संविधान कार्यान्वयनमा ऐक्यबद्धताले मात्रै सुशीलप्रति श्रद्धाञ्जलि हुने

नेपाली काँग्रेसका पार्टी केन्द्रीय समितिले रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको १३औँ पुण्यतिथिको अवसरमा आइतबार आयोजना गरेको श्रद्धाञ्जलि सभामा सहभागी नेकाका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायत । तस्बिर ः रोशन सापकोटा, रासस

नेपाली काँग्रेसका पार्टी केन्द्रीय समितिले रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको १३औँ पुण्यतिथिको अवसरमा आइतबार आयोजना गरेको श्रद्धाञ्जलि सभामा सहभागी नेकाका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायत । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ९ फागुन । विभिन्न राजनीतिक दलका नेताले संविधान कार्यान्वयनमा सबै दलको ऐक्यबद्धताले मात्रै नेपाली काँग्रेसका स्वर्गीय सभापति सुशील कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने विचार व्यक्त गरेका छन् ।

काँग्रेस सभापति कोइरालाको १३औँ दिनको पुण्य तिथिमा काँग्रेस केन्द्रीय समितिले आज आयोजना गरेको श्रद्धाञ्जलिसभामा नेताले सबैको सहमतिमा संविधानको सफल कार्यान्वयनले उहाँको अधुरो सपना पूरा हुनेमा जोड दिए ।

काँग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले आफ्नो सिद्धान्तप्रति निष्ठावान्, त्यागी, इमान्दार र कर्तव्यनिष्ठ नेता सुशील कोइरालाबाट काँग्रेस र मुलुकले सिक्ने पाठ धेरै रहेको बताए ।
सत्तामा बसेर पनि बेदाग रहनुभएका स्व कोइरालाको चाहनाबमोजिमको स्वच्छ र सुदृढ काँग्रेस बनाउने अभिभारा आफूहरूको काँधमा आएको बताउँदै कावा सभापति पौडेलले भने– “राजनीतिप्रति सम्मान जागृत गराउनु उहाँको चाहना थियो । उहाँको त्यो अठोट हामीले पूरा गर्नुपर्छ ।”

कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले साधारण र सादगी जीवन पद्धतिका स्व कोइरालालाई प्रजातन्त्रप्रति कुनै सम्झौता नगर्ने नेताका रुपमा आफूले चिनेको बताए ।
संविधानको सफल कार्यान्वयन र मधेस आन्दोलनको सम्बोधन गर्नुपर्ने स्व कोइरालाका अधुरा कामलाई सम्पन्न गर्ने दायित्व हामी सबैको हो भन्दै नेता देउवाले काँग्रेसमा पनि एकता र मेलमिलापको आवश्यकता रहेकामा जोड दिए ।

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन गर्ने चुनौती अझै बाँकी रहेकाले सबै दलबीच सहमति र सहकार्यको खाँचो रहेको औँल्याउँदै त्यसले मात्र स्व कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।
नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष वामदेव गौतमले स्व कोइरालाको प्रधानमन्त्रीत्व कालमा आफू फरक पार्टीबाट उपप्रधानमन्त्री भए पनि सदैव सहयोग गरेको स्मरण गर्दै उनकै नेतृत्वमा संविधान जारी गर्न भरमग्दुर योगदान पुरयाएको बताए ।

कार्यवाहक प्रधानमन्त्री एवम् मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले स्व कोइरालासँगका महत्वपूर्ण घटनाको स्मरण गर्दै संविधानसभाबाट संविधान जारी गर्ने कार्यको नेतृत्व गरेर उनले अमर हुने काम गरेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले स्व कोइरालामा मध्यस्तकर्ताको अद्भूत क्षमता रहेकाले नै उनको नेतृत्वमा संविधानसभाबाट संविधान जारी गर्न सहज भएको उल्लेख गर्दै उहाँलाई आफूले कर्मयोगी नेताका रुपमा चिनेको बताए ।
कार्यक्रममा नेकपा (माले)का अध्यक्ष एवम् उप्रप्रधानमन्त्री सिपी मैनाली, काँग्रेस महामन्त्री प्रकाशमान सिंह, सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री धवलशमशेर राणा, नेपाल परिवार दलका अध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकाल, बहुजन शक्ति पार्टीका अध्यक्ष एवम् वातावरण मन्त्री विश्वेन्द्र पासवान, नेकपा माओवादी–क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेल, भारतको बनारसबाट आउनुभएका स्व कोइरालाका अनन्य मित्र दीपक मल्लिकलगायतले स्व कोइरालाका योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति कोइरालाको गत माघ २६ आफ्नै निवास महाराजगञ्जमा निमोनियाबाट असामयिक निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री