
भारतीय विश्व मामिला परिषदमा आयोजित २१औँ सप्रु प्रवचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवम परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुषमा स्वराज लगायत । तस्बिरः प्रकाश सिलवाल, रासस, नयाँ दिल्ली
नयाँ दिल्ली, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्ना छिमेकी भारत र चीनको तीव्र आर्थिक विकासबाट लाभ लिएर अघि बढ्ने बताउनुभएको छ ।
आफ्नो राजकीय भ्रमणको चौथो दिन नयाँ दिल्लीको भारतीय विश्व मामिला परिषद्द्वारा सप्रु भवनमा आयोजित २१औँ प्रवचन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, विकसित भारत र चीन दुवै छिमेकी मुलुकसँग विकासका लागि नेपालले परिणाममुखी साझेदारी गर्न चाहेको छ । उहाँले भन्नुभयो– “यसमा हामी स्पष्ट छौँ नेपालको माटोमा कोहीविरुद्ध कोहीलाई दुरुपयोग हुन दिने छैनौँ । भारतको सुरक्षा चासो र ऊसँगको लामो मित्रतालाई पनि ध्यानमा राखेका छौँ ।”
उहाँले संविधानले नेपाली जनताका विविधतायुक्त चाहना र भावनालाई सम्बोधन गरेको र संविधान जारी भएसँगै एक ऐतिहासिक रजनीतिक कार्यभार पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो – “संविधान एकाएक जारी गरिएको नभई छलफल र लोकतान्त्रिक प्रक्रियाका आधारमा ल्याइएको हो । यसमा सबै विश्व समुदायको चासो र उत्सुकता थियो । हामीले त्यस भावनाको पनि कदर गरेका छौँ ।”
“संविधानसभाले सबै समुदाय र पक्षसँग छलफल र संवाद तथा सहमतिको प्रक्रियाबाट ९० प्रतिशत सभासद्को मतबाट संविधान बनाएको हो । यसमा सबै पक्ष सबै बुँदामा सहमति नहुन पनि सक्छन् । संविधानले सबै मौलिक अधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ । त्यसकारण यो संविधान नमुनायोग्य र प्रगतिशील छ,” प्रधानमन्त्रीले भन्नुभयो – “संविधानले नागरिकता, रोजगारीको अवसर, समावेशीता, सामाजिक न्याय, समता र लोकतन्त्रजस्ता सवालमा कुनै समुदायलाई विभेद गरेको छैन, बरु पछाडि पारिएका समुदायलाई आरक्षणको पनि व्यवस्था गरेको छ ।”
उहाँले नयाँ संविधानअनुसार मुलुकमा महिला समुदायबाट राष्ट्रपति र सभामुखसमेत निर्वाचित भइसकेको उल्लेख गर्दै सङ्घीयताको सीमासम्बन्धी सवाल हेर्न संविधानले सङ्घीय आयोगको व्यवस्था गरेको जानकारी गराउनुभयो ।
संविधानसँगै नेपालले लामो समयदेखिको सङ्क्रमणकालको अन्त्य गराएकोमा विश्व समुदाय र भारत सरकारले यसलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएकोमा प्रम ओलीले आभार पनि व्यक्त गर्नुभयो ।
संविधान आएसँगै राजनीतिक स्थिरता र मुलुकको आर्थिक विकासमा लाग्नु नेपालको मुख्य प्राथमिकताको विषय भएकाले नजिकको छिमेकी र महत्वपूर्ण विकास साझेदार भारतसँग परम्परागत र लामो सम्बन्ध रहेकाले आपसी सम्बन्धलाई कुनै सम्झौता वा दस्तावेजमा सीमित नराखी भावनात्मक आधारमा पनि हेर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो –“हामीहरु एकापसमा विश्वास, सम्मान, सार्वभौमसत्ता, स्वच्छ मैत्री सम्बन्ध र समृद्धिको मार्गदर्शनमा अघि बढेका छौँ । यो सम्बन्ध सरकार सरकारमा मात्र नभई जनता जनतामा पनि जोडिएको छ । त्यसैले आपसी सम्बन्ध विस्तार र सुरक्षाका सवालमा हामी संवेदनशील छौँ ।”
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटमा दुई देशबीच पछिल्ला समयमा देखिएको तिक्तता र असमझदारी हटाउने प्रयास गरिएको र आगामी दिनमा त्यस्ता असमझदारी नरहने विश्वास व्यक्त गर्नुभयो ।
भारतको आर्थिक तथा विज्ञान, प्रविधिको क्षेत्रमा भएको विकासलाई पछ्याउनुपर्ने उल्लेख गर्दै उहाँले भूकम्पपछिको अवस्थामा भएको भारतीय सहयोगको प्रशंसा गर्नुभयो ।
दुवै देशका जनताका बृहद् लक्ष्य प्राप्तिका लागि आपसी समन्वय र सहयोगमा जोड दिँदै उहाँले जलस्रोत, ऊर्जा, व्यापार, पारवहन, कनेक्टिभिटी, सांस्कृतिक सम्पदा र सभ्यताका क्षेत्रमा अग्रगामी र प्रगतिशील दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले संविधानमा आफ्नो पार्टीको पनि केही विषयमा फरक मत रहेपनि दुई तिहाइले पारित गरेकाले त्यसलाई ग्रहण गरेको भन्दै नयाँ संविधानले सबै समुदायलाई समेटेको बताउनुभयो । उहाँले कतिपय गलत बुझाइका कारण संविधान जारीपछि नेपाल र भारतबीचको सम्बन्धमा तिक्तता आएपनि प्रधानमन्त्री ओलीको भ्रमणबाट अस्पष्टता हटेको बताउनुभयो ।
कार्यक्रममा भ्रमण दलका अन्य सदस्य, भारतका कूटनीतिज्ञ, बुद्धिजीवी र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।
जन्मदिनको शुभकामना
भ्रमणमा रहनुभएका प्रधानमन्त्रीको आज जन्मदिन रहेकाले आज यहाँस्थित होटल ताजमा व्यापारिक समुदायको अन्तक्र्रियासँगै जन्मदिन पनि मनाइएको छ । परिषद्को कार्यक्रममा सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै उहाँको सु–स्वास्थ्य र नेपालको सेवामा सफलताको कामना पनि गर्नुभयो ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ