टुँडिखेलमा ६६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्य

सैनिक मञ्च टुँडिखेलमा ६६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका उच्च अधिकारी, संवैधानिक निकायका पदाधिकारी, कूटनीतिक निकायका प्रतिनिधि, उच्च सरकारी पदाधिकारीलगायत सहभागी हुनुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

सैनिक मञ्च टुँडिखेलमा ६६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका उच्च अधिकारी, संवैधानिक निकायका पदाधिकारी, कूटनीतिक निकायका प्रतिनिधि, उच्च सरकारी पदाधिकारीलगायत सहभागी हुनुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा ६६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले स्वतन्त्र, स्वाधीन, सार्वभौम र समृद्ध राष्ट्र निर्माणका लागि आजको दिनले हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र आम नेपाली जनतासँग मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सहकार्यको लागि हार्दिक आग्रह पनि गरे ।

प्रधानमन्त्रीले भने, ‘‘नेपाली जनताले सङ्घर्षबाट जहानियाँ निरङ्कुश शासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिन आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा म आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दै यस उपलक्ष्यमा नेपाल र सम्पूर्ण नेपालीको उज्ज्वल भविष्यको कामना गर्छु ।’’

उनले लोकतन्त्र, न्यायपूर्ण, स्वतन्त्र र समुन्नत नेपाल निर्माणका लागि २००७ सालअघि र त्यसपछिका जनआन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति नेपाल सरकारका तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीप्रति उच्च सम्मान प्रकट गरे ।

विसं २००७ देखि नेपाली जनताले गरेको सङ्घर्षको परिणाम जननिर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते नेपाली जनताका आफ्नै प्रतिनिधिद्वारा लेखिएकोे संविधान जारी भएको बताउँदै प्रधानमन्त्री ओलीले यो संविधानले सबै नेपालीलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हक समानरुपमा प्रदान गर्नुका साथै सामाजिक न्यायको प्रत्याभूति गरेको बताए ।

उनले संविधानको कार्यान्वयनसँगै अब मुलुक आर्थिक–सामाजिक विकासको दिशामा अघि बढेको बताउँदै यस प्रक्रियालाई जति छिटो रफ्तारमा अघि बढाउन सक्यो हामीले प्राप्त गरेका राजनीतिक उपलब्धि र लोकतान्त्रिक गणतन्त्रलाई त्यति नै समृद्ध र बलियो बनाउने बताए ।

संविधान जारी भएपछि यसका केही प्रावधानलाई लिएर प्रकट भएका असन्तुष्टि, असहमति र गुनासाको सम्बोधनका लागि वार्ता र संवाद हुँदै आएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले संविधानको पहिलो संशोधनबाट ती गुनासा र असन्तुष्टि आधारभूतरुपमा सम्बोधन भएको धारणा राखे ।

केही असहमति वा गुनासा भए वार्ता र संवादकै माध्यमबाट सम्बोधन गर्न सकिने बताउँदै प्रधानमन्त्रीले संवादबाट समस्याको समाधान खोज्ने निरन्तरको प्रक्रियामा संलग्न रहन सबै पक्षलाई आग्रह गरे ।

समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका उच्च अधिकारी, संवैधानिक निकायका पदाधिकारी, कूटनीतिक निकायका प्रतिनिधि, उच्च सरकारी पदाधिकारीलगायत सहभागी थिए ।

समारोहमा सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय सेवा दल, नेपाल स्काउट र विद्यार्थीले मार्चपास गरेका थिए । त्यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर, मध्यपुरथिमि र कीर्तिपुर नगरपालिकाले सांस्कृतिक झाँकी प्रदर्शन गर्नुका साथै राष्ट्रिय खेलकुद परिषद्बाट विभिन्न खेल प्रदर्शन गरिएको थियो । कार्यक्रम भइरहँदा समारोह स्थलमा हेलिकोप्टरबाट पुष्प वृष्टि पनि गरिएको थियो ।

विसं २००७ फागुन ७ गते १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६६औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

1455872908027__T2A9696

प्रतिक्रिया

सम्बन्धित सामाग्री