी आफ्ना लोकप्रिय गीतहरु अभिछिन्न प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएर थकाएका थिए ।
“पहिलो पटक धित मरुन्जेल लाईभ गीत सुनेर मन भरियो”, एक सहभागी आफ्नो सन्तुष्टी पोख्दै थिए ।
मध्य रातसम्म चलेको सुमधुर साँगीतिक साँझको समापन गर्दै आयोजक र कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णलाई गायकले धन्यबाद दिँदै आभार ब्यक्त गरेका थिए । दर्शक श्रोता आफ्ना भगवान भएको बताउँदै गायक शम्भु राईले दर्शकहरुको मनमा अमिट सम्झनाको पाईलाको डोब छाड्दै स्टेजबाट सबै जात, जातिको भाषाबाट बिदा मागेका थिए । सबै जाति धर्म र विश्वास अनि पहिचानप्रति सजग गायक  शम्भु राईको अन्य कार्यक्रमहरु आउने दिनहरुमा युकेका विभिन्न स्थानहरुमा आयोजना हुने तालिका रहेको कुरा कार्यक्रम संयोजक गीतकार ईश्वर चाम्लिङले जानकारी गराएका छन् ।
गायक शम्भु राईको माधुर्य आवाज सुन्न चाहने दर्शकहरुको उत्तिकै घुँईचो रहेको कुरा पहिलो कार्यक्रमले छर्लङ्ग पारेको कुरा बताउँदै आफू पनि गायक राईको गीत सुन्दै हुर्किएकाले प्रत्यक्ष कार्यक्रममा गायकको प्रस्तुति हेर्न र सुन्न पाउँदा बडो आनन्द लागेको आयोजक नवराज राईको भनाई थियो ।
कार्यक्रमकाे अफिसियल मिडिया पार्ट्नर अजम्बरी डट कम रहेको थियो भने निकट भबिश्यमा संचालन हुन लागेको “जोन्नी गोर्खा” फास्ट फूड एण्ड टेकवेले खानाको ब्यबस्था गरेको थियो । आयोजक भूमिराज राईले प्राबिधिक काम सम्हाल्दै साउण्ड सिस्टम उपलब्ध गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री