
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर ः प्रकाश सिलवाल, नयाँदिल्ली, रासस
नयाँदिल्ली, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानमाथिका असन्तुष्टिका नाममा भारतीय सीमामा अर्काे नाकाबन्दी गर्नुपर्ने कुनै आवश्यकता नभएको बताएका छन् ।
भारतको राजकीय भ्रमणमा भारतमा रहेका प्रधानमन्त्री ओलीले आज यहाँस्थित नेपाली राजदूतावासमा आयोजित पत्रकार सम्मेलनमा संविधानमा कुनै ठाउँमा विभेद र असमानता नरहेको र जनताले देखाएका कुनै विषय भएमा संवादका आधारमा संशोधन गर्न सरकार लचिलो भएकाले अर्काे चरणको आन्दोलनमा जानुपर्ने आवश्यकता नरहेको स्पष्ट गरे ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुनः नाकाबन्दीको कार्यक्रम ल्याउने चेतावनी दिएको भन्ने भारतीय पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले एक हिन्दी गीतको बोल ‘कोही तो बतादो हमे’ स्मरण गर्दै भने– “संविधानमा कतै विभेद छ र पुनः नाकाबन्दी गर्छु भनेर कसैले भन्छ भने म स्वदेश फर्केर सोध्नेछु कि संविधानमा कहाँ छ विभेद ? किन असन्तुष्ट ? आउनुस् खुल्ला दिमागले छलफलमा बसौँ ।”
उनले नेपालमा आठवर्ष लामो प्रजातान्त्रिक प्रक्रियाबाट समावेशी लोकतान्त्रिक चरित्रको संविधान बनेको जनाउँदै भने– “यो रातारात वा एकाएक बनेको संविधान होइन । प्रक्रिया र सामग्री दुवै दृष्टिले लोकतान्त्रिक छ ।”
संविधान जारीपछि तराई–मधेसका दलले गरेको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या उत्पन्न भएको थियो । हाल नाका सञ्चालन भएपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा आएका हुन् ।
पछिल्ला दिनमा भारत–चीनसँग थप नाका खोल्ने र सहयोग लिने तयारीबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपाल कुनै मुलुकविरुद्ध कुनै मुलुकलाई प्रयोग गर्ने (कार्ड खेल्ने) पक्षमा नरहेको र संविधानपछिको नेपाललाई आर्थिक समृद्धिको बाटोमा डो¥याउन अग्रसर रहेको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो पहिलो विदेश भ्रमण दुई देशको सम्बन्ध विस्तारमा उल्लेखनीय उपलब्धि भएको बताउँदै भारत सरकार, दल, नेता, बुद्धिजीवी, जनता र सञ्चारमाध्यमले देखाएको स्वागत, आतिथ्यता र सौहार्दपूर्ण व्यवहारको प्रशंसा गर्दै अब दुई देशका बीचमा सबै प्रकारका असमझदारी हटेकाले आफ्नो भ्रमण सफल र परिणाममुखी भएको बताए ।
उनले भने– “मेरो भ्रमणको उद्देश्य पूर्णतः सफल भएको छ । म यहाँ कुनै खरिदसूची लिएर आएको थिइनँ । केवल मित्रता व्यक्त गर्न र लिन आएको हुँ । त्यो प्राप्त भएको छ । उनले भूकम्पपछिको अवस्थामा भारतले गरेको सहयोगप्रति धन्यवाद पनि दिए ।
पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्ध पूर्ववत् (सामान्य) अवस्थामा फर्काउन भूमिका निर्वाह गरेको बताए ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता