वार्षिकोत्सवमा गोर्खा प्यालेसले दियो स्कुललाई साढे ६ लाख रुपैयां

untitled-7332

तस्विरः मिलन तमु

लन्डन । बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आफ्नो १७ औं वार्षिकोत्सवका अवसरमा एक च्यारिटी गरि भूकम्पले क्षतिग्रस्त 
गोरखाको स्कुललाई सहयोग गरेको छ ।

सोमबार सांझ आयोजित च्यारिटीबाट संकलित रकम साढे ६ लाख रुपैयां (४ हजार ६० पाउण्ड) भूकम्पले क्षतिग्रस्त गोरखाको महेन्द्र लिला उच्च माविलाई प्रदान गरिएको रेष्टुरेन्ट सञ्चालक एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले जानकारी दिए । उनले स्वागत मन्तव्यका क्रममा सहयोगदाता, नियमित ग्राहक र कर्मचारीप्रति आभार व्यक्त गरे ।

स्थापना भएयता प्रत्येक वर्ष च्यारिटी गर्दै आएको रेष्टुरेन्टले गत वर्ष भूकम्प लगत्तै प्रधानमन्त्री राहत कोष र एनआरएनए मार्फत १६ लाख रुपैयां (१० हजार ५० पाउण्ड) प्रदान गरेको थियो ।

कार्यक्रममा कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री, स्थानीय सांसद सर जेराल्ड होवार्थ (पूर्वमन्त्री), रसमोर बरो काउन्सिल मेयर मार्टिन टेनेन्ट लगायत करिब ८० जना विदेशी नियमित ग्राहक सहभागी थिए ।

रेष्टुरेन्ट प्रोपाइटर श्रीमति बबिता गुरुङले सञ्चालन गरेको उक्त च्यारिटीमा कार्यवहाक राजदूत क्षेत्रीले भूकम्पपछि रेष्टुरेन्टसंग संयुक्त काम गर्न पाएको स्मरण गर्दै समुदायमा उल्लेखनीय काम गरेको चर्चा गरे । सांसद होवार्थले लिलाम बढाबढका लागि सामाग्री प्रदान गर्दै रेष्टुरेन्टको सामाजिक कामको प्रशंसा गरे । रसमोर बरो काउन्सिल मेयर मार्टिन टेनेन्टले रेष्टुरेन्टको च्यारिटी काम र प्रतिष्ठाको खुलेरै प्रशंसा गरे ।

सहभागीलाई खाना, पेय पदार्थ निशुल्क दिइएको उक्त च्यारिटीमा बिंगो, राफल चिट्ठा र लिलाम बढाबढबाट रकम संकलन गरिएको हो । लिलाम बढाबढ विदेशी ग्राहकले नै गरेका थिए ।

untitled-7307

प्रतिक्रिया

सम्बन्धित सामाग्री